सत्य कथाहरूबाट प्रेरित भनिएको नेपाली कथानक चलचित्र ‘एक भागवत् र एक गीता’ शुक्रबारदेखि सिनेमा घरहरूमा प्रदर्शन भइरहेको छ ।

हिन्दु धार्मिक अगुवाहरू र निर्माण पक्षबीचको रस्साकस्सीपछि चलचित्रको तीन पटक नाम फेरिएपछि प्रदर्शनका लागि सहमति भयो । सेन्सर बोर्डले समेत विवादपछि चलचित्रलाई प्रदर्शनको अनुमति दिएको थिएन । चलचित्र विकास बोर्ड, निर्माण पक्ष र धार्मिक अगुवाबीचको समन्वयमा अन्ततः नाममात्र परिवर्तन गर्ने सहमतिमा चलचित्र प्रदर्शनमा आएको हो । तर, चलचित्र पूरा हेरिसकेपछि दर्शकलाई यो विवाद वाहियात लाग्न सक्छ । बरू चलचित्रको मूल मुद्दा बोकेको विषयवस्तु ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक’ ले धार्मिक पक्षको वकालत गरेको छ ।

हिन्दू धर्मका आराध्य राम, सीता, शिव, श्रीकृष्णलगायत देवीदेवताको स्तुति गरेको छ । तर, मूल विषय भने यो होइन । मूल मुद्दा भनेको आज पनि हाम्रो समाजका विभिन्न समुदायमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई कस्तो दर्जा दिइन्छ र आफ्नै घरमा जायजन्म भएपछि कसरी हेरिन्छ भन्ने कथानक चलचित्रले प्रस्तुत गरेको छ । तर, मुद्दा बुझ्नकै लागि भने चलचित्र पूरै हेरिरहनु पर्दैन । मात्र, ट्रेलरलाई दुई–चार पटक हेरे पुग्छ । किन भने पहिलो पटक हेर्दा चलचित्रको  ट्रेलरमा दर्शकको ध्यान कलाकारको प्रस्तुतीकरणतर्फ केन्द्रित हुन्छ । त्यसपछि अभियन, सिनेमाटोग्राफी, अनिमात्र मुद्दातर्फ । 

नेपाली चलचित्रमा आफ्नो फरक भूमिकामार्फत् स्थापित अभिनेता विपिन कार्कीले निर्वाह गरेको भूमिका ‘कमलामाई’ मार्फत् यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको नेतृत्व गरेकी छन् । चलचित्रमा कमला माईमार्फत् प्रस्तुत संवाद ‘हम खाली कमलामाई नहीं छिए, एगो लडाइँ छिए’ मार्फत् यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको मुद्दालाई समाजमा सहअस्तित्वको सङ्घर्ष र पहिचानको लडाइँका रूपमा प्रस्तुत गरिएको छ ।

चलचित्रले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकविरुद्ध प्रयोग हुने अन्धविश्वासलाई समेत तोड्ने प्रयास गरेको छ । ‘छोरी मान्छेको सामान लाएसि केटा मान्छेको आयु घट्छ ।’ लैंगिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकार स्थापनाको पक्षमा उनीहरूको मनोविज्ञानको पक्षमा चलचित्रको ट्रेलरले भनेको छ– ‘मानिस मानिसको चिनारी किन गर्दैन ?, मायासँग माया मनमा किन सर्दैन ?’ तर चलचित्रमा विपरीत लिंगप्रतिको आकर्षण र प्रेम चलचित्रको मूल मुद्दामा केन्द्रित छैन ।

चलचित्रको ट्रेलरले पूरा चलचित्र हेर्न उत्सुकता जगाउनुपर्छ । यो चलचित्रको ट्रेलरले उत्सुकता जगाउँछ नै । तर, मात्र मुद्दाका लागि हेर्ने बुझ्नेका लागि भने ट्रेलरमै सबैथोक पाइन्छ । ट्रेलरमै सन्देश दिइएको छ– ‘धर्ती उही, धरातल उही टेकाइ किन बेग्लै ?, दिन उही रात उही समय किन बेग्लै ?’ ‘हम खाली कमलाई माई नही छिए, एगो लडाइँ छिए’ ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन । हामीमा के खराबी छ ? न दिलमा राख्नुहुन्छ ? न जातैमा राख्नु हुन्छ ?’

र, क्लाइमेक्समा मुद्दा कमजोर पो भएको हो कि ? खलचरित्रले भनेको छ– ‘भागवत्लाई किन उठाइस् रे ? ‘भागवत्ले भनेको छ– ‘म आफै आएको हो, कसैले ल्याएको होइन, अहाँ सब् जे भन्नुस् हम् घर नई जेबै । माई, म तिमीसँग सुहाउँछु, यिनीहरूसँग सुहाउँदिनँ, माई हम घर नई जाइब ।’ किन चरित्र कमला माई र अन्य लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक पात्रहरूले ‘भागवत्’ लाई आफूसँगै संरक्षण गर्न सकेनन् ? एउटा सानो बच्चाले एक्लै यो असमानता र विभेदका विरुद्ध परिवारभित्र सङ्घर्ष र लडाइँ गर्न सक्छ ? कमलाई माईले भनेकी छन्– ‘बेटा तँ यति छोइट् छस् रे, यत्तिका तिरस्कार तँ कसरी सहन्छस्् बेटा ? तैँले जे झुम्का लगाएछस् यो समाजका लागि भारी पर्छ रे ।’ वा चलचित्रले एउटा अन्जान ठाउँमा बेवारिसे बनेका चरित्र ‘भागवत् र गीता’ लाई आफ्नो संस्था ‘ब्लुडाइमण्ड’ सम्म पु¥याउन किन सकेन ? र अन्तमा भनिदियो–‘अहाँ के सन्तानलाई अहाँके गोदमे रख्दिएछु, अब् तिरस्कार गर्नुहुन्छ, या स्वीकार गर्नुहुन्छ, तपाईंको हातमा छ ।’

निर्देशनः

चलचित्रको निर्देशन झर्ना थापाले गरेकी छन् । निर्देशक थापाले आफ्नो चौथो निर्देशकीय चलचित्रमा सामाजिक कथा देखाएकी छन् । उनको निर्देशनलाई सह्राना नगर्नुपर्ने बलियो कारण छैन । चलचित्रको शीर्षक सार्थकताको कुरा गर्ने हो भने यहाँ नायकत्वभन्दा बढी चरित्रप्रधानता पाइन्छ । प्रत्येक चरित्रले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पक्षमा वकालत गरेका छन् । ‘केही लडाइँ सोच र विचारले जित्नुपर्छ ।’ तर खलपात्रहरूले उठाएका समस्याको चलचित्रले निराकरण गर्न सकेको छैन । मात्र राजनीतिक कारणले पात्र ‘भागवत्’ लाई कमलामाईसँग छाडिएको छ । यद्यपि चलचित्रमा राजनीतिक संवाद छ, सिनेमा छैन । कमला माईले आफूसँगै आएका भागवत्लाई परिवारकै जिम्मा लगाइदिएकी छन् । किनभने अब सङ्घर्ष त्यति कठिन छैन, जसरी कमला माईले गरिन् । अब अन्य लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई परिवार छाडेरै आफ्नो पहिचानका लागि लड्नुपर्ने अवस्था छैन । परिवारभित्रैबाट लडाइँ लड्न चलचित्रले प्रेरित गरेको छ ।   

पात्र, चरित्रः 

चलचित्र चरित्रप्रधान बनेको छ । नायकत्वको प्रभाव छैन । चलचित्रले कमला माईलाई नायक बनाउने प्रयास त गरेको छ तर, चलचित्र ‘भागवत् र गीता’ को वरिपरि घुमेको छ । चलचित्रमा कमला माईको अवतार सामान्य सङ्घर्षभन्दा माथि छ । उनी आफूजस्ताको सह–अस्तित्वका लागि हिंसामा समेत उत्रिन पछि परेकी छैनन् । चलचित्रको ट्रेलरमै सन्देश दिन खोजिएको छ – ‘मनुष्यले सज्जनसँग सज्जनताको र दुष्टसँग दुष्टताको व्यवहार गर्नुपर्छ ।’ तर, बालकलाकारमार्फत् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको मनोविज्ञानलाई उत्कृष्ट ढङ्गले प्रस्तुत गरिएको छ । उनीहरू आफ्नो परिवारलाई जति माया गर्छन्, आफ्नो पहिचान र सह–अस्तित्व बुझ्नेसँग त्योभन्दा बढी सामिप्यता रोज्छन् भन्ने देखाइएको छ । 

चलचित्रमा, कमलामाईले आफ्नो आधा जीवन जनकपुरमा ‘माई’ भएर बिताएकी छन् भने आधा जीवन ‘बाबा’ भएर पहाडमा बिताएका छन् । खोला तरेपछि मात्रै आफ्नो सक्कली पहिचान प्राप्त गर्न सकेकी छन् । भलै चलचित्रले यसको मिहीनता देखाउन सकेको छैन । तर, संवादमार्फत् सन्देश प्रवाह भएको देखिन्छ । खलचरित्रमा मुख्य पात्र परमेश्वर यादव ‘ठाकुर’ देखिए पनि भूमिका निर्वाहका हिसाबले उनका छोराका रूपमा चित्रित ‘मुन्ना ठाकुर’ अगाडि छन् । चलचित्र हास्यप्रधान नभए पनि मध्यान्तरपछि ‘सेते साहु’ को भूमिकाले दर्शकको अनुहारमा हाँसो दिएको छ । कहीँकहीँ मैथिली लवज अस्वभाविक लागे पनि पात्रहरूको अभिनय उत्कृष्ट देखिन्छ । 

छायाङ्कनः 

चलचित्रको अधिकांश छायाङ्कन जनकपुरमा गरिएको छ । त्यसपछि पोखरा आसपासका क्षेत्रमा गरिएको छ । 

चलचित्रले मिथिलाको संस्कृति र कलालाई चलचित्रमा गज्जबले प्रस्तुत गरेको छ । जानकी मन्दिरलाई पृष्ठभूमि बनाएर अधिकांश छायाङ्कन गरिएको छ । चलचित्रलाई मिथिलाले अपनत्व महसुस गर्ने देखिन्छ । स्थानीय भाषा र संस्कृति चलचित्रले समेट्ने भरपूर प्रयास गरेको छ । चलचित्रले मिथिलाका पात्र मात्र नभई संस्कृति प्रस्तुत गरेको छ । यसले जानकी मन्दिरको पर्यटनमा थप टेवा पु¥याउने देखिन्छ । ड्रोनको अधिकांश प्रयोगले जानकी मन्दिरको सुन्दरता बडो गज्जब देखिन्छ । चलचित्र स्थानीय लवजमा स्वराङ्कन गरिएको छ । चलचित्रमा पोखरा आसपासका संस्कृति, तमु संंस्कृतिलाई समेत देखाउने प्रयास गरिएको छ । हिमाल, पहाड र तराईलाई अत्यन्तै आकर्षक तरिकाले चलचित्रमा छायाङ्कन गरिएको छ । यसले ती क्षेत्रको पर्यटनमा समेत टेवा पुग्ने देखिन्छ । चलचित्रमा भिएफएक्स र ग्राफिक्सको प्रयोग भएको छ । खुट्याउन सक्ने दर्शकले अस्वभाविक भिएफएक्सलाई चिन्नेछन् ।  

सङ्गीतः 

चलचित्रको अर्को बलियो पक्ष सङ्गीत हो । मिथिला र तमु संस्कृति देखाइएको चलचित्रले दुवै संस्कार र संस्कृतिलाई सङ्गीतमार्फत् आत्मसात गरेको छ । अझ बढी मिथिला संस्कृतिलाई सङ्गीतले जुरुक्कै बोकेको प्रतीत हुन्छ । सुमधुर सङ्गीतका साथ चलचित्र निर्माण  भएको छ । समग्रमा चलचित्र राम्रो बनेको छ । मध्यान्तर अघि केही पट्यारलाग्दो भए पनि चलचित्रको बहुआयामिकतालाई दर्शकले मूल्याङ्कन गर्नुपर्छ । निर्देशक झरना थापाले सामाजिक र सांस्कृतिक रूपमा उत्तिकै बलियो ढङ्गले चलचित्र प्रस्तुत गर्न खोजेकी छन् । मूलतः समाजमा यौनिक लैङ्गिक अल्पसङ्ख्यकले आफ्नो पहिचान र अस्तित्वका लागि गरेको सङ्घर्षलाई देखाउन खोजिएको छ । समाजको दोहोरो चरित्र र प्रवृत्तिलाई समेत चलचित्रले भन्ने गरेको छ ।

एकातिर यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई देउताको दर्जासमेत दिने र अर्कातिर तिरस्कृत गर्ने प्रवृत्तिको चलचित्रले भण्डाफोर समेत गरेको देखिन्छ । चलचित्रले समुदायको दबिएका कथालाई पक्कै पनि उतार्ने प्रयास गरेको छ । चलचित्रमा अभिनेता विपिन कार्कीसँगै धीरज मगर, सुहाना थापा, कविर खड्का, जेविश श्रेष्ठ, जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायत कलाकारले उत्कृष्ट अभिनय गरेका छन् । सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रमा निर्देशक थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेलको पटकथा, राजेश श्रेष्ठको छायाङ्कन, मित्र डी गुरुङको सम्पादन तथा हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।