विजयपुर । सुनसरी क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य हर्कराज राई (साम्पाङ) ले समानुपातिक प्रतिनिधित्वका विषयमा विवाद गर्नेलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका छन् ।

साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीमा समानुपातिक प्रतिनिधित्वका विषयमा सामाजिक सञ्जालमा दाबी–विरोध देखिएपछि उनले फेसबुकमै चेतावनीसहितको उर्दी जारी गरेका हुन् । सामाजिक सञ्जालमा पार्टी समर्थित समला राईको अभिव्यक्ति भाइरल भएपछि साम्पाङ तात्तिएका हुन् । श्रम संस्कृति पार्टी निर्माण र श्रम अभियानलाई सुरुवातदेखि नै समर्पित भएर सहयोग गरेको समलाले भिडिओमा बताएकी छन् । उनले समानुपातिकमा आफ्नो प्रतिनिधित्व नभए आफूलाई अन्याय हुने बताएकी छन् । समलाको भिडिओ भाइरल भएपछि हर्क साम्पाङले आफ्नो ‘टाउको खाएको’ उल्लेख गरेका छन् ।

उक्त विषयमा बिहीबार दुई वटा 'स्टाटस' लेखेका साम्पाङले पहिलो 'स्टाटस' मा ‘भात खाऊ, मेरो टाउको नखाऊ’ लेखेका छन् । दोस्रो ‘स्टाटस’ मा हदै भएको भन्दै रोइलो (एक चरणमा आठ वा बाह्र मात्रा हुने एक प्रकारको चुड्के लोकगीत÷रुवानी) नगर्न चेतावनी दिएका छन् । साम्पाङले लेखेका छन्– 'अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने छु ! हद भो !!!' भनेका छन् ।

हर्क साम्पाङले यसअघि दुई उपाध्यक्षमाथि कारबाहीको डण्डा चलाएका थिए । प्रहरी हिरासतमा रहेका पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई निलम्बन गरेका उनले बुटवलमा आयोजित एक कार्यक्रमपछिको विवादमा पार्टीका अर्का उपाध्यक्ष डा. मित्र परियारलाई पार्टीबाट निकालेका थिए ।