२०२६ वैशाख १५ मा फिक्कल बजार इलाम (हाल सूर्योदय नगरपालिका–१०) मा  जन्मिएका हुन् लेखु विवस । निम्न माध्यमिक तहसम्मको अध्ययन इलाममै गरेका उनलाई गीत सङ्गीतले नै तानेर माध्यमिक तह र उच्चशिक्षा लिन काठमाडौँ पु¥यायो । सानैदेखि गीतसङ्गीतमा लगाव राख्ने विवस गाउँघरमा गीत गाउँथे । स्कुले जीवनमा पनि गीत गाए । उनले २०४७ सालदेखि गायकीलाई नै पेसा बनाए । उनै विवससँग वर्तमान गीतसङ्गीतमा भएका विकृति, विसङ्गति, चुनौती र अवसरका विषयमा आधारित रहेर ब्लाष्टले गरेको कुराकानीको सम्पादित अंशः

कहिलेदेखि औपचारिक गीत गाउन सुरु गर्नुभयो ?
–रेडियो नेपालबाट २०४७ सालमा ‘भ्वाइस टेष्ट’ पास गरेपछि गायकीको यात्रा सुरु भयो । त्यसपछि रेडियोमा गीत रेकर्ड पनि गरेँ । मैले रेष्टुरेण्टमा गजल, गीत गाएँ । स्कुलमा प्रशिक्षकको रूपमा पनि काम गरेँ । २०४८ सालदेखि भने यसलाई पेसाका रूपमा अवलम्बन गरे ।

पहिलो गीत कुन हो ?
–‘कुन सहरमा घुम्दै होला मलाई छुने मन, जहाँ जहाँ जान्छु, त्यहीँ लाग्छ नयाँपन’ मेरो पहिलो गीत हो ।

अहिलेसम्म कति गीत गाउनुभयो ?
–मैले दुई दर्जनभन्दा माथि गीत गाएँ ।

गीत सङ्गीत उद्योगमा के ले तान्यो ?
–मेरो जन्मस्थानको प्राकृतिक बनोट र वातावरणले पनि सङ्गीततिर उन्मुक्त गराउँथ्यो । त्यहाँको समाज, सामाजिक वातावरण र परिवार, सामाज, छिमेकी एवम् शिक्षकको प्रेरणाले यस क्षेत्रमा लागियो ।

तपाईं आफूलाई के भन्न रुचाउनु हुन्छ ?
–खासमा म सङ्गीतकार, रचनाकार होइन, म ‘भोकलिष्ट’ हो । म गायक मात्रै हो । गीतकार, सङ्गीतकारभन्दा पनि गायक भन्न रुचाउँछु ।

कस्ता गीत गाउनुहुन्छ ?
–मैले आधुनिक गीत नै गाएँ । हाम्रो मसयमा आधुनिक गीतको क्रेज थियो । भर्खरै नारायण गोपालको देहावशान भएको थियो । दर्शक श्रोताले आधुनिक गीत रुचाउँथे । सेण्टिमेण्टल गीतहरू गाएँ ।

आधुनिक गीत, सङ्गीतको चाम घटेको हो ?
–केही कमी भएको हो । सस्ता गीतहरू आए । सस्ता गीतहरूले बजार लिइरहेको छ । यसको अर्थ हाम्रा पालाका गीत महँगो हुन्थ्यो भन्न खोजेको पनि होइन । तर, समग्रमा एकछिन सुनो, सकिन्छन् । हाम्रा पालाका गीतले मन हल्लिन्थ्यो भने अहिलेका गीतले शरीर हल्लिन्छ । हृदय हल्लिने गीत नै राम्रो होलाजस्तो लाग्छ । दुःखका गीतहरू करुणामय, यथार्थवादी हुन्छन् ।

आधुनिक गीतको चाम किन घट्यो ?
–सिर्जनामा फरकपन ल्याउनुप¥यो । त्यो गायकले गर्ने होइन, सङ्गीतकारले गर्ने हो । एक समय वरिष्ठ सङ्गीतकारको उदय भएको थियो । गोपाल योञ्जनदेखि लिएर नारायण गोपाल स्वयम् गीत बनाउनुहुन्थ्यो । गीतलाई फरकपन भए मात्रै कालजयी बन्न सक्छ । नेपाली माटोमा सुहाउने गीत आउनुपर्यो । त्यो नभएकाले पनि घटेको हो ।

२०४७–४८ तिर र अहिले के फरक पाउनुहुन्छ ?
–पहिला आधुनिक गीतको जमाना थियो । अहिले पप, इङ्लिस टाइपका गीतहरू आए । मलाई दुःख पनि लागेको छ । सङ्गीतको विकास उच्छृङ्खल तरिकाले भइरहेको छ । भारतमा पनि पप सङ्गीत छ । अत्याधुनिक गीत पनि छ । तर, शास्त्रीय त्यहाँको संस्कार र संस्कृतिहरूमा भेटिन्छ । नेपालमा चाहिँ सङ्गीतकारहरूले गल्ती गर्नुभयो । एकदम पश्चिमा मात्र सङ्गीत भिœयाइहाल्नुभयो । पाश्चात्य सङ्गीतलाई पप बनाइदिने गरेर हाम्रो सङ्गीत बिर्सनुभयो । आफ्नो विशेषता त छोड्नु भएन नि । त्यसैले नेपाली गीत सङ्गीतको विकास हुन नसकेको हो । नेपाली गीत, सङ्गीतको विकास सङ्गीतकारहरूको हातमा छ । उहाँहरूले नयाँपन दिन सकिरहनुभएको छैन ।

गीतहरू किन कालजयी बन्न सकिरहेका छैनन् ?
–समय सान्दर्भिक र दीर्घकालीन भएका छैनन् । अलिकति नेपाली माटोसँग मिल्दोजुल्दो गीत सङ्गीत ल्याउन सके मात्रै कालजयी बन्न सक्छ । रेडियोबाट महिनौं, वर्षौं बज्थे, हाम्रो पालाका गीतहरू ।

विधागत क्षेत्र हराउँदै गएको हो ?
–पपुलर हुनका लागि जुन गीत पनि गाइदिने प्रचलन बढेको छ । विधा फरक हुँदा अब्बल हुन्थ्यो । जुन पनि गाउँदा त गाउनेकै मूल्य घटिरहेको छ कि जस्तो लाग्छ ।

गीत सङ्गीतमा विकृति पनि देखिन्छ, कसरी लिनुहुन्छ ?
कलाकार किन आर्थिकरूपमा अब्बल हुन सक्दैनन् ?

–राज्यको नीतिका कारणले कलाकारको अवस्था नाजुक भएको हो । राज्यले कलाकारलाई हेर्ने दृष्टिकोण नै फरक छ । कलाकारले आफ्ना लागि मात्रै काम गरेको होइन । साहित्यको विकासमा कलाकारले योगदान दिइरहेका छन् । तर, यसको सही मूल्याङ्कन हुन सकिरहेको छैन । कलाकारलाई सामान्यरूपमा लिँइदैछ । मूल्याङ्कन गर्न सक्ने नेतृत्व हुनुपर्छ । नेतृत्वले कलाकारलाई सामान्यरूपमा लिएको छ ।

राज्यले के गरिदिए हुन्थ्यो ?
–कलाकारलाई ज्याला देऊ भन्ने होइन । अन्य मिडियामा एक पटक गीत बजेबापत ८ रुपैयाँ दिन्छन् । रेडियो नेपाललाई सरकारले बजेट दिन्छ त्यही रेडियो नेपालले एक पटक गीत बजेको २ रुपैयाँ दिन्छ । एक पटक गीत बजेको न्यूनतम् ५ हजार दिनुपर्छ । महिनामा तीन पटक नै बजे पनि बाँच्न सकिन्छ नि । रोयल्टी एकदमै भएन । गीत सङ्गीत बुझेको मान्छे नेतृत्वमा पुगे मात्रै कलाकारको उद्धार होला, नभए हुनेवाला छैन ।

गीत उत्पादन कठिन छ ?
–कठिन छ । खर्च राम्रै लाग्छ । आम्दानी हुन्छ पनि, हुँदैन पनि । समर्पण हुनुप¥यो । यति खर्च गर्छु भन्नेले मात्रै निकालिरहेका छन् ।

नेपालको साङ्गीतिक भविष्य कस्तो छ ?
–राम्रो किसिमको सिर्जना गर्दै गयौँ भने धेरै सम्भावना छ । हाम्रो मेलोडी राम्रो छ । पहिलेको जस्तो अवस्था छैन । अहिले धेरै सजिलो छ । मैले पनि पहिले क्यासेट बोकेर बिक्री गर्दै हिँडेको हो नि ।

मोफसलमा बसेर काम गरिरहनुभएको छ, कस्तो अनुभूति गर्नुभएको छ ?
–मैले पहिले त काठमाडौँमै बसेर काम गरेँ । रेडियो नेपालको क्षेत्रीय प्रसारण धनकुटामा सेवा गरेँ । धरानमा पनि बसेँ । इलाममा पनि बसेँ । अहिले पुनः काठमाडौँ जाँदैछु ।  काठमाडौँबाट आउने कलाकार राष्ट्रिय कलाकार भन्छन् तर, म त्यो कुरासँग सहमत छैन । मोफसलका पनि कति कलाकार हिट भइरहेका छन् । तर, स्रोतसाधन र प्रविधिका कारणले रेकर्डिङका लागि चाहिँ काठमाडौँ नै जानुपर्छ ।

सन्तुष्ट हुनुुहुन्छ ?
–एकदमै सन्तुष्ट छु । गीत सङ्गीतबाट पाइयो पनि, गुमाइयो पनि । तर, पनि त्यसैमा रमाउन सिकेकाले सन्तुष्ट नै छु । अन्य नभए पनि नाम रहेको छ ।

नयाँ परियोजना के छ ?
–गीतकार पर्वत सञ्जेल र सङ्गीकार विकास राईको एउटा परियोजना छ । मेहनत गर्नुपर्छ, मलाई दुई महिना लाग्छ । त्यसका लागि काठमाडौँ जाँदैछु ।