सुनसरी । किनमेल गर्न सीमावर्ती भारतीय बजार जाने नेपाली ग्राहकको भीड बढेको छ । दशंै नजिकिँदै गएसँगै सीमापारिका भीमनगर, वीरपुर, बसमतिया, फुलकहासहितका भारतीय बजार नेपाली ग्राहकले भरिभराउ हुने गरेको पाइन्छ । हरेक वर्षजस्तै सस्तोमा सामान पाइने लोभमा यसपटक पनि भारतीय बजारमा किनमेल गर्ने नेपाली ग्राहकको भीड बढेको हो ।

सुनसरीसँग सीमा जोडिएका भारतीय बजारहरूमा विभिन्न जिल्लाबाट उपभोक्ता किनमेल गर्न आउने हुँदा चहल–पहल बढेको छ । सामान्यतया बाह्रै महिना नेपाली ग्राहकले भरिभराउ हुने भारतीय बजारमा ठूला चाडपर्वमा पाइला राख्ने ठाउँसम्म पाउन मुस्किल हुन्छ । नेपालीहरू चाडपर्वको लागि भन्दै विभिन्न जिल्लाबाट किनमेल गर्न भारतीय बजार आउने क्रम बढेको भीमनगर स्थित किराना पसल सञ्चालक पङ्कजकुमार बताउँछन् । दशैं नजिकिँदै गरेको हुँदा कपडा र किराना पसलमा ग्राहकको बढी भीड हुने गरेको उनले बताए ।

विभिन्न प्रकारका मसला र चिनी आफ्नो पसलमा किन्न ग्राहक आउने गरेको बताउँदै पङ्कजले भीमनगर बजारमा सुनसरी, सप्तरी, उदयपुर, सिरहासहितका जिल्लाबाट नेपालीहरू आउने गरेको बताए । भीमनगरका हरेक साना–ठूला पसल आजभोलि नेपाली ग्राहकले भरिएका हुन्छन् ।

त्यहाँ पुग्ने नेपाली ग्राहकले खाद्यान्न, खाने तेल, भाँडावर्तन, चिनी, साबुन, सर्फ, बिस्कुट, काजु, बदामसहित अन्य विभिन्न शृङ्गार सामग्री रोजीरोजी खरिद गर्छन् । स्थानीय कपडा पसल सञ्चालक राकेश गुप्ताका अनुसार भीमनगरमा मात्र करिब दुई सय कपडा पसल र त्यतिकै सङ्ख्यामा किराना तथा दैनिक उपभोग्य वस्तुका पसल छन् ।

सरकारले स्वदेशी उत्पादनमा लगाएको करले दैनिक उपभोग्य वस्तु महँगो हुने भएकोले भारतीय बजारमा किनमेल गर्न जाने नेपालीको सङ्ख्या बढेको उद्योग वाणिज्य सङ्घ कोसी गाउँपालिकाका उपाध्यक्ष चन्दन यादवले बताए । करिब दुईदर्जन स्वदेशी उत्पादनमा लगाएको करको नीति परिवर्तन गर्न आवश्यक भएको उनको भनाइ छ । विशेषगरी चाडपर्वको बखत लत्ताकपडा कपडा र भान्सामा प्रयोग हुने सामानको बढी खपत हुने गरेको स्थानीय व्यापारी बताउँछन् ।

दैनिक कतिको सङ्ख्यामा नेपालीहरू किनमेल गर्न भारतीय बजारमा जान्छन् भन्नेबारेमा कुनै तथ्याङ्क छैन । मुख्य  चाडपर्वका बेला कम्तीमा दैनिक २ हजारदेखि २५ सयसम्म ग्राहक भारतीय बजार किनमेलका लागि पुग्ने र लाखौंको सामान किनमेल गर्ने गरेको स्थानीय मनोज सिपौलियाको बुझाइ छ  ।

भारतीय रुपैयाँको सटही नभएका कारण भारतीय व्यापारीहरूले नेपाली ग्राहकहरूलाई ठग्ने गरेको उनले बताए । नेपाली एकसय रुपैयाँको भारतीय व्यापारीले ५ देखि ७ रुपैयाँसम्म बट्टा लिई ठगी गरिरहेका छन् । सामान खरिद गरेबापत नेपाली रुपैयाँलाई भारतीय रुपैयाँमा रूपान्तरण गर्दा अतिरिक्त पैसा असुल्ने गरिए पनि ग्राहकको चाप भने बढ्दो क्रममै रहेको मनोजले बताए ।

नेपाली ग्राहकका कारण भारतीय व्यापारीलाई सामान बेच्न र पैसा गन्ने फुर्सद छैन । नेपालमा भन्दा सस्तोमा पाइने विश्वासले भारतीय बजारमा किनमेल गर्ने नेपाली उपभोक्ता महँगो, कम गुणस्तरीय सामान र मिसावटयुक्त सामान ल्याएर ठगिने समेत गरेका छन् ।

नजिकै रहेको भण्टाबारी, लौकहीजस्ता बजार भने सुनसान छन् । ‘ग्राहक अभावले यहाँका धेरैजसो पसल बन्द हुने अवस्थामा छन्’ स्थानीय सुरज साहले भने, ‘आजभोलि स्थानीयहरू समेत सामान खरिद गर्न सीमावर्ती भारतीय बजार नै पुग्छन् ।’ ‘चाडपर्वका लागि भन्दै किनमेल गर्न जाने नेपाली ग्राहकले भीमनगर, वीरपुर भरिभराउ छन्’ उनले भने, ‘यस्तै अवस्था रहिरहने हो भने पसल बन्द गर्नुको विकल्प छैन ।’

भण्टाबारी, लौकही बजार मात्रै नभई दशंैको मुखमा ग्राहक पहिलाजस्तो नहुँदा सदरमुकाम इनरुवासहित विभिन्न क्षेत्रका पसल सुनसान देखिन्छन् । ग्राहकको उपस्थिति सन्तोषजनक भए पनि व्यापार भने खासै नभएको उनीहरू बताउँछन् ।