धरान । सुनसरीको धरान उपमहानगरपालिका–१ कृषि बजारनजिकै रहेको एउटा ग्यारेजबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । गाँजासहित तीनजनासहित एउटा सवारी साधन पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार दिउँसो १ बजेतिर वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले मे.१ ज २०१८ नम्बरको सवारी साधनबाट एक सय ४९ केजी गाँजा बरामद गरेको हो । ग्यारेजमा खानतलासी गर्ने क्रममा गाँजासहित धनकुटा साँगुरीगढी गाउँपालिका–४ का २९ वर्षीय इन्द्रकुमार लिम्बू, सहिदभूमि गाउँपालिका–४ का २५ वर्षीय जिबसन राई र भारतको उतरदिनाथपुर जिल्ला रामगञ्ज थाना सुजाली ग्रामथान घर भएका २५ वर्षीय साफिर आलमलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

लागूऔषधसहित चार पक्राउ
सुनसरीको धरान उपमहानगरपालिका–५ देउराली भोटे बस्तीबाट लागूऔषधसहित दुईजना युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । लागूऔषध ओसार–पसार तथा कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरी टोलीले दुई युवालाई नियन्त्रणमा लिएको हो । 

धरान उपमहानगरपालिका–५ का २२ वर्षीय जितेन्द्र राई र धनकुटा साँगुरीगढी गाउँपालिका–७ का २२ वर्षीय जीवन राईको साथबाट एक सय ४० थान ट्याब्लेटसहित पक्राउ गरेको हो । बरामद लागूऔषध र उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।

यस्तै धरानबाटै ८ सय थान लागूऔषधसहित थप दुईलाई पक्राउ गरिएको छ । धरान–१५ पिण्डेश्वरी चोकबाट विशेष सूचनाका आधारमा प्रहरीले मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको हो । शनिबार राति साढे ९ बजेतिर अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले को.३५ प १८५ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा लागूऔषध बरामद गरेको हो । चेकजाँचका क्रममा मोटरसाइकलमा सवार धरान–१५ का समिर सुनामको साथबाट विभिन्न नामका ८ सय थान ट्याब्लेट फेला पारेको हो । यस्तै मोटरसाइकल चालक धरान–५ का २३ वर्षीय भलराम श्रेष्ठलाई पनि पक्राउ गरिएको छ ।