विराटनगर । विराटनगरमा परम्परागत नेवारी संस्कृतिको एक अभिन्न अङ्ग मानिने भीमसेन जात्रा यस वर्ष पनि भव्यताका साथ सम्पन्न भएको छ ।
विराटनगर–१० स्थित सनसारी माईस्थानमा रहेको भीमसेन मन्दिर सेवा समितिको आयोजनामा प्रत्येक वर्ष इन्द्रजात्राका दिन निकालिने यो जात्राले नेवारी समुदायको मौलिक कला, संस्कृति र परम्परालाई जीवन्त राख्न महŒवपूर्ण भूमिका खेलेको छ । जात्राको भव्य आयोजनाले विराटनगरको सांस्कृतिक विविधतालाई थप उजागर गरेको छ ।
शनिबार मन्दिर परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बीच विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीले भीमसेनको मूर्तिमा विधिवत् पूजापाठ गरी जात्राको उद्घाटन गरेकी थिइन् । जात्राको उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, भक्तजन, नेवारी समुदायका अगुवा तथा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । उपप्रमुख कार्कीले जात्राको सुरुवात गरेलगत्तै सनसारीमाईस्थानबाट झाँकीसहितको भीमसेनजात्रा निकालिएको थियो । यो झाँकी ट्राफिकचोक, महेन्द्रचोक हुँदै पुनः सनसारी माईस्थानमा पुगेर सम्पन्न भएको थियो । जात्रामा परम्परागत बाजागाजा, विभिन्न सांस्कृतिक वेशभूषामा सजिएका सहभागीहरू तथा स्थानीयहरूको उत्साहपूर्ण सहभागिताले माहोललाई थप रौनकमय बनाएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकाकी उपप्रमुख कार्कीले नेपाललाई बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुकका रूपमा विश्वमा चिनाउन यस्ता परम्परागत जात्राहरूको ठूलो योगदान रहेको बताइन् । उनले नेपालका हरेक जातजातिले आफ्नो मौलिक कला र संस्कृतिको संरक्षण गर्नु अपरिहार्य रहेकोमा जोड दिइन् । उपप्रमुख कार्कीले आर्थिक दृष्टिले नेपाल अझै पनि कमजोर अवस्थामा रहे पनि यहाँको अतुलनीय सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाका कारण नेपाल विश्वमै एक धनी मुलुकको रूपमा चिनिन सक्ने अथाह क्षमता रहेको उल्लेख गरिन् । उनले नेवारी संस्कृतिलाई नेपालको एउटा अमूल्य धरोहरका रूपमा व्याख्या गर्दै यसले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा छुट्टै पहिचान दिलाएको बताइन् । विराटनगरमा निकालिने भीमसेनजात्रा पनि यही समृद्ध नेवारी संस्कृतिको एउटा महŒवपूर्ण प्रतीक भएको उनको भनाइ थियो । उपप्रमुख कार्कीले जात्रालाई निरन्तरता दिन तथा भीमसेन मन्दिरको संरचना निर्माण र संरक्षणमा महानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।
भीमसेन मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सञ्जय श्रेष्ठले जात्रा प्रत्येक वर्ष अझै भव्य र व्यवस्थित बन्दै गएकोमा खुसी व्यक्त गरे । यसैगरी समितिका महासचिव भविसकुमार श्रेष्ठले भीमसेनजात्राले नयाँपुस्तालाई आफ्नो मौलिक भाषा, कला र संस्कृतिप्रति आकर्षित गर्न मद्दत पुगोस् भन्ने अपेक्षा व्यक्त गरे । उनले पछिल्लो समय नेपाली समाजमा पाश्चात्य संस्कृतिको प्रभाव बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै भीमसेनजात्राजस्ता मौलिक संस्कृतिले युवापुस्तालाई आफ्नै परम्परा र मूल्यप्रति सचेत बनाउन महŒवपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । “हाम्रो संस्कृति नै हाम्रो पहिचान हो । त्यसलाई जोगाउनु प्रत्येक समुदायको जिम्मेवारी हो” महासचिव श्रेष्ठले भने, “सांस्कृतिक संरक्षणको सबै लाग्नु पर्दछ ।”
युवापुस्तालाई आफ्ना जराहरूसँग जोड्न र सांस्कृतिक विचलनबाट बचाउन यस्ता पर्वहरूको भूमिका अतुलनीय हुने उनको भनाइ थियो । भीमसेन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुरेश श्रेष्ठले पनि नेवार समुदायको संस्कृति संरक्षणमा समिति निरन्तर ध्यान दिँदै आएको बताए । उनले यस्ता जात्राहरूले समुदायमा आत्मियता बढाउनुका साथै पुस्तान्तरणका लागि पनि महत्वपूर्ण योगदान पुर्याउने बताए । विराटनगरमा आयोजित यो भीमसेन जात्राले धार्मिक आस्था, सांस्कृतिक सद्भाव र सामुदायिक एकतालाई प्रगाढ बनाउनुका साथै भावीपुस्ताका लागि पनि मौलिक नेपाली संस्कृतिलाई हस्तान्तरण गर्न महत्वपूर्ण कडीको रूपमा काम गर्ने देखिएको छ । सांस्कृतिक सम्पदाको संरक्षण र सम्बद्र्धनमा स्थानीय सरकार र समुदायको सहकार्यको यो उत्कृष्ट उदाहरण बनेको छ ।