धरान । कृषिउपज बजार केन्द्र धरान–१३ मा पहाडी गाउँघरमा उत्पादन हुने पिरो अकबरे खोर्सानी २ सय टन बिक्री वितरण भएको छ । 

यो वर्षको सिजनको अन्तिम महिना मङ्सिर दोस्रो सातासम्ममा २ सय टन खोर्सानी बिक्री भएको कृषिउपज बजार केन्द्रले जनाएको छ । 

होलसेल औसत मूल्य प्रतिकेजी २ सय २५ रुपैयाँ प्रतिकेजी रहेको खोर्सानीको करिब ४ करोड ५ लाख बराबरको कारोबार भएको बजार व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । 

विशेषगरेर जेठ, असारदेखि सिजन सुरु भई मङ्सिर अन्तिमसम्म खरिद बिक्री हुने गरेको छ । अकबरे खोर्सानीको मुख्य सिजन भने भदौ, असोज मानिन्छ । 

मङ्सिर अन्तिमसम्म २ सय ५० टनसम्म खोर्सानीको कारोबार हुने व्यवस्थापक भट्टराईले जनाएका छन् । बजारमा हाल दैनिक ४ सयदेखि ५ सय केजीसम्म अकबरे आइरहेको छ । 

उनका अनुसार बजारमा आउने मुख्य क्षेत्र धनकुटा, भोजपुर, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, पाँचथर, इलाम, ताप्लेजुङ, सोलुखुम्बुलगायत जिल्ला हुन् । पछिल्लो समय भने मकवानपुरको पालुङ र धादिङबाटसमेत कृषिबजारमा खोर्सानी आउने गरेको छ ।

पूर्व पहाडी जिल्लाबाट आएको अकबरे तराईका सहर र विभिन्न जिल्लाहरू र काठमाडौंलगायत भारत, हङ्कङ, युकेसम्म जाने गरेको व्यवस्थापक भट्टराईले जानकारी दिए । कतिपय मुलुकहरूमा अचार बनाएरसमेत लाने गरिएको छ । 

भोजपुरमा व्यावसायिक अकबरे खेती 

कृषि ज्ञानकेन्द्रका प्रमुख मुकेशकुमार यादवका अनुसार भोजपुरका केही पालिकाहरूमा व्यावसायिकरूपमा अकबरे खोर्सानीको खेती भइरहेको छ । पछिल्लो समय भोजपुरका किसानको मुख्य आम्दानीको स्रोतका रूपमा अकबरे खुर्सानी रहेको छ । “खुर्सानीको राम्रो उत्पादन भए पनि यहाँ प्रशोधन केन्द्र नहुँदा किसानलाई समस्या छ । तर खोर्सानी उत्पादनमा कृषकहरूको राम्रो लगाव छ । पालिकाहरूले पनि लगानी गरिरहेका छन्”–प्रमुख यादवले भने ।  

जिल्लामा खोर्सानीखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको कृषक  ज्ञानबहादुर  कार्की बताउँछन् । ज्ञान केन्द्रले बढी मात्रामा अकबरे खोर्सानीखेती हुने क्षेत्र पौवादुङ्मा, टेम्केमैयुङ, अरुण गाउँपालिका, भोजपुर र षडानन्द नगरपालिका रहेका छन् । कतिपय पालिकामा खेती गर्ने कृषकलाई पालिकाले प्रोत्साहान गर्दै आएको छ । अकबरे खेती गर्ने कृषकहरूलाई अनुदान तथा सहुलियतहरू दिँदै आएको पौवादुङ्मा गाउँपालिकाका अध्यक्ष किरण राईले बताए ।  

भोजपुरमा उत्पादन भएको खोर्सानी सिधै धरान, काठमाडौं, विराटनगर, चितवनलगायत बजारमा जाने गरेको छ । पूर्वी पहाडी जिल्लामा उत्पादित खोर्सानी निकै पिरो भए पनि ब्राण्डिङको अभावले कम पिरो हुने धादिङ, मकवानपुरलागयत स्थानका खोर्सानीले बजार लिने गरेको कृषक डिल्ली कार्की बताउँछन् । 

अकबरेको औषधीय गुण 

अकबरे खोर्सानी नेपालका पहाडी तथा हिमालीभेगमा पाइने एक अत्यन्तै पिरो र सुगन्धित प्रजातिको खोर्सानी हो । विशेषगरी इलाम, ताप्लेजुङ, पाँचथर, धनकुटा, सङ्खुवासभा र भोजपुर क्षेत्र यसका प्रमुख उत्पादनस्थल मानिन्छन् । 

अकबरे खोर्सानीमा पोषक तŒवहरू पनि पाइन्छ । यसबाट भिटामिन सी, भिटामिन ए, एन्टिअक्सिडेन्ट, क्याप्साइसिन पाइने स्वास्थ्यविज्ञहरूले बताएका छन् । यस्तै खनिज तŒव—क्याल्सियम, फस्फोरस, फलाम आदि पनि अकबरेबाट प्राप्त हुने गर्दछ । 

चिकित्सकका अनुसार अकबरेले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । पाचन प्रणालीलाई सक्रिय बनाउँछ, रक्तसञ्चार सुधार, शरीर तताउने गुण यसमा पाइन्छ । एन्टिअक्सिडेन्टका कारण छाला र क्यान्सरजन्य जोखिम कम गर्ने बताइन्छ । क्याप्साइसिनले दुखाइ कम गर्न मद्दत गर्ने स्वास्थ्यकर्मी बताउँछन् । 

अकबरेलाई अचार, तरकारी, झोल–तरकारी, चटनी, चट्पटे, सुकाएर पिसेर मसलाको रूपमा पनि प्रयोग गरिन्छ । यस्तै तेलमा डुबाएर अकबरे तेल बनाइन्छ । पकाएको वा कच्चै दुवै रूपमा प्रयोग गर्न सकिन्छ ।