हङकङ । नवीन सुब्बाद्वारा निर्देशित र दयाहाङ राई अभिनित नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ हङ्कङस्थित हङ्कङ एकेडेमी अफ आटर्स फर परफर्मिङका फिल्म विद्यार्थीहरूलाई अध्ययनका लागि बुधबार प्रदर्शन गरिएको छ ।

हङ्कङको सिनेमा हलमा प्रदर्शनपछि तयार भएका समीक्षा पढेपछि उक्त विश्वविद्यालयका प्रोफेसरहरूका पहलमा विद्यार्थीहरूलाई अध्ययनका उद्देश्यले चलचित्र देखाइएको निर्माता अमोड राईले जानकारी दिए । उनका अनुसार ‘गाउँ आएको बाटो’ हङ्कङको बक्स अफिसमा प्रदर्शन हुने पहिलो नेपाली चलचित्रसमेत हो । यससँगै विश्वविद्यालयका फिल्म निर्माण विद्यार्र्थीहरूलाई अध्ययनका लागि देखाइएको पहिलो विदेशी चलचित्र बन्न पनि यसले सफलता हासिल गरेको छ ।

करिब तीन दर्जन विद्यार्थी र प्राध्यापकहरूले विश्वविद्यालयको आफ्नै थिएटरमा फिल्म हेरेका थिए । प्रदर्शनपछि निर्माता अमोड राईसँग विद्यार्थी र प्राध्यापकबीच अन्तरक्रिया कार्यक्रमसमेत भएको थियो । कार्यक्रममा चलचित्रका डाइरेक्सन, छायाङ्कन, निर्माण, अभिनय, सम्पादन, ध्वनिलगायत विभिन्न पक्षमा चर्चा–परिचर्चा गरिएको थियो । सो अन्तरक्रियामा विश्वविद्यालयका  प्राध्यापक सिन यीम र वर्न लोले सहजीकरण गरेका थिए ।

गाउँ सहरीकरण हुँदै गर्दा त्यसले गाउँको मौलिकता, पहिचान र संस्कृतिमा पार्ने प्रभावलाई मुख्य विषय बनाएर तयार गरिएको ‘गाउँ आएको बाटो’ विदेशी बक्स अफिसमा प्रदर्शन भएको पहिलो नेपाली चलचित्र भएको निर्माता राईले बताए । हङ्कङसँगै उक्त चलचित्र युके र थाइल्याण्डमा पनि बक्स अफिसमा रिलिज गरिएको थियो । स्तरीय नेपाली चलचित्र निर्माण गर्न सकिने वातावरण बनेमा विदेशी हलहरूमा पनि नेपाली फिल्म व्यावसायिकरूपमा चल्ने बाटो खुल्ने उनले बताए । 

चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल बुसान (दक्षिण कोरिया), साओ पाउलो (ब्राजिल), गोथेनबर्ग (स्विडेन), मुम्बई(भारत) तथा बेइजिङ (चीन)को अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा समेत प्रदर्शन भइसकेको छ । चलचित्रमा दयाहाङ राई, पशुपति राई, बाल कलाकार पसन राई र प्रेम सुब्बा मुख्य भूमिकामा छन् । चलचित्रको अधिकांश छायाङ्कन भोजपुर जिल्ला तथा केही भाग धरानमा गरिएको छ ।