उदयपुरको बेलका नगरपालिका–८ स्थित चम्पाकोटलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न सरोकारवालाहरूले चासो देखाएका छन् ।

बेलका नगरपालिका पर्यटन विकास समिति, स्थानीय सामुदायिक वन, जल तथा पर्यावरणीय पर्यटन प्रवर्धक र स्थानीयवासीले चम्पाकोटलाई प्राकृतिक पर्यटनको विविध आयामसँग जोडेर प्रवर्धन गर्न सकिने निक्र्यौल निकालेका छन् । सूर्योदय र सूर्यास्तको मनोरम दृश्य एकै ठाउँबाट अवलोकन गर्न सकिने, तराई र पहाडका नौ जिल्लाको अवलोकन गर्न सकिने, हिम शृङ्खलाको अवलोकन गर्न सकिने, दुर्लभ पंक्षी गिद्धको बास स्थानको अवलोकन गर्न सकिने, पहाडी कृषिउपज र उत्पादनको बजारीकरण गर्न सकिने, जडिबुटीलाई नगदेबालीका रूपमा प्रवर्धन गर्न सकिने र तराईदेखि छोटो दूरीमा अवस्थित चम्पाकोटको प्राकृति विविधता महसुस गर्न सकिने स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा प्रवर्धन गर्न सरोकारवालाले अध्ययन थालेका छन् ।

Champakot suryodaya

‘चम्पाकोटबाट नौ जिल्ला देखिन्छ’–स्थानीय कृष्ण पुरीले भने । उनका अनुसार तेह्रथुम (तीनजुरे), धनकुटा, सुनसरी, मोरङ, झापा (दमक), सिरहा, सप्तरी, सङ्खुवासभा (मकालु), खोटाङ (ट्याम्के), भोजपुरका दृश्यहरू चम्पाकोटबाट देख्न सकिन्छ । स्थानीय सिंहदेवी सामुदायिक वनका अध्यक्ष गान्दीमान राईका अनुसार त्यहाँबाट मकालु, कुम्भकर्ण र मौसम उघ्रेको बेला कञ्जनजङ्घा हिमालसमेत अवलोकन गर्न सकिन्छ । स्थानीय मौलिक उत्पादनका कारण पनि यो क्षेत्र महŒवपूर्ण छ । अध्यक्ष राईका अनुसार सुन्तला, दालचीनी, तेजपत्ता, फिलुङ्गे, अम्लिसो, अदुवा, सिलाम, फापर, जुनेलो, गहुँ, जौ, तोरी, कागुनु, कोदो, मकैको अत्यधिक उत्पादन हुने गरेको छ ।

सिंचाइको अभावका कारण भने स्थानीयले उत्पादनलाई व्यवसायीकरण गर्न भने सकेका छैनन् । ‘उत्पादन निर्वाहमुखीमात्र छ, यद्यपि बढी भएका उत्पादन स्थानीय चतरा, रामपुरलगायतका बजारसम्म पुग्ने गरेका छन् । बेलकाको सोमबारेबाट १० किलोमिटर उत्तर न्यूनतम् १२ सय मिटरको उचाइमा रहेको यो क्षेत्र हुँदै उदयपुरको मयुङ्टार हुँदै भोजपुरको खैराङबाट उत्तर–पूर्वी पहाडी जिल्ला पुग्न सकिन्छ । पर्यटन प्रवर्धनको पर्खाइमा रहेका यहाँका आहाल, आरङ्गालगायतका स्थानका उत्पादन मुख्य खेती केरा, तेजपत्तालगायतका कृषि उत्पादनलाई पकेट क्षेत्रका रूपमा विकास गर्ने सम्भावना रहेको बेलका–८ का वडाध्यक्ष जयकुमार राईको भनाइ छ । पानीको अभावमा स्थानीय विस्थापित भए, धरान इटहरीकाले कौडीको भाउमा जग्गा खरिद गरेको स्थानीय बताउँछन् ।

Champakot Giddha samrakshan

पर्यावरणीय दृष्टिले महत्त्वपूर्ण रहेको सुगाचरी डाँडा (भीर) गिद्धको आश्रयस्थलका रूपमा परिचित छ । बिहानै आहार खोज्न उत्तर दिशा भएर नेपालका तराई र भारतसम्म जाने गिद्धहरूको डफ्फा फर्कंदा दक्षिण भएर आउने गरेको अवलोकनका क्रममा जानकारी पाएको जल पर्यटन र पर्यापर्यटन प्रवर्धक रवि माथाले बताए । ‘पूर्वी नेपालको श्रीअन्तुलगायत विभिन्न स्थानमा गएर सूर्याेदय र सूर्यास्तको दृश्य अवलोकन गर्यौँ, तर यहाँको अनुभव विशिष्ट लाग्यो’ पर्यटन प्रवर्धक माथाले भने, ‘यहाँको पर्यटनको बहुआयामिकताको अध्ययन गर्दा स्थानीय सरकारलगायत तीनै तहका सरकारले यो भर्जिन डेस्टिनेशनलाई प्रमोट गर्नुपर्छ भन्ने लागेको छ ।’

Champakot himal

उनले बेलकाको स्थानीय सरकार र पर्यटन विकास समितिलाई चम्पाकोटको विकासका लागि काम गर्न सुझाव दिएको बताए । ‘काठमाडौंको नगरकोट, पोखराको साराङ्कोट भनेजस्तै पूर्वी नेपालको चम्पाकोटलाई मौलिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु पर्ने आवश्यकता छ’ु युवा नेता सुरेन्द्र राईले भने, ‘स्थानीयवासीसँगको अन्तरक्रिया र सरोकारवालाको छलफलमा यहाँको विकास गर्न सबै पक्ष लाग्ने एउटा उत्साह प्राप्त भएको छ ।’

चम्पाकोटको संस्थागत विकासका लागि बेलका नगरपालिकाको पर्यटन विकास समितिसमेत लागिपरेको छ । पर्यटन विकास समितिका संयोजक शिव थापाले यहाँको मौलिक विशेषतालाई नमासी कङ्क्रिटमूक्त चम्पाकोट विकास र प्रवर्धनमा लाग्ने बताए । उनले चम्पाकोटको विकासका लागि कार्ययोजना निर्माण गरी सम्बन्धित निकायमा जाने गरी काम सुरु गरेको बताए ।

Champakot suryasta