मोरङ विराटनगर महानगरपालिका–४ को यातायात व्यवस्था सेवा कार्यालय बिचौलियाले गर्दा बदनाम हुन पुगेको छ । चालक अनुमति पत्र (लाइसेन्स) लिँदा वा नवीकरण गर्दा गरिने स्वास्थ्य परीक्षणमा रकम असुली गरिने तथ्य बाहिरिएको छ । यसले यातायात व्यवस्था कार्यालयलाई बदनाम बनाउँदै गएको छ । अन्यत्र पनि यस्तै प्रकृतिको कार्य हुने गरेको तथ्य बाहिरिँदै आएको थियो । विराटनगरमा सेवा कार्यालयको रुपमा केही समयअघिदेखि सञ्चालनमा आएको थियो । सञ्चालनमा आएपश्चात् निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्ने भनी मेडिकल अफिसर डा. धर्मेन्द्र साहले चालु आर्थिक वर्षको स्वास्थ्य परीक्षणको जिम्मा लिएका थिए । सेवा कार्यालयसँग उनले निःशुल्क गर्ने भनी सम्झौता गरे पनि उनका निकटस्थ सहयोगीहरुले रकम असुल्ने गरेको तथ्य बाहिरिएको छ । यसले उनलाई पनि बदनाम बनाएको छ । सामान्यतः लाइसेन्स लिँदाखेरि आँखा र स्वास्थ्य परीक्षण गरिँदै आएको छ । आँखा कमजोर भएकाहरुलाई आँखा अस्पतालमा रेफर गर्ने गरिएको छ । यो अवस्थामा नवीकरण गर्न आउनेसँग केही रकम लिई ‘स्वस्थ’ रहेको भनी रिपोर्ट दिने गरेको छ । यस्ता विषयमा नवीकरण गर्न आएका केही सेवाग्राहीले खुलेर नै बताएका छन् । यता सेवा कार्यालयले भने कुनै पनि रकम लिन नपाइने भनी सम्झौता गरेको भनी बताएको अवस्था छ । नियमतः लिन नपाइने नै हो ।

स्वास्थ्य परीक्षण गर्नु भनेको नवीकरण गर्न आउने सेवाग्राही स्वस्थ छ कि छैन भनी गरिने परीक्षण हो । यस परीक्षणको खास उद्देश्य भनेको लाइसेन्सधारीहरुले आँखा वा अन्य कारणले गर्दा ‘सडक दुर्घटना’ हरु ननिम्तिऊन् भन्ने हो । सवारी चलाउने चालकहरु अस्वस्थ हुँदा त्यसको प्रत्यक्ष असर धेरैतिर पर्ने भएकाले पनि स्वास्थ्य अवस्था के छ भन्नका लागि यातायात कार्यालयहरुमा स्वास्थ्य जाँच गर्ने युनिट राखिएको हुन्छ । त्यसले कालान्तरमा निम्त्याउन सक्ने सम्भावनालाई न्यूनीकरण गर्ने उद्देश्य हो । तर उक्त उद्देश्यमाथि तुषारापात गर्ने काम चाहिँ स्वास्थ्य परीक्षणमा खटिएका सहयोगीहरुले गर्ने गरेका छन् । चिकित्सकले त्यसबाट फाइदा लिन्छ या लिँदैन भन्ने प्रश्नभन्दा पनि उनका सहयोगीमार्फत् हुने कार्य भत्र्सनायोग्य छ । यस्ता गतिविधिहरुले गर्दा यातायात कार्यालयहरु विगतदेखि नै बदनाम छन् । यातायात कार्यालयहरु भ्रष्टाचारमुक्त बनाउनका लागि कार्यालय प्रमुखहरुले अभियान नै चलाउनुपर्ने अवस्था सिर्जना हुँदै गएको छ । जुन उद्देश्यका लागि युनिट निर्माण गरिएको हो त्यो उद्देश्यपूर्ति गर्नेतर्फ भूमिका चालिनुपर्छ । यसले मात्रै सवत्र हित गर्दछ । सवारीधनीहरुलाई चालक अनुमति पत्र दिँदा स्वस्थ हुन जरूरी छ । विषय एउटा ज्यानको मात्रै होइन । विषय अन्य ज्यानहरुको पनि हो । एउटाको गल्तीले अनेकन गल्तीहरु हुँदै जान्छन् । त्यस्ता गल्तीहरु हुन नदिनका लागि सबैले आ–आफ्नो स्थानबाट पाइला चाल्नुपर्छ ।

यातायात व्यवस्था कार्यालयहरुमा अनेकन समस्याहरु छन् । यस्ता समस्याहरुकै कारण यातायात व्यवस्था कार्यालयहरु बदनाम बन्दै गएका छन् । यसलाई हल गर्नका लागि सबैभन्दा सुरूमा यातायात व्यवस्था कार्यालयकै कर्मचारी जागरूक हुनुपर्छ । आफूलाई सभ्य र शिष्ट देखाउनका लागि पनि आफ्नो बानीमा सुधार ल्याउनुपर्छ । भ्रष्टाचार गर्दिन भन्ने सोचलाई सबै कर्मचारीले विकास गर्नुपर्छ अनि मात्रै सुधार हुन थाल्छ । अर्कोतर्फ सेवाग्राहीले पनि काम छिटो सम्पन्न गर्ने नाउमा कर्मचारीहरुलाई भ्रष्ट बनाइरहेका हुन्छन् । खाजाको नाउमा या चिसो खाने नाउमा भ्रष्ट बनाउने कर्ममा सेवाग्राही पनि खप्पिस देखिन्छ । समस्या एउटामा मात्रै छैन । समस्या सबैतिर छ । समस्याको समाधान गर्नका लागि पनि सबैले आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्छ । त्यसका लागि चाहिँ सेवा नै चुस्त हुनुपर्छ अनि मात्रै नागरिक विश्वस्त हुन सक्छन् । पाँच मिनेटमा सम्पन्न हुने काम ५ घण्टा लगाइदिने हो भने समस्या त्यहीँबाट सुरू हुन्छ । कर्मचारीहरुको यस्तो प्रवृत्तिले पनि नागरिक आजित भएका हुन्छन् । जबसम्म यस्ता समस्या समाधान हुँदैनन्, तबसम्म नागरिक आश्वस्त हुने ठाउँ हुँदैन । यसका लागि नेतृत्व तहमा बसेकाहरुले नै समस्याको जड पत्ता लगाई समाधान गर्नेतर्फ लाग्नुपर्छ । भ्रष्ट कर्मचारीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । सम्झौता खारेज गर्नुपर्छ अनि मात्रै समस्या समाधान हुन्छ ।