विजयपुर । वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी इनिसा विश्वकर्माको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कारबाही गर्न माग गरिएको छ ।

बिहीबार विश्वकर्मा कल्याण सेवा समिति धरानले विज्ञप्ति जारी गर्दै घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेको हो । इनिशा बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गरी देशव्यापी आवाज उठिरहेको सन्दर्भमा समितिले कारबाही माग गरेको हो ।

समितिका अध्यक्ष घमानसिंह बराइली र महासचिव बलिन्द्र बराइलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त जघन्य घटनाको भत्र्सना गर्दै निष्पक्ष र गहन अनुसन्धान गरी दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरिएको छ ।

विज्ञप्तिमा पीडित परिवारलाई यथाशीघ्र न्याय दिनुपर्ने उल्लेख गर्दै अनुसन्धानमा ढिलासुस्ती, लापरवाही वा दोषीलाई जोगाउने प्रयास भएमा समिति न्यायका लागि आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको छ । यस्तै, घटनामा संलग्नलाई उन्मुक्ति दिने प्रयास गरिए देशव्यापी रूपमा दलित आन्दोलन चर्किने चेतावनी दिँदै त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी राज्यले लिनुपर्ने समितिले जनाएको छ ।

मृतक इनिसा पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी थिइन् । उनी फागुन २३ गते बिहान ट्युशन जाने भन्दै घरबाट निस्किएकी थिइन् । घरबाट निस्किएको केही समयपछि उनी जनजागरण सामुदायिक वन, वीरेन्द्रनगर–४ मा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनलाई तत्काल प्रदेश अस्पताल कालागाउँ पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्न रहेको आरोपमा वीरेन्द्रनगरकै चार जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरू सबै १८ वर्षमुनिका नाबालक रहेको बताइएको छ । मृतकका आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका छन् । पोस्टमार्टम रिपोर्ट र पीडकको बयानका आधारमा प्रहरी बलात्कारपछि हत्या भएको निष्कर्षमा पुगेको जनाएको छ । रिपोर्टमा जबरजस्ती करणीपछि मृतकको संवेदनशील अंगमा गम्भीर चोट लागी अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको देखाएको छ ।