हङकङ । ५० किलोमिटरको हिमालय हार्मोनी अल्टा ट्रेल रनिङमा पुरुषतर्फ हङकङका चेज हङ ताम र महिलामा बेलायतकी हङ क्यु किमी ल्योङ च्याम्पियन बनेका छन् ।

हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ सङ्घको आयोजनामा आइतबार सम्पन्न प्रतियोगितामा विभिन्न देशका एक सय ७६ जना धावकहरूले प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतिस्पर्धामा पुरुषतर्फ सन्तोष तामाङ दोस्रो र तमी युङ तेस्रो बनेका थिए । यस्तै महिलामा पाक इ मङ दोस्रो बन्दा जुलिया मित लेप्चा तेस्रो बनेकी थिइन् । यस्तै १२ किलोमिटर पुरुषतर्फ बेलायतका म्याथ्यु क्यारी च्याम्पियन बन्दा यु जेस्पर याम दोस्रो। जर्म डी क्यालेरन्स तेस्रो भए । यस्तै महिलामा सिउ साङ सान लाउ प्रथम हुँदा इलाने एप्सटोल दोस्रो र जेसी याहु तेस्रो बनेका थिए ।

विजेता, उपविजेता बनेकाहरूलाई नगदसहित ट्रफी प्रदान गरिएको छ । यस्तै विभिन्न उमेर समूहतर्फका पहिलो, दोस्रो र तेस्रोलाई ट्रफी प्रदान गरिएको धावकमध्येका एक धावक एवम् आख्यानकार राजकुमार राईले जानकारी दिए । यस्तै निर्धारित समयसम्ममा दौड पूरा गर्ने धावकहरूलाई मेडल प्रदान गरिएको थियो । सहभागी धावकधाविकलाई ब्लु माउन्टेनको एचके डलर १०० को सपिङ कुपनलगायत प्रदान गरिएको थियो । प्रतिस्पर्धामा ५० र १२ किलोमिटरका छुट्टाछुट्टै दौड प्रतियोगिता गरिएका थिए ।

कार्यक्रमको उद्घाटन हङकङस्थित नेपाली महावाणिज्यदूत डा. बिन्देश्वर लेखकले गरेका थिए । यसक्रममा किरात याकथुङ चुम्लुङको केलाङ समूहले याक्थुङ नृत्य प्रस्तुत गरे । यस्तै तामाङ समुदायले पनि सेलो प्रस्तुत गरेका थिए । अरुण शर्माको एकल नृत्य पनि प्रस्तुत गरिएको थियो । विगत दुई वर्षयताबाट वातावरण र खेललाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिरहेको छ । आयोजक संस्थाले मासिक पदयात्रा, सरसफाइ र बालबालिकालाई निःशुल्क दौड तालिम दिँदै आएको संस्थाका अध्यक्ष बेदराज लिम्बूले जानकारी दिए ।

प्रतियोगिताका विजेताहरू ।
तस्बिरहरू : जगत आम्बु गुरुङ
































