सुन–चाँदी पसलले पासबुक नै बनाएर अवैध रकम बचत गरिँदा बचतकर्ता नराम्रोसँग ठगिएका छन् ।
धरान उपमहानगरपालिका ११ मङ्गलबारे चोकस्थित नुना स्टोर (सुन–चाँदी पसल) का सञ्चालक वसन्त राईले पासबुक बनाई सर्वसाधारणको करोडौँ रकम अपलचन गरी बेपत्ता भएका छन् ।

उनको पसलमा सामान्य कागजको चिल्कटो (पासबुक) बनाई कारोबार गर्दै आएका थिए । सर्वसाधारण पनि उनको विस्वासमा परी लाखौँ रकम बचत गरेका थिए । कानूनअनुसार सुनचाँदी पसलमा ‘पासबुक’ बनाउनै पाइँदैन । पीडितहरूका अनुसार प्रकृति बचत तथा ऋण सहकारीमा समेत आवद्ध सञ्चालक राई र उनकी श्रीमती उर्मिला राई, दुई छोरा कात्तिक–२ गतेयता बेपत्ता बनेका हुन् । पीडितहरूले उक्त सुनपसलमा लामो समयदेखि सर्वसाधारणले रकम बचत गर्दै आएका थिए ।

सर्वसाधारणले करोडसम्म रकम राखेको बताउँछन् । धरान–११ कै चन्द्रकला राईले ९३ लाख रुपैयाँ बचत गरेको बताइन् । उनका अनुसार हाल उक्त रकमको ब्याजसहित ९४ लाख ४५ हजार रुपैयाँ लिएर पसल सञ्चालक राई फरार भएपछि आफू पीडित बनेकी छु । यस्तै, धरान–११ का बुद्धिमान तामाङले ८२ लाख रुपैयाँ राखेको बताए । त्यस्तै नउमती राईबाट २५ लाख रुपैयाँ र दुई तोला सुन लिएर बेपत्ता भएका छन् ।

भूपाल तामाङले ४० लाख रुपैयाँ सुन पसलमा राखेका थिए । बलराम तामाङले पनि ५९ लाख ९२ हजार ३७० रुपैयाँ बचत गरेको दाबी गरेका छन् । उनका अनुसार हालसम्म करिब ६० जनाले नुना स्टोरमा रकम राखेका थिए । उनले भने, ‘हालसम्म सम्पर्कमा आएका पीडितअनुसार करिब ६० जना पीडितको ३० करोड बराबर रकम लिएर सम्पर्कविहीन बनेका छन् ।’


सञ्चालक राईले पीडितहरूलाई कात्तिक २ गतेको समयसीमा दिएका थिए । उक्त समयदेखि सञ्चालक राई सम्पर्कविहीन छन् । पीडितहरूले घरजग्गा बिक्री गरेको रकमदेखि बृद्धाबृद्धाले समाजिक सुरक्षाभत्ता पाएको रकमसम्म राखेको जनाए । पीडित चन्द्रकलाले यस्तो घटनामा प्रहरीले पीडितको निवेदन दर्ता नगरेको बताइन् । उनले भनिन्, ‘प्रहरीले प्रमाण छैन भनेर निवेदन दर्ता गर्न मानेन ।

माथिल्लो निकायमा फोन गरेपछि दर्ता गर्ने भनेको छ ।’ इलाका प्रहरी कार्यालय धरान इन्स्पिेक्टर रन्जन मिश्रले पीडितहरूलाई प्रमाणसहित आइतबार कार्यालयमा बोलाएको जानकारी दिए । सेवाग्राहीले उच्च ब्याजको प्रलोभनमा सुनचाँदी पसलमा रकम बचत गर्ने गरेको यहाँका सुन–चाँदी पसलको विगतको उदाहरणबाटै प्रष्ट छ ।

एक सुनचाँदी पसलले नाम नखुलाउने शर्तमा ९० प्रतिशत सुन–चाँदी पसलेकहाँ पासबुक राखेर बचत गर्ने गरेको बताए । ‘उच्च ब्याजदरको प्रलोभनमा सेवाग्राहीले पनि रकम बचत गर्ने गरेका छन् । रकम बचतका कारणले व्यवसायी नै पनि धरासायी बन्दै गएका छन्’ उनले भने, ‘चर्को ब्याजमा रकम राखिन्छ । व्यवसाय अपेक्षाकृत नचलेपछि साँवा रकमबाट नै ब्याज तिर्छ र अन्त्यमा आफै धरासायी बन्न पुग्छ ।’

ती व्यवसायीले ३६ प्रतिशतसम्म ब्याज दिने गरेको सुन्नमा आएको बताए । नेपाल सुनचाँदी व्यवसायी सङ्घ सुनसरीका अध्यक्ष राजेश अग्रवालले सुन पसलमा पासबुक राखेर बचत गर्ने कार्य अवैधानिक भएको बताए । ‘नीतिगत रूपमा बचत गर्न मिल्दैन’ उनले भने, ‘कागजमा लेखेर कारोबार गर्नु पासबुकवाला केस नै हो ।’ उनले रकम बचत गर्ने सेवाग्राही चनाखो हुनुपर्ने बताउँदै भने, ‘उच्च ब्याजदर दिने व्यवसायीले तिर्न सक्छ÷सक्दैन ? विवेक पु¥याउनुपर्छ ।’

सङ्घका आवद्ध व्यवसायीलाई अवैध तरिकाले रकम बचत नगर्न सकुर्लर नै गरेको बताए । जिल्ला प्रशासन कार्यालय सुनसरीका सूचना अधिकारी ओमप्रसाद भट्टराईले अवैधानिक कारोबारको विषयमा बुझेर कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।