धरान । अमेरिकाको वासिङ्टन राज्यका लागि नेपालका वाणिज्य दूत एसी (आङछिरिङ) शेर्पाले चुनावको मौन अवधिमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईलाई भेटेको विषयले बजार तातिएको छ । 

यस विषयमा सुनसरी जिल्लास्थित निर्वाचन आयोगको कार्यालयमा निवेदन पनि परेको थियो । वाणिज्यदूत शेर्पाले मौन अवधिमा भेटेको विषयमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आयोगमा उजुरी दिएको थियो । उनले मौन अवधिमा पार्टीलाई रकम सहयोग गरेको भन्ने बजारमा हल्ला आएको थियो । अमेरिकी नागरिकता भएका शेर्पा फागुन १८ गते धरान–१५ स्थित मेरिकन होटलमा बसेका थिए । 

उनी उक्त होटलमा बसेको जिल्लास्थित सुरक्षा निकायहरूले पुष्टि गरेका छन् । उनले उक्त समयमा अध्यक्ष हर्कराज राईलाई भेटेका थिए । उक्त भेटका तस्बिरहरू उनले सामाजिक सञ्जालमा समेत सार्वजनिक गरेका छन् । मौन अवधिमा निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै नेकपाको निर्वाचन परिचालन कमिटीले उजुरी दिएको थियो । निर्वाचन परिचालन कमिटीका संयोजक रहेका पूर्व सभासद् किरणकुमार राईले भने, “हामीले चलखेल भयो भनेर निर्वाचन आयोगलाई फागुन २० गते उजुरी दिएका थियौँ । कारबाही अगाडि बढेको विषयमा हामीलाई केही जानकारी आएन । अब त चुनाव पनि सकियो, त्यो बेला गर्नुपर्ने हो ।”

उक्त विषयमा सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले घटनाको छानबिन गरेको र आरोप लागेजस्तो गतिविधिमा संलग्न भएको नभेटिएको बताए । “उक्त मान्छेको विषयमा छानबिन र बुझ्ने काम भयो । आरोपअनुसार ऊ इन्भल्भमेन्ट भएको देखिएन”–उनले फोनसम्पर्कमा भने ।

 यो विषयमा धरानभित्र व्यापक चर्चा भएको थियो । शेर्पाले मोटो रकम बुझाएको र केही वडाहरूमा उनी स्वयम् पनि उपस्थित भएको आरोप लाग्दै आएको छ । प्रहरीले अनुसन्धान थालेपछि भने उनी मेरिकोन होटल छाडेर अर्कै होटलमा बस्न पुगेको स्रोत बताउँछ । 

प्रजिअ घिमिरेले घटनाबारे छानबिन गर्नका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी केशवसिंह थेबेलाई निर्देशन दिएका थिए । उक्त निर्देशनअनुसार प्रहरी परिचालन गरी शेर्पा बसेको होटलमा प्रहरी टोली पुगेको थियो । होटल पुग्दा उनी त्यहाँबाट निस्किसकेको जानकारी प्रहरीले प्राप्त गरेको थियो । 

निवेदनमा शेर्पा अमेरिकी नागरिक र नेपाल सरकारको वाणिज्य दूतसमेत रहेकाले आचारसंहिता उल्लङ्घन भएको आरोप लगाइएको थियो । निवेदनमा कारबाही गर्न माग गरिएको थियो । यता यस विषयमा श्रम संस्कृति पार्टीले कुनै पनि प्रतिक्रिया सार्वजनिक गरेको छैन । श्रम संस्कृति पार्टीले पनि उनीसँगको तस्बिरहरू सार्वजनिक गरेको छैन । 

सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा शेर्पा धरान आएको र पार्टीका नेताहरूसँग भेटघाट गरेको देखिन्छ । शेर्पाको टोलीलाई पार्टीका नेतृ मीना सिङ्घकले श्रम संस्कृति पार्क घुमाएको भिडियोहरू सामाजिक सन्जालमा राखेकी थिइन् । शेर्पाले पनि आफ्नो फेसबुकमा तस्बिरहरू राखेका थिए । उनको स्थायी घर सोलुखुम्बु हो । 

उनले सामाजिक सञ्जालमा मङ्गोलियनहरू एक हुनुपर्छ भन्दै कमेन्टसमेत लेखेको भेटिएको छ । उनलाई श्रम संस्कृति पार्टीले पुस २३ गते प्रवास संयोजकमा पनि नियुक्त गरेको थियो ।