विराटनगर । विराटनगर–१२ कामत चोककी ६५ वर्षीया कमली सहनी बिहीबार बिहानैदेखि छट्पटीमा थिइन् । घरमा नातिनमतिनीका लागि खाजा पकाउँदा–पकाउँदै अचानक ग्यास सकिएपछि उनी घरनजिकैको ग्यासको डिलरमा हतार हतार रित्तो सिलिन्डर सिटी सफारीमा हालेर आइपुेगकी थिइन् ।
विराटनगर–११ स्थित बिके सप्लायर्सको सटरअगाडि पुग्दा कमलीले अझ ठूलो तनाव झेलिन् । त्यहाँ उनीजस्तै रित्तो सिलिन्डर कुरेर बस्नेहरूको लामो लस्कर थियो । “ग्यासको गाडी दिउँसो आउँछ भनेका छन्, त्यसैले दुई घण्टादेखि सटर कुरेर बसेकी छु” रित्तो सिलिन्डर देखाउँदै उनले भनिन्, “अरूबेला यस्तो हुन्थेन, अहिले के भएर अभाव भएको हो ? घरमा नातिनातिनी भोकै होलान् भन्ने चिन्ता छ ।”
पाँच घण्टाको व्यग्र प्रतीक्षा र भीडभाडबीचको ठेलमठेलपछि बल्ल उनले एउटा सिलिन्डर हात पारिन् । तर यो सास्ती कमलीको मात्र होइन । विराटनगर–१२ की राधा कामत पनि बिहानैदेखि लाइनमा थिइन् । तीन घण्टा लामबद्ध भएपछि मात्र उनले घरको चुल्हो बाल्ने जोहो गर्न पाइन् । “दिउँसो ग्यास आउने सुनेर बिहानै आएकी हुँ” उनले भनिन्, “यसरी लाइन बस्नुपर्दा निकै सास्ती भयो ।”
टोकन प्रणालीबाट ग्यास वितरण
विराटनगर–११ पिछरास्थित कोशी ग्यासको बिक्री केन्द्रमा बिहीबार दिनभरि नै भीडभाड थियो । दिउँसो साढे १२ बजे ग्यासको गाडी आइपुग्दा उपभोक्ताको भीड थामिनसक्नु थियो । भीड नियन्त्रण गर्न सप्लायर्सका सञ्चालक वीरेन्द्र कार्कीले टोकन प्रणाली नै लागू गर्नुप¥यो । “भीडभाड धेरै हुने भएपछि सहजताका लागि १ सय ५० वटा टोकन वितरण गरेका थियौँ” कार्कीले भने, “माग धेरै छ, आपूर्ति कम । दुई दिनअघि आएको ३ सय सिलिन्डर एकैछिनमा सकियो । अहिले आएको १ सय ५० सिलिन्डर पनि एक घण्टामै रित्तियो ।”
अभाव कि त्रास ?
इरान र अमेरिकाबीचको बढ्दो तनावका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको सङ्कट हुनसक्ने हल्लाले विराटनगरका भान्सासम्म प्रभाव पारेको छ । छिमेकी देश भारत, बङ्गलादेश र पाकिस्तानमा ग्यासको सङ्कट देखिन थालेको अपुष्ट समाचारले उपभोक्तामा त्रास सिर्जना गरेको हो ।
भारतबाट समयमा ग्यास ढुवानी नहुँदा बजारमा केही चाप देखिएको व्यवसायीहरूको दाबी छ । यता, सरकारी निकायले भने बजारमा ग्यासको कुनै वास्तविक अभाव नरहेको दाबी गर्दै आएको छ । नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगरका प्रमुख पुष्कर कार्कीले कोशी प्रदेशमा ग्यासको अभाव नभएको बताए । उनले यसलाई कृत्रिम अभावको संज्ञा दिँदै भने, “उद्योगबाट पर्याप्त ग्यास बजारमा गइरहेको छ । डिलरहरूबाट केही बदमासी भएको हुनसक्छ, हामी यसबारे अनुसन्धान गर्दैछौँ ।”
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले पनि बजारमा ग्यास लुकाइएको हुनसक्ने आशङ्का गरेका छन् । “आयल निगमले ग्यास पर्याप्त छ भनेको छ, तर बजारमा उपभोक्ताले सास्ती पाइरहेका छन्” उनले भने, “हामी तत्काल बैठक बसेर अनुगमनमा निस्कन्छौँ । यदि कसैले कृत्रिम अभाव सिर्जना गरेको वा ग्यास लुकाएको पाइए तत्काल कारबाहीको दायरामा ल्याउँछौँ ।”
सरकारी तथ्याङ्कले ग्यास पर्याप्त देखाए पनि डिपोअगाडि सर्वसाधारणको घण्टौँ लामो लाइनले आपूर्ति व्यवस्थापनमा गम्भीर प्रश्न उठाइदिएको छ । स्थानीय प्रकाश अधिकारी भन्छन्, “डिलरमा जाँदा ग्यास छैन भन्छन्, आयल निगम पर्याप्त छ, भन्छ । त्यसो भए ग्यास कहाँ जान्छ ? प्रशासनले अनुगमन गरेर कालोबजारी गर्नेलाई कारबाही गर्नुपर्छ ।”
कोशी ग्यास प्रा.लि.का जेनेरल मेनेजर सचित उपाध्यायका अनुसार कोशी ग्यासको दैनिक ८ हजार २ सय ७९ सिलिन्डर बजारमा गइरहेको छ । “अन्तर्राष्ट्रिय बजारमा सङ्कट आउने हल्लाका कारण उपभोक्ताहरूले आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित (स्टक) गर्न थालेका छन्” उनले भने, “डिलरमा पुग्नेबित्तिकै ग्यास सकिनुको मुख्य कारण यही हो । उपभोक्ताले आवश्यकताअनुसार मात्र प्रयोग गरे अभाव हुँदैन ।”
































