धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फार्मेसी खुलेका छन्। पाँच  दिनदेखि फार्मेसी बन्द गरेर आन्दोलनमा उत्रिएका सहायक फर्मासिष्टहरूले बिरामी तथा सेवाग्राही मर्कामा परेको भन्दै फार्मेसी खुलाएका हुन्।

उनीहरूले आफ्नो आन्दोलन भने जारी रहेको बताएका छन्।फार्मेसीमा कार्यरत कर्मचारीहरूले तलब, भत्ता नपाएको भन्दै काम बहिष्कार गरेपछि फागुन २७ गते बेलुकादेखि बन्द रहेका फार्मेसी शुक्रबार बेलुकादेखि खुलेका हुन्।

विगत ६ वर्षदेखि प्रतिष्ठानको फार्मेसीमा कार्यरत १८ जना कर्मचारीहरूले गत कात्तिकदेखि तलब, भत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिएर काम बन्द गरेका थिए। 

कर्मचारीहरूले फार्मेसी बन्द हुँदा सर्वसाधारण सेवाग्राही, बिरामी र बिरामीका आफन्तहरूलाई पर्न गएको असुविधालाई मध्यनजर गरी फार्मेसी सञ्चालन गरेको कर्मचारी शर्मिला राईले बताइन्। फार्मेसीकी कर्मचारी स्वस्ती भट्टराईले शुक्रबार बेलुकादेखि फार्मेसी खुलेको बताइन् । 

IMG20240315095822

१८ जना फार्मेसी सहायक कर्मचारीहरूले आफूहरूलाई प्रतिष्ठानकै कर्मचारीको रूपमा नियुक्ति दिनुपर्ने माग गरेका छन् । उनीहरूले कोरोना महामारीका बेलासमेत पेशाप्रति इमान्दार भएर काम गरेको उल्लेख गर्दै आफ्ना मागहरूको सुनुवाइ हुनुपर्ने बताएका छन्।

पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा विभिन्न कारण देखाई विगत ६ महिनादेखि तलब नदिँदा घर चलाउनसमेत गाह्रो अवस्था भएको उल्लेख छ । बारम्बार समस्याबारे सम्बन्धित पक्षलाई जानकारी गराउँदासमेत माग सम्बोधन नभएको उनीहरूको भनाइ छ।

उनीहरूले प्रतिष्ठानमा सञ्चालित फार्मेसीमा आवश्यक औषधिहरू पर्याप्त मात्रामा आपूर्ति नभएको तर, सेवाग्राहीले कार्यरत कर्मचारीहरूलाई नै दोष दिने गरेको बताएका छन् । सेवाग्राहीले गालीगलौज गर्ने र अस्पतालबाहिरका मेडिकलसँग मिलेमतो रहेको आरोप लगाउने गरेको उनीहरूको भनाइ छ।

उनीहरूले फार्मेसीमा सम्पूर्ण आवश्यक औषधिहरू उपलब्ध गराउन माग गरेका छन् । प्रतिष्ठानमा फार्मेसी सञ्चालन भएदेखि नै श्रमशोषण गरेको हुँदा राज्यले फार्मेसी सहायकलाई पाँचौं तहको तलब, सेवा, सुविधा उपलब्ध गराउन माग गरेका छन्।

प्रतिष्ठानको फार्मेसीमा कार्यरत कर्मचारीलाई हालसम्म केटिएम सेक्युरिटी सर्भिसअन्तर्गत वैकल्पिक व्यवस्थाबाट नियुक्ति गरिएको हुँदा र नेपाल सरकारको ‘अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ को दफा १० ले अस्पतालले फार्मेसी सञ्चालनको लागि स्थायी जनशक्तिको व्यवस्थाअनुसार नियुक्त गर्नुपर्ने माग राखेका छन्।

प्रतिष्ठानको ४ वटा फार्मेसी डिपोमा आवश्यकताअनुसार मात्रामा कर्मचारी नियुक्त गर्न पनि माग गरेका छन् ।