विजयपुर । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेको मापदण्डभन्दा नेपालमा वायु प्रदूषण आठ गुणासम्म बढी पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार नेपालमा वायु प्रदूषणको मात्रा डब्लुएचओले निर्धारण गरेको सुरक्षित मापदण्डभन्दा आठ गुणा माथि पुगेको हो । उनका अनुसार बिहीबार नेपालमा वायु गुणस्तर सूचक १८५ सम्म पुगेको थियो, जुन स्वास्थ्यका लागि अस्वस्थ मानिन्छ ।
डब्लुएचओको मापदण्डअनुसार स्वास्थ्यका लागि हानिकारक मानिने सूक्ष्म कणको वार्षिक औसत मात्रा प्रतिघनमिटर पाँच माइक्रोग्रामभन्दा बढी हुनुहुँदैन । सूक्ष्म कण त्योभन्दा कम भएमा हावामा तैरने र श्वासप्रश्वास प्रक्रिया मार्फत फोक्सोसम्म पुग्ने गरेको डा. बुढाथोकीले बताए । उनले भने, ‘नेपालमा डब्लुएचओको मापदण्डभन्दा बढी नै प्रदूषण छ ।’
वायु गुणस्तर सूचक ० देखि ५० सम्म स्वस्थ, ५१ देखि १०० सचेत, १०१ देखि १५१ सम्म जोखिम समूह (ज्येष्ठ नागरिक, दीर्घरोगी र बालबालिका) का लागि हानिकारक मानिन्छ । वायु गुणस्तर सूचक १५१ भन्दामाथि भएमा अस्वस्थ्य मानिन्छ । यसलाई डब्लुएचओको मापदण्डभित्र पुर्याउन सके हरेक वर्ष नेपालीको आयु तीन दशमलव तीन वर्षले बढ्ने अनुमान छ ।
वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । मन्त्रालयका प्रवक्ता बुढाथोकीका अनुसार जसमध्ये २१ प्रतिशत पाँच वर्षमुनिका बालबालिकाको मृत्यु हुने गरेको छ । वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी दम, मुटुरोग तथा हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर र स्मरणशक्ति कमजोर हुने समस्या देखिने गरेको उनले बताए ।
प्रदूषणका कारण बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिनु, मुटुसम्बन्धी रोग हुने सम्भावना बढ्नु, शिशु बिरामीदर बढ्नु, बाल्यकालमा क्यान्सरको जोखिम हुनु, मस्तिष्क विकासमा ढिलाइ र असामान्य व्यवहार देखिनु, कुपोषण देखिनु जस्ता समस्या पनि देखिने गरेका विज्ञहरूले बताउने गरेका छन् । यस्तै, कम तौलको बच्चा जन्मिनु, रक्तअल्पता हुनु, बाँझोपन हुनु, गर्भकालीन मधुमेह हुनु, मानसिक स्वास्थ्य समस्या देखिनु जस्ता समस्या आउने गरेका छन् । वायु प्रदूषण सवारीसाधनबाट निस्केको धुँवा, औद्योगिक उत्सर्जन, खुला रूपमा फोहोर तथा जैविक पदार्थ जलाउँदा निस्कने धुँवा, सडक र निर्माण कार्यको धुलो, वन डढेलो र किटनाशक तथा विषादीको प्रयोगलगायतबाट हुने गरेको छ ।
































