धरान । श्रम संस्कृति पार्टीको नेतृत्व गरिसकेपछि पनि धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) को कार्यशैलीमा रत्तिभर परिवर्तन आएको छैन । अझै पनि ‘असामाजिक तथा गैरराजनीतिक संस्कार’ देखाइरहेका छन् । 

सुम्निमा पारुहाङ प्रतिष्ठान परियोजनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयले अनुसन्धान सुरु गरेपछि सामाजिक सञ्जालमा स्टाटस तथा भिडियो सन्देशमार्फत् ‘असामाजिक तथा गैरराजनीतिक संस्कार’ प्रस्तुत गरेका हुन् । अख्तियारले यही मङ्सिर १४ गते प्रतिष्ठानको विषयमा छानबिन अगाडि बढाएको जनाउँदै पत्राचार गरेको थियो । अख्तियारले परियोजनामा रकम अपचलन भएको भन्दै पन्ध्र दिनभित्र कागजात उपलब्ध गराउन परियोजनालाई निर्देशन दिएको छ । साम्पाङ नेतृत्वको परियोजनाले चिण्डेडाँडामा ‘सुम्निमा–पारुहाङ’ को प्रतिमा बनाउने तयारी थालेको छ । अख्तियारले प्रारम्भिक चरणमै दर्ता, विधान, पदाधिकारी, आर्थिक अभिलेख, आयव्यय विवरण, बैङ्क खाताको विवरणसहित जग्गा खरिदबिक्रीसम्मका कागजात उपलब्ध गराउन निर्देशन दिएको छ । जवाफ पनि मङ्गलबारै पठाइसकिएको उनले प्रतिक्रिया दिएका छन् । 

यहीबीचमा नगर प्रमुख एवम् श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले भिडियो सन्देशमा गालीगलौजपूर्ण ओठे जवाफ फर्काएका छन् । ओठे जवाफ फर्काउने उनको पुरानै शैली हो । उनले भनेका छन्, “हामीले गरेको राम्रो कोशिस देखी नसहेर कुन चाहिँ फटाहा, चोर, गधाले उजुरी हालेछ ।” उनले त्यसलाई समान्यरूपमा लिएको पनि बताएका छन् । “यस्ता उजुरी आफ्नो लागि नौलो होइन । फूल रोप्दा वा ९८ दिनमा कोकाहाबाट पानी ल्याउँदा पनि उजुरी परेको थियो”–उनले भनेका छन् । 

यस्ता ओठे जवाफलाई लिएर राजनीतिक वृत्तका विद्वान् चिन्तकहरूले हर्क साम्पाङमा “सामान्य राजनीतिक संस्कार र सभ्यता” पनि नभएको भनी टिप्पणी गरेका छन् । अर्थविद् डा. राजेन्द्र शर्माले आफूलाई लुई चौधौँ सोच्ने प्रवृत्ति भएको व्यक्ति भएकाले अनुशासनबारे सामान्य ज्ञान पनि नभएको प्रतिक्रिया दिए । उनले ब्लाष्टकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै भने, “समाजको अपहेलनासँग उहाँलाई केही मतलव छैन । त्यसो भएकाले उहाँका यस्ता प्रतिक्रिया आएका हुन् ।” 

साम्पाङले अख्तियारले जवाफ मागेपश्चात् उनले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, “सुम्निमा पारुहाङको प्रतिमा बनाउँदा प्रश्न सोध्ने अख्तियारले पशुपतिनाथको मन्दिर कसले बनायो र कसरी चलिरहेको छ भन्ने पनि सोध्नु पर्छ अब ।” उनले अख्तियारलाई नै पनि पत्राचार गरेकोमा ओठे जवाफ फर्काएका छन् । यस विषयमा त्रिभुवन विश्वविद्यालयका राजनीतिक शास्त्रका एक प्राध्यापक भन्छन्, “उहाँमा सामान्य संस्कार र सभ्यता पनि छैन । धरान उपमहानगरपालिकाको नेतृत्व गरेको मान्छेमा जुन गम्भीरता, जिम्मेवारीपन र राजनीतिक संस्कार हुनुपथ्र्यो त्यो पटक्कै देखिएको छैन ।”

उनले बिहीबार सामाजिक सञ्जालमा अर्को स्टाटस लेखे । जसमा लेखेका छन्, “राज्यको ढुकुटी रित्याउने र सिध्याउनेको पछि लाग्न छोडेर सुम्निमा पारुहाङको पछि लागेर के गर्न खोज्या ? जनताले दिन्छन् कि खुसीले, राज्यको हो र ?” खासमा कसले राज्यको ढुकुटी रित्याएको हो भन्ने स्पष्ट किटान गरेका छैनन् । यस्ता ओठे जवाफले उनको राजनीतिक संस्कार पटक्कै नभएको नाम नछाप्ने शर्तमा उक्त प्राध्यापकको टिप्पणी छ । “उनी हास्य कलाकार त होइनन् । जिम्मेवार पदमा भइसकेपछि सोचेर जवाफ नदिएका कारण चाहिँ मेच्युरिटी नआएको देखिन्छ” ती प्राध्यापकले फोनसम्पर्कमा भने, “उनी मात्रै हैन, उनका समर्थक पनि त्यही लाइनमा गएका छन् । राजनीति खोलेका छन् । त्यसलाई उनले खेलाँचीरूपमा लिएको देखिन्छ ।” 

साम्पाङले साल्पासिलिचुङबाट ढुङ्गामाटो र पानी ल्याएर धरान–२० स्थित चिण्डेडाँडामा सुम्निमा पारुहाङको प्रतिमा शिलान्यास गरेका छन् । उक्त क्षेत्रमा साम्पाङका निकटस्थहरूले जग्गा प्लटिङ गरेको विषय यसअघि नै बाहिरिएको थियो ।