विजयपुर । सुर्खेतकी बालिका इनिशा बिकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा धरानमा खबरदारी ¥याली निकालिएको छ ।

शुक्रबार बाल सञ्जालको आयोजनामा धरानका नागरिक समाजले हिंसा र अपराधमुक्त समाजको माग गर्दै प्रदर्शन गरेका हुन् । ‘बलात्कार र हत्याका विरुद्ध हाम्रो आवाज’ भन्ने मूल नाराका साथ सडकमा उत्रिएका प्रदर्शनकारीहरूले दोषीलाई कडा कारबाही र पीडितलाई न्यायको माग गरेका छन् । प्रदर्शनका क्रममा सहभागीहरूले बोकेको मुख्य ब्यानरमा ‘खबरदारी ¥याली’ लेखिएको थियो, जसमा विशेष गरी निर्दोष बालिकालाई न्याय दिन र अपराधीलाई कडा कानुनी दायरामा ल्याउन जोड दिइएको छ । निर्दोष बालिकालाई न्यायः पीडित बालिका र उनका परिवारलाई न्याय दिलाउन राज्यसँग माग गरिएको छ ।

दोषीलाई कडा कारबाहीः बलात्कार र हत्या जस्ता जघन्य अपराधमा संलग्नलाई कडाभन्दा कडा सजायको व्यवस्था हुनुपर्ने ¥यालीका सहभागीले माग गरेका छन् । ¥यालीमा सहभागीले सुरक्षित समाज, महिला तथा बालबालिकाका लागि हिँडडुल गर्न र बाँच्न पाउने सुरक्षित वातावरणको ग्यारेन्टी गर्न माग गरे । 

¥यालीमा सहभागी युवाहरूले हात–हातमा ‘स्टप रेप’, ‘वी वान्ट जस्टिस’, र ‘बलात्कारीलाई फाँसी दे’ जस्ता प्लेकार्डहरू बोकेका थिए । चतरालाइनस्थित धरान उपमहानगरपालिका कार्यालय अगाडिबाट निकालिएको ¥याली छाताचोक हुँदै भानुचोक बजार क्षेत्र परिक्रमा गरेको छ । बढ्दो हिंसात्मक घटनाले समाजमा असुरक्षा बढाएको भन्दै प्रदर्शनकारीहरूले सरकार र सरोकारवाला निकायलाई मूकदर्शक नबन्न चेतावनी दिएका छन् ।