भद्रपुर । राष्ट्रिय जनगणना २०७८ सकिएलगत्तै पुनः कृषिगणना सुरु हुने भएको छ । दश वर्षमा देशभरि सञ्चालन हुने गणनालाई ध्यानमा राखी झापाले पनि यसको तयारी सुरु गरेको छ । ‘कृषिगणनाको सार, कृषि योजनाको पूर्वाधार’ भन्ने मूल नाराका साथ सोमबार झापाले आयोजना गरेको कृषि गणना सचेतना गोष्ठीमा सरोकारवालाहरूसँग छलफल गरिएको थियो ।

कृषिगणना अधिकृत चूडामणि लुइटेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । नेपालमा कृषिगणनाको इतिहास, सञ्चालनको कानूनी प्रावधान, गणनामा समेटिने क्षेत्रहरू, घरपरिवारले गरेको कृषि कार्यको तथ्याङ्क सङ्कलन विधि, कृषि चलन, गणनामा समेटिएका कृषि कार्यहरू लगायतका विषयहरूमाथि कार्यपत्र प्रस्तुत गर्दै छलफल गरिएको थियो ।

गणनाका लागि देशभरका प्रत्येक जिल्लामा एक जना कृषि गणना अधिकृत, एक हजार ५ सय सुपरीवेक्षक जसमध्ये झापामा ३३ जना रहनेछन् । त्यसैगरी ६ हजार गणकमध्ये १ सय ३३ जना झापाका लागि खटिने अधिकृत लुइटेलले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख गरिएको छ ।

फागुन १८ देखि केन्द्र हँुदै जिल्लासम्म विभिन्न पदका प्रशिक्षकको तालिम, कार्यालय स्थापना गर्दै ०७९ वैशाख २ गतेसम्म  तालिम सम्पन्न गरी वैशाख ६ गतेबाट जेठ १९ सम्म तथ्याङ्क सङ्कलन कार्य गरिने जनाइएको छ । छनौट भएका गणकले प्रत्येक पालिकाभित्र रहेका घरमा पुगेर पहिलो चरणरमा सम्पूर्ण विवरण उल्लेख गरी सूचीकरण गरिनेछ ।

निश्चित तथ्याङ्कीय छनौट विधिबाट सुपरीवेक्षकहरूद्वारा छानिएका कृषक परिवार (औसतमा २५ वटा) मा पुगी गणकहरूद्वारा कृषक परिवार प्रश्नावली फारममार्फत् कृषकले चलन गरेको जग्गा तथा पशुपन्छीय पालन, अन्य खेती, वातावरणलगायत विविध विषयसम्बन्धी विस्तृत विवरण दोस्रो चरणमा सङ्कलन गरिने उनले बताए ।

भर्खरै सम्पन्न गरिएको जनगणनाको आधारमा पालिकाभित्र रहेका वडालाई पनि वडाखण्ड गरी गणकले सोही आधारमा घरदैलो गर्ने उनको भनाइ थियो । झापामा रहेका १ सय ४५ वटा पालिकाभित्र ३ सय ७६ वडाखण्ड र ९ हजार ४ सय कृषक परिवार रहेको तथ्याङ्कले देखाएको छ । गणना कार्य ०७९ जेठ मसान्तमा सम्पन्न हुनेछ ।

जिल्ला कृषिगणना समन्वय समिति तथा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी, सरकारी कार्यालयका कर्मचारी, सहकारी, बैङ्क, कृषि फार्म, पत्रकारलगायतले सुझाव तथा  जिज्ञासा राखेको कार्यक्रमको सञ्चालन कृषि गणना कर्मचारी राजन न्यौपानेले गरेका थिए ।