विजयपुर । भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म ‘पानी बोट’ सञ्चालन भएपछि हतुवागढी–तराई आवागमन सहज बनेको छ ।
जलयात्रामार्फत धरान, इटहरी, विराटनगरलगायत तराईका सहरसँग दक्षिणी भेगका नागरिकको दूरी छोटिएको छ । दूधकोशी र अरुणजस्ता ठूला नदीमा पुल नहुँदा वर्षौँदेखि स्थानीयवासी आवतजावतमा समस्या झेल्दै आएका थिए । अहिले अरुण नदीमा बोट सञ्चालन भएपछि दैनिक यात्रामा सहजता आएको छ ।
बोट सञ्चालन भएपछि तराईका सहर पुगेर सोही दिन घर फर्किन सकिने अवस्था बनेको स्थानीय इन्द्र थापाले बताए । भिरालो बाटो हुँदै तीनदेखि चार घण्टा पैदल हिँडेर चतरा पुग्नुपर्ने बाध्यता रहेको अवस्थामा जलयात्राले निकै सहज बनाएको उनको भनाइ छ । जलमार्गबाट करिब १९ किलोमिटर दूरी २० देखि २५ मिनेटमै पार गर्न सकिनेछ ।
‘बोट सञ्चालनले दक्षिणी भेगका नागरिकलाई ठूलो राहत मिलेको छ’ उनले भने, ‘सडकमार्गबाट यात्रा गर्न नदीमा पुल नहुँदा समस्या छ । अहिले जलयात्रामार्फत एकैदिनमा तराईका सहर पुगेर फर्किन सक्ने वातावरण बनेको छ ।’
बराह क्षेत्रसम्म जलयात्रा गरेको ५०० रुपैयाँ भाडा लाग्छ । अरुण नदीमा पानी जेटबोट सञ्चालन भएपछि बिरामीलाई छिट्टै तराईका ठूला अस्पतालमा पुर्याउन पनि सहज भएको स्थानीय मिलन राईले बताए । हतुवागढीबाट भोजपुर सदरमुकाम हुँदै लेगुवा–हिले–धनकुटा भएर तराई झर्न करिब २०० किलोमिटर दूरी पार गर्नुपर्ने भएकाले दक्षिणी भेगका नागरिकका लागि जलमार्ग निकै उपयोगी बनेको उनको भनाइ छ ।
‘हामी दक्षिणी क्षेत्रका नागरिकलाई भोजपुर सदरमुकाम हुँदै यात्रा गर्दा दूरी धेरै लामो पथ्र्यो”, राईले भने, ‘अहिले बिरामी हुँदा छिट्टै उपचारका लागि सहर पुग्न सकिने भएको छ । यसले स्थानीयलाई प्रत्यक्ष लाभ पुगेको छ ।’
बोट सञ्चालनले भोजपुर, धनकुटा र सुनसरीलाई पूर्वी तराईसँग जोड्न थप सहज भएको हतुवागढी गाउँपालिकाले जनाएको छ । जलयात्रालाई पर्यटनसँग समेत जोड्ने लक्ष्यका साथ पर्यटन पूर्वाधार विकासमा गाउँपालिका जुटिरहेको अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।
हतुवागढी क्षेत्रबाट तराईका जिल्लासँगको दूरी छोटो पर्ने भएकाले यसले यहाँको विकासमा टेवा पुग्ने अध्यक्ष राईको भनाइ छ । ‘पानी जेटबोट सञ्चालनले यहाँका नागरिकलाई धेरै सहज भएको छ’ अध्यक्ष राईले भने, ‘दूधकोशी र अरुणजस्ता ठूला नदीमा पुल निर्माण ढिलाइ हुँदा सवारी आवतजावतमा समस्या छ । जलयात्रालाई पर्यटनसँग जोडेर विकासका काम अघि बढाइरहेका छौँ ।’रासस
































