धरान । सुनसरीको धरान–१५ स्थित शिक्षा सदन मा.वि.ले ७० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार मनाएको छ ।
स्कुलले विभिन्न प्रदर्शनी तथा मनोरञ्जनात्मक कार्यक्रम गर्दै वार्षिकोत्सव सम्पन्न गरेको हो । कार्यक्रममा विद्यार्थीहरूले गणित तथा विज्ञान प्रदर्शनी, खानेकुराको प्रदर्शनी, उच्च रक्तचाप तथा मधुमेहको जाँचलगायत नृत्य, गायन गरी कार्यक्रम गरी सम्पन्न गरेका छन् ।
कार्यक्रममा बालकक्षादेखि कक्षा १२ सम्म प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरूलाई प्रमाण–पत्र प्रदान गरिएको छ । विद्यालय प्रथम हुन सफल कक्षा २ की दोर्जी तामाङलाई विशेष सम्मान गरिएको स्कुलका शिक्षक कृष्णप्रसाद सापकोटाले जानकारी दिए । उनी कक्षा १ बाट कक्षा २ मा जाँदा ९५ दशमलव ७ प्रतिशत ल्याउँदै विद्यालय प्रथम भएकी थिइन् ।
यस्तै विभिन्न दाताहरू (ट्रष्टी) ले राखेका विभिन्न छात्रवृत्ति पुरस्कार पनि वितरण गरिएको छ । स्कुलका प्रधानाध्यापक अशोक पोखरेलका अनुसार १३ जना दाताहरूले स्थापना गरेको छात्रवृत्ति विभिन्न विद्यार्थीहरूलाई प्रदान गरिएको छ । यसमध्ये सबैभन्दा बढी १० हजार रुपैयाँ बराबरको गोपालप्रसाद कायस्थ छात्रवृत्ति कक्षा १० की सृष्टि राईलाई प्रदान गरिएको छ । विद्यालयका प्रधानाध्यापक अशोक पोखरेलले उक्त छात्रवृत्ति प्रदान गरेका थिए ।
दाताहरूको तर्फबाट अनुपस्थित भए पछि प्रअले नै छात्रवृत्ति प्रदान गरेको शिक्षक सापकोटाले जानकारी दिए । स्कुलमा विष्णुकुमारी कट्वाल स्मृति छात्रवृत्ति, भोलाकृष्ण मार्सेल तथा जेहेन्दार छात्रवृत्ति, लोकलक्ष्मी स्मृति गरिब तथा जेहेन्दार छात्रवृत्ति, नारायाणगोविन्द जेहेन्दार छावृत्ति, विष्णुमाया श्रेष्ठ स्मृति गरिब तथा जेहेन्दार छावृत्ति, हाङजित देवान स्मृति गरिब तथा जेहेन्दार छात्रवृत्ति, नरसिंह पौडेल स्मृति जेहेन्दार छात्रवृत्ति, जनी राई छात्रवृत्ति, एसएलसी ब्याज २०५७ छावृत्ति, चन्द्रमणि अधिकारी स्मृति छात्रवृत्ति, लोकबहादुर, तीर्थकुमारी÷दिलकुमारी, सीतादेवी कर्माचार्य छात्रवृत्ति र गोपालप्रसाद कायस्थ स्मृति छात्रवृत्ति रहेका छन् । उक्त छात्रवृत्तिबाट कुल ३९ जनालाई छात्रवृत्ति प्रदान गरिएको छ । छात्रवृत्ति रकम एक हजार रुपैयाँदेखि माथि १० हजार रुपैयाँसम्म रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व सभामुख प्रदीप भण्डारी, जिल्ला शिक्षा समन्वय समितिका एकाइ प्रमुख देवेन्द्रबहादुर मल्ल, निवर्तमान प्रअ अमरबहादुर बस्नेत, पञ्चकन्या मा.वि.का प्रधानाध्यापक खेमचन्द्र सुवेदीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् पूर्व प्रधानाध्यापक अम्विकाप्रसाद सम्बाहाङ्फेलगायतले प्रदान गरेका थिए ।
































