यही वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ । यसको लागि सबै राजनैतिक दलहरूमा आन्तरिक तथा वाह्य रणनैतिक तयारीहरू भइरहेको छ । कतिपय दलहरूले उम्मेदवार घोषणा गरिसकेका छन् भने कतिपयले अभैm उम्मेदवार टुङ्गो लगाइसकेका छैनन् । यता दल, उम्मेदवार तथा उनीहरूको स्वार्थ अनुकूलका समर्थक र शुभचिन्तकहरूले हल्लाखल्ला र मिडियाबाजी राम्रैसँग गरिरहेका छन् । मानौं हामी प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको चुनाव गर्न गइरहेका छौँ जस्तो भ्रम पारिरहेको छ । अर्थात् वास्तवमा भन्ने हो भने इलाम–२ को उपनिर्वाचनप्रति आवश्यकताभन्दा बढी, ध्यान, जोडबल र रणनैतिक प्रचारबाजी भइरहेको अनुभूति हुन्छ । बरालिएको मतदाता र कार्यकर्ताहरू कान छाम्नुभन्दा कागको तल तल दौडिरहेको देखिन्छ ।

यस्तो आवश्यकताभन्दा बढी हल्लाखल्ला र प्रचारबाजीले विषयवस्तुहरूलाई अझ तोडमोड र भाँचकुँच गर्दछ । सञ्जालमा बहकिएका र बरालिएका मतदाताहरूको लागि गहिरो अध्ययन र अनुसन्धान गरेर सही एजेण्डामा मत हाल्ने भन्ने हुँदैन । उनीहरूमा सामाजिक सञ्जालमा कसको गाली, फोटो र चोटिलो भनाइ भाइरल भयो भन्ने आधारमा जीवनको पैmसलाहरू गर्ने गर्दछ । पछिल्लो समय सामाजिक सञ्जालमा चोटिलो, घोचिलो, गालिलो र स्वादिलो भनाइहरू हेरेर बहकिने र बरालिने क्रम निकै बढेको छ । यस्तो रवैयाले कुनै पार्टी, समूह र नेताले चुनाव त जित्ला तर, हामीले खोजिरहेको उन्मुक्ति, ल्याउन खोजेको एजेण्डा र वसाल्न खोजेको थिति स्थापित गर्न सक्दैनौँ साथै भोगिरहेको समस्याहरूबाट पनि उम्कन सक्दैनौं । भन्नुको मतलव अति हल्लाखल्ला र प्रचारबाजीले गलत प्रभाव र गलत परिणाम दिने खतरा रहन्छ ।

इलाम दुईको उपनिर्वाचनमा थुप्र्रै राजनैतिक दलहरू प्रतिस्पर्धामा छन् । यसमा काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, जसपालगायतका पार्टीहरू चुनावी मैदानमा उत्रिएका छन् । सबै पार्टी र उसको उम्मेदवारहरूले आ–आप्mनो ढङ्गले मिडिया स्टन्टबाजी आरम्भ गरिसकेका छन् । यसमा हिजो लामो कालखण्ड आन्दोलन र सङ्घर्ष गरेर आएका पार्टी र उसका उम्मेदवारहरू अलि पुरानै परम्पारगत प्रचार अभियानमा देखिन्छन् । उनीहरू आजको सञ्जालमा आधारित मिडिया स्टन्टबाजीमा त्यति पोख्त छैनन् । तर, राजनैतिक आन्दोलन र सङ्घर्षको इतिहास विना सञ्जालबाटै जन्मिएको कतिपय पार्टी र नेताहरू भने २१ औं शताब्दी सापेक्ष मिडिया स्टन्ट र रणनैतिक प्रचारबाजीमा सिपालु छन् । परिणामतः उनीहरू प्रचार अभियानमा अगाडि देखिन्छन् । आजको विकृत संसदीय चुनावी प्रक्रियामा विचार, राजनीति, एजेण्डा र कार्यक्रमहरूको आधारमा भन्दा पनि प्रचारबाजीको पछि लागेर मतदान गर्ने गलत प्रवृत्ति मौलाइरहेको छ जुन सही राजनैतिक संस्कार भने होइन । यसले राजनीति राजनैतिक लगामबाट धेरै टाढा बरालिने खतरा देखिन्छ ।

वस्तुतः संसदीय चुनाव भनेको जसरी पनि वा जे गरेर भए पनि चुनाव जित्नैपर्ने अवधारणा हो । यसमा विचार, राजनीति, इमान, जमान, आस्था, विश्वास र मूल्यमान्यताको कुरा हुँदैन । ढाँटेर, छलेर, झुक्याएर अनि भ्रमित गरेर जसरी भए पनि चुनाव जित्नु एक मात्र केन्द्रीय सवाल बन्दछ । परिणामतः पार्टी र उम्मेदवारहरू जसरी पनि अनि जे गरेर भए पनि चुनाव जित्ने एकल निजी, निहीत स्वार्थको सेरोफेरोहरूमा रुमल्लिन थाल्छन् । यही मेसोमा उनीहरूले हुने नहुने, पुग्ने नपुग्ने, सकिने नसकिने, वस्तुवादी अवस्तुवादी अनि जायज र नाजायज मौखिक प्रतिबद्धता र वाचा कसमहरू खाने गर्दछ । चुनावको दिनसम्म बरालिएको मतदाताहरूलाई आप्mनो वशमा राख्न सकियो भने भयो । चुनाव सम्पन्न भएपछि केही मतलव हुँदैन । यो उपनिर्वाचनमा पनि त्यस्ता आकाशको जुनतारा खसाल्नेदेखि पहाड सम्याउनेसम्मको वाचा कसमहरूको ओइरो लाग्नु स्वभाविकै कुरा हो । यसमा विशेषतः सञ्जालकै जगमा जन्मिएका पार्टीहरू अझ अगाडि देखिन्छन् ।

पछिल्लो समय इलाम दुईमा मिडिया स्टन्टबाजीसँगै मतदाता फकाउने रणनीति अन्तर्गत पहिचान पक्षधर र पहिचान विरोधी भनेर कित्ताकाट गरिएको छ । यसमा एकातिर पहिचान पक्षधरहरूको साथ समर्थन रहेको पहिचानवादी उम्मेदवार खडा गरिएको छ । अर्कोतिर पुरानो मुख्य दल र सञ्जालको मलमा उम्रिएको नयाँ दलका उम्मेदवारहरूलाई पहिचान विरोधी उम्मेदवारको रूपमा खडा गरिएको छ । यता काङ्ग्रेसले अभैmसम्म पनि उम्मेदवार टुङ्गो लगाइसकेको छैन । वास्तवमा रास्वपा सङ्घीयता विरोधी पार्टी हो । सङ्घीयता विरोधी पार्टीले पहिचान स्वीकार गर्ने कुरै हुँदैन । यो पार्टीले प्रदेश खारेजीको वकालत गर्दै आइरहेको छ । पार्टीको यही अवधारणा अनुरूप गतवर्षको प्रदेशसभाको चुनावमा यो पार्टीले प्रदेशसभामा उम्मेदवारी नै दिएन । यसमा कसैलाई भ्रम छ भने बेलैमा प्रष्ट हुँदा राम्रो हुन्छ । यता काङ्ग्रेस, एमालेले बल्लतल्ल संविधान निर्माणको प्रक्रियामा सङ्घीयता स्वीकार गर्न बाध्य भएको पार्टी हो । उनीहरूको पनि पार्टीगत मौलिक राजनैतिक बटमलाइन सङ्घीयता होइन । यसो भएपछि सङ्घीयताद्वारा निर्देशित पहिचान हुने कुरै आउँदैन ।

मूलतः पहिचान भनेको एउटा आन्दोलन हो । यो कुनै अमुक पार्टी, नेता वा सांसद्ले गोजीको वस्तु जस्तो वितरण गर्ने सवाल होइन । यसको लागि वैचारिक राजनैतिक दृष्टिकोण र सोही अनुरूपको आन्दोलनको प्रक्रिया अनिवार्य हुन्छ । अर्थात् एउटा असल कम्युनिष्ट पार्टीले मात्रै वर्गीय मुद्दाको व्यवस्थापन गर्न सक्दछ । वर्गीय मुद्दाको सही समाधान विना जातीय सवाल समाधन हुँदैन । जातीय सवाल समाधान गर्ने प्रक्रिया विना पहिचान पनि सुनिश्चित हुँदैन । यसकारण इलाम उपनिर्वाचनमा कोही पहिचानवादी हुनु र नहुनुमा खासै अन्तर देखिँदैन । यो एउटा सांसद् जितेर जाँदा प्राप्ति भइहाल्ने र नजित्दा गुमिजाने सवाल होइन । अर्थात् एउटा उपनिर्वाचनले सङ्घीयता, पहिचान र अन्य जनजीविकाजस्ता राजनैतिक मुद्दाहरू सुनिश्चित हुँदैन । यसको लागि साम्यवादी विचारद्वारा निर्देशित कम्युनिष्ट पार्टी, सङ्गठित अग्रदस्ता, सोही बमोजिमको राजनैतिक कार्यदिशा, कार्यक्रम, कार्ययोजना र आन्दोलनको लामो प्रक्रिया गुजार्नु जरुरी हुन्छ ।

वस्तुतः इलाम उपनिर्वाचनको सन्दर्भमा कसलाई भोट हाले के पाइने कसलाई नहाले के नपाइने भन्ने सवै भ्रमको खेती मात्र हो । यहाँबाट जितेर जाने सांसद्ले राजनैतिक मुद्दाहरू नै व्यवस्थापन गर्ने हैसियत राख्दैन । यो वा त्यो गर्छु भन्ने कुरा त हाम्रो संसदीय चुनावी विशेषता हो जो उम्मेदवार भए पनि प्रतिबद्धता र वाचा कसमहरू खानै पर्दछ । सकेसम्म थोरबहुत झुठो पनि बोल्नै पर्दछ । मिडिया स्टन्टबाजी, हल्लाखल्ला र प्रचारबाजी पनि गर्नै पर्दछ । आकाश पाताल जोड्नै पर्दछ । बरालिएका र बहकिएका मतदाताहरूलाई दिग्भ्रमित गर्नै पर्दछ । चुनावमा विचार राजनीतिद्वारा निर्देशित नभएको एजेण्डाहरू बोक्नै पर्दछ, तब मात्रै चुनाव जितिन्छ । यो गर्छु र त्यो गर्छु भनेर कार्ययोजनाहरूको लामो लिष्ट मतदाताहरूलाई सुनाउनै पर्दछ । यही वास्तविकताको कारण हरेक उम्मेदवारहरू वाचा कसम खान भ्याई नभ्याई छन् अनि प्रतिबद्धताका बुँदाहरू कण्ठ गरिरहेका छन् । यो हाम्रो संसदीय चुनावी पद्दतिको कटु विडम्बना र वास्तविकता हो ।

त्यसैले नेपाली राष्ट्रिय राजनीति औसत संसदीय कर्मकाण्डहरूमा फसिरहेको छ । यस्तो वस्तुगत धरातलमा राष्ट्रिय आवधिक आम निर्वाचनको समेत धेरै औचित्य रहँदैन । यसले केवल सरकार आलोपालो गर्ने गराउने भूमिका मात्र खेल्दछ । कहिले कुन पार्टी वा नेता अनि कहिले कुन पार्टी र नेता बदल्नेबाहेक यसले राजनैतिक विचार, कार्यदिशा, कार्यक्रम र प्रणाली बदल्ने हैसियत राख्दैन । हाम्रो समस्या प्रणालीमा रहेको छ । यस्तो अवस्थामा इलाम वा अन्य कतै एक–दुई स्थानमा हुने उपनिर्वाचन हारजितको त कुनै अर्थ र औचित्य नै रहँदैन । यो त  केवल एक जना उम्मेदवारलाई सांसद्को बिल्ला भिराएर पठाउने झन्झटजस्तो मात्र हो ।

हाम्रो विकृत संसदीय निर्वाचनको कुल ढोङ, ढर्रा, मिडिया स्टन्टबाजी, प्रचारबाजी र तरङ्गित वातावरणले केवल माननीय कुन पार्टीको कुन उम्मेदवारलाई बनाउने भन्ने फैसला गर्नेछ । तलब, भत्ता कसलाई उपलव्ध गराउने भन्ने निर्णय गर्नेछ । दिवङ्गत माननीय सुवास नेम्वाङको रिक्त रहेको ठाउँमा कसलाई उभ्याउने भन्ने निक्र्यौल गर्नेछ । कुनै एक जना उम्मेदवारलाई सिंहदरबार प्रवेशको अवसर प्रदान गर्नेछ । यही निजी स्वार्थ पाप्तिको लागि उम्मेदवारहरू लगानीमा जुटिरहेका छन् । यसकारण धेरै हौसिनु, मात्तिनु, आत्तिनु, पात्तिनु, तरङ्गित हुनु, बहकिनु र वरालिनुको कुनै औचित्य छैन । इलाम दुईका मतदाताहरू चुनावको दिन एकभोट हाल्न जान्छन् । बाहिरको ठुटे नेता र मतदाताहरू आफ्नो काम गर्दै बसे हुन्छ । यो निर्वाचन जित्दा पहाड मैदान हुँदैन भने हार्दा आकाश खस्दैन । औसत संसदीय कर्मकाण्डहरू चलिरहन्छ । सबैलाई चेतना भया !