धरान । पाँच उपथरी याक्थुङ लिम्बूहरूले धनकुटाको भेडेटार र ताप्लेजुङको थेचम्बुमा चुम्मालुङ (मिलन ढुङ्गा) गाडेर दुबो ढुङ्गोलाई साक्षी राख्दै अबदेखि एउटै वंशको दाजुभाइ भएको सामूहिक घोषणा गरेका छन् ।

चासोक तङ्नामको अवसर पारेर पाँच उपथरी याक्थुङ लिम्बूहरूले आफूहरूको पुर्खा एउटै भएको तथ्य र इतिहास फेला पारेपछि मिलन ढुङ्गा गाडेर एकै रक्तको सन्तान भएकाले दाजुभाइ भएको घोषणा गरेका हुन् । चुम्मालुङ (मिलन ढुङ्गा) गाडेर एक हुने पाँच उपथरीहरूमा खिम्दिङ, उसुक, फालेछुवा, मेन्याङ्बो र आङ्बुहाङ रहेका छन् । उनीहरू सबैको पुर्खा थिन्दोलुङ खो?याहाङ हुन् । स्वदेशी र विदेशी इतिहासकारहरूले प्राचीनकालमा पूर्वमा शासन गर्ने आठ राजा (येत्हाङहरू) र दश राजा (थिबोङ याक्थुङहरू) मध्ये थिन्दोलुङ खो?याहाङले याङ्वरक क्षेत्रमा शासन गरेको उल्लेख गरेका छन् ।

हाल ३२ औं पुस्तामा चलिरहेको थिन्दोलुङ खो?याहाङको समय करिब ९ सय वर्षअघिको मानिएको थिन्दोलुङ खो?याहाङ वंशज सङ्घका केन्द्रीय अध्यक्ष दीपक मेन्याङ्बोले बताए । उनले भने, ‘याक्थुङ लिम्बूको वंश रक्त एउटै हो होइन भनेर थाहा पाउनका लागि मुन्धुमी परम्पराअनुसारको माङ्गेना यक् र मिङ्श्रा हुन्छ । यो भनेको एक प्रकारको गोत्रजस्तै हो । पछिल्लो समयमा हामी पाँच उपथरी लिम्बूहरूको माङ्गेन्ना यक् र मिङ्श्रा (उत्पत्ति थलो) एउटै भएको पत्ता लागेपछि थिन्दोलुङ खो?याहाङलाई पहिलो पहिलो पुस्ता (पुर्खा) मानेर बीचमा छुट्टै भएर बसे पनि अहिले एकै भएको घोषणा गरेका हौँ ।’ उनकाअनुसार थिन्दोलुङ खो?याहाङको वंशावलीमा सातौं पुस्ताका देदेहाङका केही सन्तानहरू ताप्लेजुङको नाङ्खोल्याङ क्षेत्रमा बसोबास गर्दै खिम्दिङ थरमा परिणत भए । दशौं पुस्ताका एरुहाङका सन्तानहरू खोक्लिङ क्षेत्रमा गएपछि उसुक बने । बाह्रौं पुस्ताका एरोहाङका केही सन्तान धनकुटाको चौबिस क्षेत्रमा आएर फालेछुवा थरमा परिणत भए । त्यस्तै तेह्रौं पुस्ताका लाहाङका सन्तान थेचम्बूमा नै राजकाज गरेर बसेकाले उनीहरू मेन्याङबो भए । कान्छा भाइ नामहाङ नेसुम चाँगे क्षेत्रमा गएर आङ्बुहाङ थरमा परिणत भएको इतिहास छ ।

याक्थुङ लिम्बूहरूको मुन्धुमी परम्पराअनुसार छुट्टिँदा वा सिमाना कायम गर्दा सेम्मालुङ गाड्ने र एक हुँदा चुम्मालुङ गाड्ने चलन रहेकाले सोही नीतिलाई पछ्याउँदै थोदिङ ताङ्साङ सावारोहाङ हुँदै थिन्दोलुङ खो?याहाङपछिको वंश पिँढी खिम्दिङ, उसुक, फालेछुवा, मेन्याङ्बो, आङ्बुहाङ एकठाउँ भएको वंशको सन्देश दिन चुम्मालुङ स्तम्भ कायम गरेको आङ्बुहाङ समाजका अध्यक्ष पर्शुराम आङ्बुहाङले बताए ।

प्राध्यापक ध्रुव मेन्याङ्बोका अनुसार लिम्बू भाषामा ‘चुम्मा’ भनेको ‘भेला’ हो भने ‘लुङ’ भनेको ‘ढुङ्गा’ हो । ‘चुम्मा’ र ‘लुङ’ मिलेर बनेको शब्द ‘चुम्मालुङ’ बाटै याक्थुङ लिम्बूका ज्येष्ठ वा भद्रभलाद्मी बुद्धिजीवी (तुम्याहाङ) को भेलालाई ‘चुम्लुङ’ भनिएको र त्यही ‘चुम्लुङ’ शब्द ‘चुम्मालुङ’ शब्दको को व्युत्पत्ति हो । उनले भने, ‘तिनै तुम्याहाङको विशेष भेलाले पक्ष विपक्षका कुरा सुनेर न्याय निसाफ गर्ने र त्यसपछि साक्षी प्रमाणका लागि लामो ढुङ्गा गाड्ने चलन अझै पनि गाउँघरमा छ । यसैको ऐतिहासिक निरन्तरता हो यो ‘चुम्मालुङ’ ।’

ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा, ललितपुर, काठमाडौँ, भक्तपुर, हङ्कङ, बेलायत र अमेरिकालगायत मुलुकमा बसोबास गरिरहेका पाँचै उपथरीका प्रतिनिधि परिवार करिब एकहजार जनाको भेलाका बीच चुम्मालुङ गाडिएको थियो । विभिन्न कालखण्डमा छुट्टिएर बेग्लै थरले चिनिए पनि अबदेखि भने कुनै पनि वैवाहिक सम्बन्ध नगाँसी एकै वंश भएर आपसी सहयोग गर्ने निर्णयसमेत गरिएको तुम्याहाङ मुन्धुमविद् लक्ष्मण मेन्याङ्बोले बताए । उनकाअनुसार कुनै कालखण्डमा छुट्टिएर गएका दाजुभाइबीच रक्त सम्बन्ध केलाउँदै एकै भएको याक्थुङ लिम्बू समुदायमा यो पहिलो घटना हो । समाजका तर्फबाट खिम्दिङबाट कुमार खिम्दिङ, उसुकबाट यामबहादुर उसुक, फालेछुवाबाट तेजबहाुदर फालेछुवा र मेन्याङ्बोबाट दीपक मेन्याङ्बोले संयुक्त घोषणा गरेका थिए । चुम्मालुङको अनावरण पूर्व भूमिसुधार मन्त्री रामकुमार मेन्याङ्बो र प्राध्यापक ध्रुवकुमार मेन्याङ्बोले गरेका थिए ।