विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नाकको शल्यक्रिया गर्दा ७ वर्षीय बालकको आँखाको ज्योति गुमेको घटनामा गठित छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा गठित विज्ञ टोलीले स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मोरङलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको हो । 

प्रारम्भिक छानबिनका क्रममा उपचारमा संलग्न चिकित्सकबाट ‘त्रुटि’ भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको छानबिन समितिका एक सदस्यले इङ्गित गरेका छन् । तर प्रतिवेदन सार्वजनिक नभएकाले आधिकारिक सार्वजनिक गर्न नमिल्ने उनले बताएका छन् । 

सुनसरीको इटहरी–१ का ७ वर्षीय बालक जेनिस पाठकको नाकमा मासु पलाएपछि अभिभावकले गत मङ्सिर ४ गते नोबेल अस्पतालमा भर्ना गरेका थिए । मङ्सिर ५ गते डा. प्रज्वल श्रेष्ठ र डा. कविराज बास्तोलाको टोलीले बालकको शल्यक्रिया गरेको थियो ।

अस्पतालले शल्यक्रियाको भोलिपल्टै हतारमा डिस्चार्ज गरेपछि घर पुगेका बालकले आँखा नदेख्ने बताएका थिए । तत्कालै विराटनगर आँखा अस्पताल लगेर जाँच गराउँदा नोबेलका चिकित्सकले नाकको शल्यक्रिया गर्ने क्रममा भित्री हड्डी निकालेर आँखाको नसा (अप्टिक नर्भ) नै ‘ड्यामेज’ गरिदिएको पुष्टि भएको थियो । आँखा अस्पतालले ज्योति फर्कने सम्भावना नरहेको बताएपछि घटना बाहिर आएको हो । घटनापछि पीडित पक्षको उजुरी र जिल्ला प्रशासन कार्यालय मोरङको आग्रहमा स्वास्थ्य मन्त्रालयले वीर अस्पतालका नाक, कान, घाँटी रोग (इएनटी) विभागीय प्रमुख डा. अनिता जिसीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा कोशी अस्पतालका विशेषज्ञ डा. वरुन देव र मोरङ प्रशासनका अधिकृत रामप्रसाद लुइटेल सदस्य छन् ।

गत शुक्रबारदेखि विराटनगर आएर काम थालेको यो टोलीले अस्पताल पुगेर बिरामीको ‘केस हिस्ट्री’, शल्यक्रियामा संलग्न चिकित्सकको विवरण र अन्य कागजात नियन्त्रणमा लिई सूक्ष्म अनुसन्धान गरेको थियो । समितिलाई प्रतिवेदन बुझाउन एक साताको समय दिएअनुसार शुक्रबार नै प्रतिवेदन बुझाइएको हो । 

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार समितिले बुझाएको प्रतिवेदनका आधारमा दोषी देखिएका चिकित्सकलाई कारबाही प्रक्रिया अघि बढाइने बताए । समितिले लापरबाही ठहर गरेमा नेपाल मेडिकल काउन्सिलमार्फत् चिकित्सकको लाइसेन्स खारेजीसम्मको कारबाही सिफारिस हुनसक्ने प्रजिअ कट्टेलले जानकारी दिए ।  

सांसद् डा. सुनिल शर्माको स्वामित्वमा रहेको नोबेल अस्पतालमा यसअघि पनि उपचारमा लापरबाही भएको गुनासाहरू आउने गरेका थिए । यसपटक चिकित्सकले आफ्नो गल्ती ढाकछोप गर्न खोजेको र बिरामीका आफन्तलाई गुमराहमा राखेको आरोपसमेत लागेको छ ।