विजयपुर । पाँचथरको लखुवा–मौवा सडकको दायाँतर्फ आङ्ना गाविसका पूर्वअध्यक्ष सुरेन्द्रकुमार दाहालको घर एक्लै जस्तै देखिन्छ । उनको घरमा बस्ने लीला दाहाल भने पानी अभावकै कारण बसाइँ सरेर तुम्बेवा–१ पसलटार पुगेकी छन् ।


उनी भन्छिन्, “नजिकै खानेपानीका मुहान छैनन् । धेरै माथिबाट ल्याइएको सानो पानी सबैले बाँडेर खानुपर्छ । पम्पिङ गरेर पानी ल्याइएको भनिए पनि त्यसले काम गरेको छैन । पानी अभाव भएपछि बसाइँ सर्नुको विकल्प रहेन ।”


उनका अनुसार पसलटार क्षेत्रमा खानेपानीको केही सुविधा भएकाले त्यतै सरेको हो । “ढुकुरेमा पानीको हाहाकार भएपछि उतै जानुप¥यो,” उनले भनिन् ।


५६ वर्षीया टुकमाया दाहालका अधिकांश छिमेकी र आफन्त बसाइँ सरिसकेका छन् । उनी भने अझै गाउँमै बसिरहेकी छन् । “वरिपरिका सबै छिमेकी बसाइँ सरे । हाम्रो त मधेसमा जग्गा जमिन छैन, यहाँ दुःख गरेर बस्नुको विकल्प पनि छैन,” उनले भनिन् ।


तुम्बेवा गाउँपालिका–१ आहालेका लालबहादुर घिसिङका अनुसार पानीको समस्या नै बसाइँसराइको मुख्य कारण बनेको छ । उनका अनुसार आहाले क्षेत्रमा २३ परिवारले नजिकको मुहान सुकेपछि पानीको समस्या भोगिरहेका छन् ।


“घण्टौँ लाइन बसेर पानी थाप्नुपर्छ । दिनमा चार–पाँच गाग्री मात्र पानी पाइन्छ । पानी थाप्नकै लागि अरू काम छोड्नुपरेको छ ।” उनले भने ।


कुनै समय बाक्लो बस्ती रहेको पाँचथरको तुम्बेवा गाउँपालिका–१ ढुकुरे अहिले भने सुनसान बन्दै गएको छ । आधाभन्दा बढी घर खाली भइसकेका छन् । कतिपय घर भत्किँदै गएका छन् भने खेतीयोग्य जमिन झाडीले ढाकिँदै गएको छ ।


ढुकुरे डाँडागाउँस्थित गर्भवती आधारभूत विद्यालय नजिकै कुनै बेला १३ परिवारको बसोबास थियो। अहिले विद्यालयमाथि कालुराम कार्की र तलपट्टि अर्को एक परिवार गरी जम्मा दुई परिवार मात्रै बसोबास गरिरहेका छन् ।


स्थानीय सामाजिक कार्यकर्ता कमलबहादुर कार्कीका अधिकांश छिमेकीले बस्ती छाडिसकेका छन् । उनी भने गाउँ छोडेर नजाने अठोटमा छन् । “मेरो घरछेउका पाँचवटा घरसहित एउटै गाउँबाट ११ घर बसाइँ सरे । बस्ती सुनसान भएको देख्न सकिन्छ । जङ्गलले ढाक्दै लगेको छ । बस्नेहरूमा भविष्यप्रतिको आशा पनि घट्दै गएको छ ।” उनले भने ।


उनका अनुसार बसाइँ सर्नुको मुख्य कारण पानी अभाव नै हो । “२०७४ सालदेखि वर्षा कम हुँदै गयो । त्यसपछि पिउने पानीका मुहान पनि सुक्दै गए । अहिले खानेपानीको हाहाकारजस्तै अवस्था छ ।” कार्कीले भने ।


गर्भवती आधारभूत विद्यालय आसपासबाट मात्रै ११ परिवार बसाइँ सरेका छन् । ढुकुरेको तल्लो गाउँबाट पनि सात घर बसाइँ सरिसकेको छ । कार्कीका अनुसार माथिल्लो डाँडागाउँ क्षेत्रबाट मात्र १७ घर बसाइँ सरेका छन् ।


“पहिले ६० भन्दा बढी घर भएको ढुकुरेमा अहिले करिब २५ परिवार मात्रै बाँकी छन्,” उनले भने, “सडक र विद्युत् सुविधा भए पनि खानेपानीको समस्या समाधान नहुँदा बसाइँसराइ रोक्न सकिएको छैन ।”


जमिन सुक्खा बन्दै जाँदा खेतीपाती घटेको छ भने आम्दानीका स्रोत पनि सुक्दै गएका छन् । आम्दानी नभएपछि जीविकोपार्जनका लागि पनि बसाइँ सर्नु बाध्यता बनेको स्थानीयहरू बताउँछन् ।


करोडौँ रुपैयाँ लगानीमा आङ्ना–मौवा बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण गरिएको छ । तर सबै क्षेत्रमा पानी वितरण हुन सकेको छैन ।


कमलबहादुर कार्की भन्छन्, “पम्पिङ खानेपानी जोडिएको छ । पानी आउने भनिएको पनि धेरै भयो, तर अझै सञ्चालनमा आएको छैन । चार ठाउँबाट पम्पिङ गरेर पानी माथि ल्याउनुपर्छ । कहिले विद्युत् अवरुद्ध हुन्छ, कहिले मेसिन बिग्रन्छ । गाउँपालिकाले सञ्चालन गर्ने भने पनि काम अघि बढेको छैन ।”


कालुराम कार्कीकी श्रीमती सरिता कार्कीलाई कुनै समय गुल्जार देखिने बस्ती अहिले खाली देख्दा अचम्म लाग्छ । “पहिले छरछिमेक थिए, दुःख–सुख साटिन्थ्यो । अहिले खाली घर देख्दा उदेक लाग्छ । दुःख भए पनि आफ्नै ठाउँको माया लाग्छ, त्यसैले छोड्न सकेका छैनौँ,” उनले भनिन् ।


आहालेका कुलबहादुर तामाङका अनुसार आङ्ना–मौवा बृहत् खानेपानी आयोजना स्थानीय तह निर्वाचनअघि नै उद्घाटन गरिएको थियो । अधिकांश ठाउँमा पाइपलाइन विस्तार भइसकेको छ र उपभोक्ताले धारा पनि जडान गरिसकेका छन्, तर पानी वितरण भएको छैन ।


तुम्बेवा–१ जोरसल्लेकी गङ्गामाया कार्की भन्छिन्, “ट्याक्टरमा पानी ल्याएर गुजारा गरिरहेका छौँ । ट्याक्टरले पनि भनेको बेला ल्याइदिँदैन, त्यो पनि खोलाकै पानी ल्याइदिन्छ ।”


तुम्बेवा–३ मौवा बजारका सीताराम थापाका अनुसार खानेपानीका लागि अझै पुराना मुहानकै भर पर्नुपरेको छ । ती मुहान सुक्दै जाँदा समस्या झन् बढ्दै गएको उनले बताए ।


आङ्ना–मौवा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्य राजकुमार देवानका अनुसार तमोर नदीको लखुवा दोभानस्थित बगरमा नयाँ सम्पवेल निर्माण भएपछि पम्पिङ प्रक्रिया सहज हुँदै गएको छ ।


“सम्पवेलमा पानी सङ्कलन राम्रो भइरहेको छ, तर वितरणमा समस्या छ,” उनले भने, “समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक छ । समितिसँग मर्मत र संरचना निर्माणका लागि पर्याप्त बजेट छैन ।”


उनका अनुसार गाउँपालिकाले बजेट छुट्याउने तयारी गरेको छ । “बजेट व्यवस्थापन भएमा समस्या समाधान हुने अपेक्षा गरेका छौँ ।” उनले भने ।


यी क्षेत्रको खानेपानी समस्या हरेक निर्वाचनमा प्रमुख मुद्दाका रूपमा उठ्ने गरेको छ। तर समाधान अझै हुन सकेको छैन । कुलबहादुर तामाङ भन्छन्, “चुनावअघि खानेपानी आउने भन्दै आयोजनाको उद्घाटन गरियो । तर अहिलेसम्म पानी आएको छैन । फेरि चुनाव आएर गयो, पानी अझै आएन ।”


यहाँबाट तमोर करिडोर सडक हुँदै करिब तीन घण्टामा धरान पुग्न सकिन्छ । विद्युत् सुविधा पनि पुगेको छ । ढुकुरेमै नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन निर्माण गरिएको छ । लखुवा दोभानदेखि गाउँपालिकाको केन्द्र मौवा बजारसम्म सडक कालोपत्रे हुने क्रम जारी छ । तर, विकासका पूर्वाधार विस्तार भइरहँदा पनि खानेपानी समस्या भने समाधान हुन सकेको छैन । विकासका पूर्वाधार गाउँसम्म पुगे पनि मानिसहरू भने गाउँ छाड्दै गएका छन् । खानेपानी अभावका कारण बस्ती बिस्तारै खण्डहर बन्दै गएको स्थानीयहरू बताउँछन् । राससको सहयोगमा