विजयपुर । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट उम्मेदवार बनेका ठूला तथा स्थापित दलका केही उम्मेदवारहरू आफ्नै वडामै ‘कमजोर’ देखिएका छन् ।

हालै सार्वजनिक भएको मत परिणामअनुसार धरान–१७ का निवर्तमान वडाध्यक्ष तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार बनेका सूर्यबहादुर (मनोज) भट्टराई आफ्नै वडामा पछि परेका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट धरानका २० वडामध्ये एक मात्र वडाध्यक्षको रूपमा भट्टराई धरान–१७ बाट निर्वाचित भएका थिए ।

२०७९ को स्थानीय तह निर्वाचनमा उनले अघिल्लो पटकभन्दा बढी मत ल्याउँदै पुनः दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका थिए । दोस्रो कार्यकाल सुरु भएपछि उनको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसँग सम्बन्ध बिग्रिँदै गएको थियो । नगर प्रमुख राईका कतिपय नीतिको उनले खुलेर विरोध गर्दै आएका कारण उनी राष्ट्रिय स्तरमै चर्चामा आएका थिए । 

यही पृष्ठभूमिमा नेकपाले उनलाई फागुन २१ गते सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको थियो । तर यसपटक भने उनी आफ्नै वडामा कमजोर देखिए । निर्वाचन परिणामअनुसार धरान–१७ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राईले तीन हजार ४ सय ५ मत प्राप्त गर्दै दुई हजार १ सय ५७ मतको अग्रता कायम गरे ।

भट्टराईले भने एक हजार २ सय ४८ मत मात्रै प्राप्त गरे । सुनसरी क्षेत्र नं. १ को धरानलाई कम्युनिष्टहरूको गढ मानिने गरिन्थ्यो । ‘लौरो उठाउँदा पनि निर्वाचन जितिन्छ’ भन्ने भाष्य स्थापित भएको थियो । तर यसपटकको निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार टिकाराम माङ्ले लिम्बूले जमानत त जोगाउन सकेनन् ।

उनले आफू रहेको वडामा समेत निकै न्यून मत पाए । उनले एक सय ४८ मत मात्रै प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले ४ सय ५७ मत प्राप्त गरिन् । सोही वडामा श्रम संस्कृति पार्टीका राईले ९ सय ३४ मत प्राप्त गरे ।

यता नेपाली काङ्ग्रेसका उम्मेदवार सुजेन्द्र तामाङ पनि आफ्नै वडामा अलोकप्रिय देखिएका छन् । धरान–१५ निवासी तामाङले आफ्नै वडामा चार दलभन्दा कम मत प्राप्त गरे । धरान–१५ मा श्रम संस्कृति पार्टीका हर्कराज राईले ४ हजार ५ सय ७५ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले २ हजार ५८ मत प्राप्त गरिन् । नेकपाका भट्टराईले ६ सय ५ मत प्राप्त गरे भने काङ्ग्रेसका तामाङले २ सय ३४ मत मात्रै पाए ।

समानुपातिकमा काङ्ग्रेस–एमालेलाई पनि जित्यो हर्कको पार्टीले

२०७९ को निर्वाचनमा कोशी प्रदेशमा पहिलो–दोस्रो बनेको नेपाली काङ्ग्रेस र नेकपा (एमाले) को समानुपातिक मत परिणाम यस पटक सोचेभन्दा बाहिर आएको छ । यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भन्दा पछाडि पाँच महिना अगाडि निर्माण भएको पार्टी श्रम संस्कृति पार्टी समानुपातिकतर्फ कोशी प्रदेशमा दोस्रो बनेको छ ।

हर्कराज राई (साम्पाङ) को पार्टीले दुई लाख ९२ हजार ४९ समानुपातिक मत प्राप्त गरेको छ । यो मत नेपाली काङ्ग्रेसको भन्दा एक हजार चार सय ८७ ले बढी हो भने एमालेभन्दा तीन हजार ८ सय ६३ ले बढी हो । रास्वपाले आठ लाख ५३ हजार एक सय ८३ मत प्राप्त गरी कोशी प्रदेशमा पहिलो बनेको छ ।