कृषिप्रधान मुलुक रहेको नेपालमा कृषिजन्य नगदेबालीहरुलाई प्रवर्धन गर्न आवश्यक छ । पूर्वमा फल्ने अकबरे खुर्सानी अर्थतन्त्रको मुख्य आधार हो । यसले एउटा परिवारलाई मात्रै धानेको छैन । अर्थप्रणालीलाई पनि सहयोग गरेको अवस्था छ । धरानको कृषिउपज बजारस्थलबाट वार्षिक रुपमा चारदेखि पाँच करोड रूपैयाँको कारोबार हुँदै आएको छ । यो कारोबारबाटै पनि यसले आर्थिक वृद्धिमा भूमिका खेलेको छ भन्ने जगजाहेर छ । बजारस्थलको तथ्याङका आधारमा पहाडी जिल्लाबाट दुई सय टन अकबरे खुर्सानी बिक्री भएको छ । धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, पाँचथर, इलाम, ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्ला यसको मुख्य स्रोत हो । अकबरे खुर्सानी पूर्वी नेपालका किसानहरुको प्रमुख आम्दानीको स्रोत बन्न सक्ने सङ्केत गरेको छ । यसलाई ब्राण्डिङ गर्न जरूरी देखिएको छ ।

खुर्सानी राम्रो उत्पादन भए पनि प्रशोधन केन्द्र नहुँदा बजारमा एक प्रकारको उतारचढाव त छँदैछ, अर्कोतिर उचित मूल्य पाउन सकेको अवस्था छैन । अर्को ठूलो चुनौती भनेकै ब्राण्डिङ हो । अकबरे निकै पिरो र उच्च गुणस्तरको भए पनि ब्राण्डिङको अभावमा अगाडि बढ्न सकेको छैन । यसका लागि स्थानीय तह, प्रदेश सरकार र सरोकारवाला निकायले बढीभन्दा बढी ध्यान दिन आवश्यक छ । यसलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने वातावरण तयार गर्ने हो भने किसानको लागि मात्रै हैन, राज्यका लागि नै लाभदायक हुन्छ । अर्कोतिर यसको औषधीय गुणको विषयमा पनि मानिसहरुलाई बुझाउन जरूरी छ । जस्तो कि भिटामिन सी, भिटामिन ए, एन्टिअक्सिडेन्ट र क्याप्साइसिन जस्ता पौष्टिक तथा औषधीय गुणको प्रवर्धन गर्न सकेमा यसको बजार बढ्न सक्छ । जति धेरै बजार बढ्छ, यसले किसानलाई फाइदा पु¥याउँछ । बजारमा माग धेरै भएमा उत्पादन बढाउन सकिने विषयमा मन्थन र छलफल हुन थाल्छ । सरोकारवाला निकायहरुमा पनि चासो बढ्न थाल्छ ।

खुर्सानीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने, प्राचन प्रणालीलाई सक्रिय बनाउने र क्याप्साइसिनले दुखाइ कम गर्न मद्दत गर्ने जस्ता गुणहरु रहेको पाउन सकिन्छ । अकबरे खुर्सानीको उत्पादनलाई वृद्धि गर्न स्थानीय, प्रदेश र केन्द्र सरकारहरुले पनि भूमिका खेल्न सक्छन् । त्यति मात्रै हैन, विश्व बजारमा पु¥याउनका लागि अन्य देशहरुसँग पहल गर्न सक्छन् । यसका लागि विदेशका ठूल्ठूला व्यापारीहरुलाई ल्याएर अकबरे खुर्सानीको एक्स्पोहरु गराउन सक्छन् । त्यसो गरेमा किसानले आफ्नो उत्पादनलाई विश्व बजारमा पु¥याउन सक्छ । त्यसका लागि वातावरण बनाइदिनु पर्छ । अहिले जसरी स्थानीयको पहलमा कामहरु भइरहेको छ, त्यो काम राज्यको हो । अहिले भारत, हङ्कङ र युकेसम्म बिक्री भइरहेको छ तर यो नेपालीहरुले नै लगिरहेको अवस्था छ । यसलाई विदेशी व्यापारीहरुमार्फत् बिक्रीलाई प्रवर्धन गर्न सकिन्छ । यसको बजार सम्भावना प्रबल भए पनि सरकारले एक प्रकारको पहल नगर्दा किसानहरु स्थानीय बजारमै निर्भर हुनुपरेको छ । अर्कोतिर खुर्सानीको व्यावसायिक खेतीका लागि एकीकृत पहल गर्नु अनिवार्य हुँदै गएको छ । एकीकृत तरिकाले खेतीप्रणालीलाई अपनाउने हो भने उत्पादन मात्रै हैन, बजारमा पु¥याउन पनि सहज हुनेछ । आफ्नो उत्पादनलाई ब्राण्डिङ गर्ने आधार तयार पार्न सरकारहरुले भूमिका खेल्न आवश्यक छ । यसो गर्न सकेमा खुर्सानीले विश्व बजारमा पहिचान मात्रै बढाउँदैन, किसानहरुले थप आय बढाउन सक्छन् ।