धरान । स्वतन्त्र उम्मेदवारलाई कमजोर आँक्ने हाम्रो राजनीतिक संस्कारमाथि यसपटक धरानमा दह्रै झापट प्रहार भइरहेको छ । हालसम्मको मतपरिणामअनुसार ‘लौरो’ चुनाव चिह्न लिएर उठेका स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङले सबैलाई ‘सरप्राइज’ दिइरहेका छन् ।

गन्न बाँकी रहेका वडामा उनको रुझान यही हिसाबमा अगाडि बढ्ने हो भने उनको जित सुनिश्चित छ । प्रमुखका उम्मेदवार साम्पाङले गणना सुरु हुँदै गर्दा भनेका थिए, ‘अहिले जे जति आए पनि चुनाव जित्ने त मैले नै हो ।’ पूर्ण आत्मविश्वासका साथ उनले यो वाक्य बोलेका थिए । जुन बेला धरान–१ र २ नम्बर वडाको मतगणना सुरु हुँदै थियो । धरान–१ को पहिलो सय मत गणना गर्दा उनलाई ३३ मत प्राप्त भएको थियो । जुन उनको लागि पनि अनपेक्षित थियो । जबकि गठबन्धनका उम्मेदवार किशोर राईले ३१ मत मात्रै प्राप्त गरेका थिए । उक्त वडा काङ्ग्रेसको आधार इलाका मानिन्छ । ती वडाहरूमा साम्पाङले मत नमागेको बताएका थिए ।

धरानमा यसपटक स्वतन्त्र उम्मेदवारलाई दुईवटा कारणले मत आएको देखिन्छ । एउटा; खानेपानीको मुद्दा र दोस्रो; अन्य दलबाट उठेका उम्मेदवारप्रति मतदाताको वितृष्णा । यही दुई कारणले साम्पाङलाई मत गएको देखिन्छ । एक मतदाताले ब्लाष्टकर्मीलाई भनेका थिए, ‘खानेपानीको मुद्दाकै कारण सम्मानजनक भोट ल्याओस् न त भनेर दिएको थिएँ । सबैले सम्मानजनक भोट ल्याओस् भनेर दिए होलान्; जित्ने पो स्थिति आयो ।’

ब्लाष्टकर्मीसँग अन्तरङ्ग कुराकानी गर्ने व्यक्ति एमालेका मतदाता हुन् । एमालेजनमा यसपटक सबैभन्दा ठूलो असन्तुष्टि भनेको उम्मेदवार छनोटमै देखिएको छ । उम्मेदवार छनोटपश्चात् धरानका पूर्व नगर प्रमुख तथा एमालेका प्रदेश सदस्य मनोजकुमार मेन्याङ्बोले सामाजिक सञ्जालमा लेखेका थिए, ‘धरान उपमहानगरपालिकाको मेयर चयनमा हाम्रो पार्टी नेकपा (एमाले)ले यति अप्रिय निर्णय गर्ला भन्ने धरानका नेता कार्यकर्ता तथा मतदाताहरूले कल्पना पनि गरेका थिएनन् । तथापि बोकेर हिँड्न मजबुर छौँ; हामी कार्यकर्ताहरू ।’

स्पष्टवक्ता भएकाले पूव नगर प्रमुख मेन्याङ्बोले असन्तुष्ट कार्यकर्ताको अभिमत प्रकट गरेका थिए । धराने मतदाताले यसपटक विकल्प खोजेका थिए । ‘नयाँ टेस्ट’ गर्न रुचाउने धरानले यसपटक काङ्ग्रेसलाई पनि रुचाएको देखिएन भने एमालेलाई पनि पत्याएको देखिएन । ‘सङ्घाई’ उपनामले परिचित धरानमा २०७४ यता एमाले कमजोर सावित हुँदै गएको छ । यसका पनि दुई फ्याक्टर छन् । एउटा; गुटगत राजनीति । दोस्रो; केपी शर्मा ओलीको प्रतिगमनपश्चात्को दशबुँदे । पार्टी एउटै भए पनि व्यवहार ‘पराइ’ जस्तो देखिन्छ । यसमा थप बल पु¥याउनमा २०७६ को उपनिर्वाचनले पनि महत्वपूर्ण भूमिका खेलेको छ । आफ्नै पार्टीभित्र असहयोग गरेका कारण कम्युनिष्ट विरासत पहिलो पटक ढलेको थियो ।

काङ्ग्रेसभित्र यो प्रवृत्तिको ‘कथा’ लामै छ । यसकारण यसपटक ती मतदाताहरू जसले उम्मेदवार रुचाएनन्; उनीहरूले ‘खानेपानी, बीपीलगायतका मुद्दा’ बोकेका साम्पाङलाई मत दिए । धरानमा मतदाताको रुझान स्वतन्त्र उम्मेदवार साम्पाङलाई जानुमा ठूला दलहरूले खानेपानीको मुद्दालाई चिर्न नसक्नुकै परिणाम भएको ठान्छन्, अग्रज पत्रकार हर्ष सुब्बा । सुब्बाका अनुसार साम्पाङले खानेपानीको मुद्दालाई निरन्तर उठाइरहे । जुन मुद्दा धरानको मुख्य मुद्दा नै हो । तर, ठूला पार्टीले केबलकार ल्याउने, महानगर बनाउने जस्ता प्रतिबद्धतालाई मतदाताले पत्याएनन् । ‘ठूला पार्टीहरूले खानेपानीमा पाँच वर्षमा के भयो, अब के हुन्छ भन्ने कुरा पारदर्शी रूपमा गर्नुपथ्र्यो’ उनले भने, ‘ठूला पार्टीले खानेपानीलाई सामान्य मुद्दा ठाने, मेजर रूपमा उठाएनन् ।’ त्यसबाहेक पनि चुनाव चिह्नको पनि प्रभाव परेको हुन सक्ने पत्रकार सुब्बाको बुझाइ छ ।

अर्कोतर्फ ती युवापुस्ता जसले पहिलो पटक मत हाल्दै थिए; उनीहरूले पनि साम्पाङको मुद्दालाई हेरेर मत हालेका थिए । पहिलो पटक मत हालेकी धरान–१९ की एक मतदाताले भनिन्, ‘मैले मेयरमा लौरोलाई हालेँ, अरूमा काङ्ग्रेसलाई हालेँ ।’ रुष्ट मतदाताहरू र नयाँ मतदाताका कारण पनि लौरोलाई मत गएको देखिन्छ । यसपटक कुल मतका आधारमा मतदाताको उमेर समूह केलाउने हो भने पनि स्वतन्त्र उम्मेदवारको सम्भावना बलियो थियो ।

कुल १ लाख ३ सय २४ मतदातामध्ये १८–३० वर्ष उमेर समूहमा २१ हजार ५८ मतदाता छन् । ३१–४० वर्षको २४ हजार २ सय ३९ मतदाता छन् । ४१–५० उमेर समूहका १० हजार ५ सय ३३ मतदाता छन् । त्यस्तै ५१–६० वर्ष उमेर समूहको १६ हजार ८ सय ५४ मतदाता छन् र ६१ देखिमाथि १८ हजार ४ सय ५० मतदाता छन् । मतदाताको उमेर समूहका आधारमा हेर्दा युवा मतदाता र ज्येष्ठ मतदाताले सबैभन्दा बढी मत खसाल्ने देखिन्छ । किनकि अन्य उमेर समूहका मतदाताहरू आफ्नो रोजीरोटीका लागि देश वा देशभन्दा बाहिर पनि छन् । त्यसकारण निर्णायक मतदाता युवाहरू नै हुन् ।

धरान–१५ को ज्ञानचक्षु मतदान स्थलमा आएका अधिकांश ज्येष्ठ मतदाताले ‘लौरो’ कहाँ छ भनेर सोध्नुले पनि स्वतन्त्र उम्मेदवारको पक्षमा यसपटक मत धेरै गएको देखिन्छ । मुख्य पदमा गठबन्धन र नेकपा (एमाले)बाट उम्मेदवार बनाइएकाहरूप्रति आम मतदाताको जनआक्रोस थियो । त्यो आक्रोस र निराशालाई यस पटक स्वतन्त्र उम्मेदवारले ‘क्यास’ गरेको देखिएको छ । अहिलेका मतदाता विगतभन्दा धेरै कुरामा पृथक् देखिएका छन् । पुराना दलप्रति झट्टै विश्वास गरिहाल्ने स्थितिमा देखिँदैनन् ।

हाल मतगणना चलिरहँदा मत हालेको ‘प्याटर्न’ हेर्दा मतदाता एकदमै सचेत भएको देखिएको छ । जति मात्रामा बदर मत हुनुपर्ने हो, त्यो भएको पाइँदैन । वडाध्यक्षदेखि सदस्यसम्म कुनै चुनाव चिह्नमा लगाएका मतदाताले प्रमुख, उपप्रमुखमा भने फरक फरक चुनाव चिह्नमा दिएको देखिएको छ । यसले पनि मतदाता विगतभन्दा सचेत भएको देखिएको छ । ‘पार्टीको चुनाव चिह्न, पार्टीका नाराहरू झिनो आधार मात्रै भो, मतदाताले नयाँ नारा खोजेको देखियो’ त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरका सह–प्राध्यापक डा. अमृतकुमार श्रेष्ठले भने, ‘स्थापित दल, पुरानो दल भन्ने बित्तिकै जितिहाल्ने स्थिति देखिँदैन । उम्मेदवार कस्तो पृष्ठभूमि छ, त्यो पनि हेरिने भो ।’
विकल्प समाधान हो ?

स्वतन्त्र पनि आफैमा एउटा विचार हो । चिन्तन हो । स्वतन्त्र विकल्पहीन हुनै सक्दैन । निरपेक्ष भन्ने हुँदैन । मतदाता जसले विकल्प भनेर मत हालेका छन्; त्यो पनि अन्ततः वैचारिक विकल्प नै हो । चेतलुङ अनलाइनमा राम कार्की लेख्छन्, ‘विकल्प भनेको अन्ततः वैचारिक विकल्प नै हो । सोचको विकल्प हो । चिन्तनको विकल्प हो । वैचारिकताको विकल्प हो । विचार नभई समाज त बन्दैन; देश कहाँबाट बन्नु ?’

धरानको हकमा स्वतन्त्र उम्मेदवारले जुन मुद्दा बोकेर आफूलाई स्थापित गरेका छन् । त्यसले उनलाई सत्तामा पुग्ने दह्रो खुट्किलो त बनाएको छ तर, ती मुद्दाहरूलाई स्थापित गर्न सकेनन् भने उनीमाथि जनताका आशा, अपेक्षाहरू धुलिसात हुनेछन् । अन्ततः फेरि पनि ती मतदाताहरू नयाँ वैचारिक धरातल भएका उम्मेदवारतर्फ अगाडि बढ्नेछन् । ‘सबै मतदाताले नयाँ कुरा खोजिरहेका छन्, नयाँ खोज्ने क्रममा नभेट्दा मात्रै पुरानोलाई खोजेको देखियो’ त्रिविका सह–प्राध्यापक डा. श्रेष्ठ भन्छन्, ‘स्वतन्त्र पनि व्यक्तिलाई हेरिएको छ । मतदाता अन्त्यन्त सचेत भएजस्तो देखिन्छ ।’