यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारहरू प्रचार–प्रसारमा व्यस्त छन् । उर्लाबारी नगरपालिकामा पनि उम्मेदवारहरूले घरदैलो अभियान तीव्र पारेका छन् । यो नगरमा माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गरेका छन् भने काङ्ग्रेस र नेकपा (एमाले) एक्लाएक्लै प्रतिस्पर्धामा छन् । काङ्ग्रेसले उर्लाबारी नगरपालिकाको मेयरमा पाँच वर्ष काम गरिसकेका खड्ग फागोलाई पुनः उठाएको छ । उनीसँग ब्लाष्टले गरेको कुराकानीः

पाँच वर्षसम्म मेयर पद समालेपछि फेरि चुनावी मैदानमा हुनुहुन्छ, तपाईंलाई जनताले भोट दिने आधार के छ ?
– भ्रष्टाचारलाई न्यूनीकरण गर्दै पारदर्शी तरिकाले पूर्वाधार, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा काम गरेको छु । ५ वर्षे कार्यकालमा गरेको विकास र अधुरा कामहरू पूरा गर्न फेरि उठेको छु । म संसद्तिर पनि टिकट पाउँथेँ। तर, यहाँको अधुरो काम र समृद्ध नगर बनाउन फेरि मेयरमा उम्मेदवारी दिएको छु । त्यसैले अब नगरलाई अझ विकसित र समृद्ध नगरपालिका बनाउनका लागि मेरो उम्मेदवारी हो । 

नगरलाई व्यवस्थित बनाउन र रोजगारी सिर्जना गर्न के गर्नुहुन्छ ?
– अहिले रोजगारी सबैतिरको मुख्य समस्या भइरहेको छ । शिक्षित युवाहरूको जमात बढ्दै गएको छ । उनीहरूलाई रोजगारी दिन जरुरी छ । नगरले यस क्षेत्रमा अब लगानी वृद्धि गर्नुपर्ने र केही योजनाहरू बनाउनुपर्नेछ । यसका लागि नगरको नेतृत्वमा पुगेर दीर्घकालीन र अल्पकालीन योजना बनाएर काम गर्नेछु । नगरले कम्तिमा उत्पादनमूलक क्षेत्रमा लागेका कृषकहरूलाई प्रोत्साहन दिन अनुदानदेखि उनीहरूलाई बजार विस्तारका लागि नगरले सहयोग गर्नेछ । यहाँका आर्थिक अवस्था विपन्न नागरिक पहिचान गरी निःशुल्क स्वास्थ्य बिमा गराएर उपचार गराउनेछु । बिजुली २५ युनिटसम्म निःशुल्क रहनेछ । खानेपानी १० हजार लिटरसम्म निःशुल्क हुनेछ । विपन्नलाई धारा जडानमा सहुलियत दिनेछाैं ।

सुकुम्बासी समस्या र नदी नियन्त्रणमा तपाइको योजना के छ ?
– सङ्घीय र प्रदेश सरकारसँगको समन्वयमा यसअघि पनि यहाँका खोलाहरूबाट हुने कटान र डुबान नियन्त्रणका लागि काम गरेका छौं । तटबन्ध निर्माण गरी यहाँका सुकुम्बासी बस्तीहरू सुरक्षित गर्ने योजना छ । स्थानीय स्रोतबाट तटबन्धन गरिएको छ । उर्लाबारी–६ मा डुबान हुने थियो । त्यहाँ हामीले पानीको निकास दिन नाला निर्माण गरी काम गरेका छौं । मावा तथा बक्राहा खोला लगायतका खोलाहरूमा तटबन्ध गरी कृषियोग्य भूमिको संरक्षण गरिनेछ ।

शिक्षाको गुणस्तर सुधारका लागि कसरी काम गर्ने योजना बनाउनुभएको छ ?
– शिक्षा र स्वास्थ्यमा नगरले विकास गर्नुपर्ने आवश्यकता छ । शिक्षाका लागि ग्रामीण विद्यालयको स्तरोन्नति गर्नुपर्ने आवश्यकता छ । त्यस्तै सहरकेन्द्रित रहेका विद्यालयहरूलाई पनि गाउँ क्षेत्रमा लैजानुपर्ने भएकाले यसका लागि मैले नगरबाट काम गर्नेछु । अबको शिक्षा भनेको किताब मात्र होइन । व्यावहारिक र उत्पादनमूलक हुन जरुरी छ । त्यसका लागि नगरले प्राविधिक विद्यालय निर्माणदेखि लगानी गर्न जरुरी छ । यो क्षेत्रमा म लगानी गर्नेछु । हाम्रो क्षेत्रको अर्को समस्या भनेको स्वास्थ्य पनि हो । स्वास्थ्यमा लगानी बढाउन जरुरी छ ।

तपाईंले प्रतिस्पर्धी उम्मेदवारलाई कसरी हेर्नुभएको छ ?
– मुख्य रूपमा यहाँ एमालेसँग प्रतिस्पर्धा रहेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेका छन् । काङ्ग्रेस एक्लै प्रतिस्पर्धामा छौं । मैदानमा सबै भए पनि मेरो जित निश्चित देखिन्छ । प्रतिस्पर्धीका रूपमा अरू देखिएको भए पनि यहाँका जनताहरूले नगर हाँक्नका लागि तपाईंको आवश्यकता छ भन्नुभएको छ ।