भद्रपुर । सरकारले पाँचौँ पटक नेपालका विभिन्न १८ जिल्लामा थन्काएर राखिएको रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि झापामा झण्डै डेढ दशकअघिदेखि गोदाममा  राखिएको रक्तचन्दन फिर्ता हुने सम्भावना देखिएको छ ।

वैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि करिब सत्रवर्षअघि भारतवाट अवैध रूपमा नेपाल भिœयाउँदै गर्दा बरामद गरिएको करोडाँै मूल्य बराबरको रक्तचन्दन फिर्ता हुने सम्भावना बढेको कार्यालयले जनाएको छ । सरकारले यसअघि २०६५, २०७१, २०७६ र २०८० सालमा पनि फिर्ता गर्ने निर्णय गरेको थियो । सरकारी नीति स्पष्ट नहुँदा प्रष्ट कानूनको अभावमा लिलाम प्रक्रिया अगाडि बढ्न नसकेको कारण बरामद गरिएको २० हजार किलो रक्तचन्दन गोदामभित्रै सड्ने अवस्थामा पुगेको छ ।

विभिन्न मितिमा भारतबाट ल्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरी डिभिजन वन कार्यालयमा बुझाउने गरेको हँुदा त्यसको संरक्षण गर्ने जिम्मा वन कार्यालयले पाएको थियो । रक्तचन्दनको कारोबार मुलुकभित्र नहुने भएको हुँदा यसको बजारभाउ कति हो भन्ने यकिन छैन । सरकारले प्रकाशित गरेको राजपत्रमा प्रतिकिलो ८ सय तोकिएको भए तापनि भारतबाट लुकिछिपी नेपालको बाटो हुँदै चीन जाने रक्तचन्दनको मूल्य नेपालकोभन्दा कयाँै गुणा बढी भएको जानकारहरू बताउँछन् ।

सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा ३० को उपदफा (२) मा सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सोको नमुना जुन मुलुकबाट पैठारी भएको हो, सोही मुलुकमा फिर्ता पठाउने व्यवस्था गरिएकोले सोही अनुरूप फिर्ता हुनसक्ने डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए । रक्तचन्दनलाई सङ्कटापन्न वनस्पतिमा सूचीकृत गरिएको राईको भनाइ छ । रक्तचन्दन अहिले पनि कार्यालयको गोदाममा थन्किएका कारण चौबीसै घण्टा सुरक्षा दिनुपरेको उनले बताए । मन्त्रिपरिषद् बैठकले रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि झापामा पनि यो निर्णय लागू हुनसक्नेमा आशावादी रहेको प्रमुख राईले बताए । निर्णय भए पनि कुनै परिपत्र भने कार्यालयमा आइनसकेको उनको भनाइ छ । सरकारले निर्णय गरेको ९० दिनभित्र नेपालको सीमा कटाएर रक्तचन्दन पठाइसक्नुपर्ने व्यवस्था रहेको उनले बताए ।

वि.सं.२०६३ पुस ३ गते भारत चेन्नइका यम भाष्कर र राजु भाष्करले भारतबाट ल्याउँदै गरेको अवस्थामा झापाको टाघनडुब्बाबाट ३ सय ६२ थान (६ हजार ३ सय ७५ किलो), वि.सं.२०६४ जेठ २१ मा टाघनडुब्बा–८ का गुलाम रसुल मियाँले चीन लैजाने तयारी गर्दै गरेको अवस्थामा ६५ थान (१ हजार ६ सय ८७ किलो ) त्यसको भोलिपल्ट सोही स्थानबाट सुवास चौधरी, उपेन्द्र चौधरी, अभिनाश चौधरी र रामजतन चौधरीको घर परिसरबाट ३ सय ९९ थान (११ हजार ७ सय ७० किलो) रक्तचन्दन प्रहरीले बरामद गरेको थियो ।

महासन्धिको प्रावधानबमोजिम नेपाल सरकारले बरामद रक्तचन्दनको बिक्री–वितरण गर्न नपाउने र उत्पत्ति भएको देशलाई नै फिर्ता गर्नुपर्ने औषधि र धार्मिक कार्यमा प्रयोग हुने रक्तचन्दन एक प्रकारको रातो रङ्को सुगन्धित काठ हो । महँगोमा बिक्री हुने भएकोले यसको तस्करी हुने गरेको छ ।

दक्षिण भारतको आन्ध्र प्रदेश, कर्णाटक र तामिलनाडुमा यसको घना जङ्गल रहेको जनाइएको छ । त्यहीँबाट तस्करी भएर नेपालको अवैध बाटो हुँदै रक्तचन्दन चीनसम्म पुग्ने गरेको छ । नेपालमा सेतो चन्दनको मात्र बोट हुन्छ, रक्तचन्दन नपाइने विज्ञहरूको भनाइ छ ।