मोरङ। लेटाङ नगरपालिका–२ की १२ वर्षीया अंशु गौतमको बलात्कार र हत्या आरोपमा ५९ वर्षीय छिमेकी पदमबहादुर अधिकारी पक्राउ परेका छन्। करिब दुई महिनाको गहन अनुसन्धानपछि प्रहरीले घटनालाई रहस्य–उद्घाटन गर्दै उनलाई सार्वजनिक गरेको हो।
असोज २१ गते घरबाट हराएकी अंशुको शव १८ दिनपछि चारकोशे झाडीभित्र टुक्रिएको अवस्थामा फेला परेको थियो। स्कुलनजिक खेलिरहेकी अंशुलाई अधिकारीले साथीलाई झुक्याई एक्ल्याएर जंगलभित्र ४ किलोमिटर भित्रसम्म लगेका थिए। त्यहाँ उनले जबरजस्ती करणी गरेपछि ‘पोल खुल्ने’ डरले घाँटी थिचेर र हँसियाले रेटेर हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
शव भेटिएपछि कात्तिक १९ गते अधिकारी भारतको मेघालय भागेका थिए। ‘अप्रेसन जग’ नामक अभियानमार्फत प्रहरी अनुसन्धान अघि बढाउँदै जान्दा उनी मुख्य शंकाका रुपमा पहिचान भए। महिनौं भारतमा लुकेर बसेपछि घर फर्किएका अधिकारीलाई मंसिर १९ गते फडानीस्थित घरमै पक्राउ गरिएको हो।
उनविरुद्ध ज्यान मुद्दा र जबरजस्ती करणीसम्बन्धी कसुरमा अदालतमा म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।
































