धरान । धरान–१३ अमरहाटमा शनिवार भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । कोशी राजमार्ग अन्तरगत धनकुटाबाट आउदैं गरेको प्र–१–०२–०० र ३८२६ नं. को गाडी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

दुर्घटनामा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये विराटनगर–९ की २२ वर्षीया वेदा मिश्रको दायाँ हात काटिएको बताइएको छ । घाइतेहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

गाडी अनियन्त्रित भई दुर्घटना भएको स्थानीयले बताएका छन् । मृत्यु हुनेको पहिचान खुल्न नसकेको प्रतिष्ठान प्रहरी पोष्टले जानकारी दिएको छ ।  यस्तै धरानबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ५३१४ नम्बरको यात्रुवाहक बस तरहरास्थित पानीपियामा शनिवार नै  दुर्घटना भएको छ । बसमा ४० जना यात्रु सवार रहेका थिए । तीमध्ये २४ जना घाइते भई वीपी प्रतिष्ठान धरानमा उपचाररत भइरहेको छ । 

उनीहरु धरानमा भएको जगन्नाथ रथ यात्रामा सहभागी भएर फर्कने क्रममा दुर्घटनामा परेका थिए ।