धरान । बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको कलेज अफ नर्सिङमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याव स्थापना गरिएको छ । नर्सिङ शिक्षालाई अझ व्यावहारिक र गुणस्तरीय बनाउने उद्देश्यका साथ स्थापना गरिएको उक्त ल्यावको उद्घाटन प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले गरेका छन् । 

उद्घाटन कार्यक्रममा प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौला, शैक्षिक डीन प्रा.डा. अनुप घिमिरे, परीक्षा डीन प्रा.डा. अञ्जु प्रधान, कलेज अफ नर्सिङका चिफ प्रा. रमानन्द चौधरी, मेट्रोन कला थापालगायत विभागीय प्रमुख, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

नयाँ स्थापना गरिएको स्किल्स ल्यावमा बिरामी हेरचाहसँग सम्बन्धित प्रायोगिक अभ्यासका सामग्रीहरू राखिएका छन् । ल्यावमा मानिसको अस्थिपञ्जर प्रणालीको मोडेल, म्यानिकिन, आधुनिक उपकरण तथा सिमुलेसन सामग्रीलगायत नर्सिङ केयरका लागि आवश्यक उपकरणहरू समावेश गरिएको छ ।

कार्यक्रमका क्रममा उपकुलपति श्रेष्ठसहित उपस्थित पदाधिकारीहरूले ल्यावको निरीक्षण गरेका थिए । मेडिकल सर्जिकल, चाइल्ड हेल्थ, मेटर्नल हेल्थ तथा साइकियाट्रिक नर्सिङ विभागका शिक्षकहरूले आफ्नो विभागअन्तर्गतका सामग्रीबारे जानकारी गराएका थिए ।