विराटनगर । मोरङको कटहरी गाउँपालिकामा सञ्चालित ग्रिन टायर्स लिमिटेडभित्र रहेका तीन उद्योगहरूबाट निस्किएको भयावह प्रदूषणले स्थानीयवासीको जनजीवन, स्वास्थ्य, कृषि र वातावरणमाथि गम्भीर असर पारेको छ ।
उद्योगी बिनित सिङ्घानियाको स्वामित्वमा रहेको करिब २० बिघा क्षेत्रफलमा फैलिएका ग्रिन कन्स्ट्रक्सन, ग्रिन टायर्स र ग्लोबस बायो इन्भेष्टमेन्ट इनर्जीबाट निस्कने दूषित धुवाँ र रसायनले कटहरी गाउँपालिकाका–१, २, ३ र ४ नम्बर वडाका दुई सयभन्दा बढी घरपरिवार पीडित बनेका छन् । प्रदूषणको विकराल समस्याका कारण आजित भएका स्थानीयले न्यायको माग गर्दै गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिन बाध्य भएका छन् ।
ग्रिन कन्स्ट्रक्सनले सिमेन्टको स्यालप, ग्रिन टायर्सले मोटरसाइकलदेखि ठूला सवारी साधनका टायर र ग्लोबल बायो इन्भेष्टमेन्टले उद्योग तथा सडक पिचमा प्रयोग हुने तेल उत्पादन गर्दछ । यी तीनवटै उद्योगबाट दिनरात निस्कने दूषित धुवाँ र प्रदूषणले स्थानीयको दैनिकी कष्टकर बनाएको छ । कटहरी–१ की ६४ वर्षीया शान्ता नेपालले उद्योगबाट निस्कने प्रदूषणका कारण केही वर्षदेखि स्वास्थ्यमा गम्भीर असर पर्न थालेको बताएका छन् ।
“दिनभरि र रातभरि उद्योग चल्दा वातावरणमा नराम्रो असर पु¥याएको छ । उद्योगबाट दूषित धुवाँको मुस्लो निस्कने गरेको छ । यसबाट कटहरी गाउँपालिकाको ४ नम्बर वडा मात्र होइन, १ नम्बर वडासम्म आइपुग्ने गरेको छ” नेपालले भने, “हाम्रा जीवन, स्वास्थ्य, पर्यावरण, कृषि, जैविक विविधतालगायत सम्पूर्ण क्षेत्रमा प्रत्यक्ष नकारात्मक असर पुर्याइरहेको छ ।”
प्रदूषणको प्रभाव मानव स्वास्थ्यमा मात्र सीमित छैन, यसले स्थानीयको कृषि उत्पादनमा समेत ठूलो क्षति पु¥याएको छ । शान्ता नेपालका अनुसार, खेतबारीमा लगाएको धानमा उद्योगबाट निस्किएको धुवाँले धानको पातलाई पूरै कालो बनाइदिएको छ । त्यस्तै धोएको सेतो लुगासमेत उद्योगबाट निस्कने फोहोरले कालो हुने गरेको छ, जसले गर्दा सामान्य जीवनयापनमा समेत कठिनाइ भएको छ । यो प्रदूषणका कारण हैरानी भएपछि स्थानीयहरूले उद्योगलाई व्यवस्थित गर्न वा बन्द गरेर जनतालाई सहजता प्रदान गर्न माग गर्दै गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएका छन् ।
स्वास्थ्यमा असर र जैविक विविधतामा क्षति
स्थानीय भवानीप्रसाद दहालले उद्योगका मेशिनहरू राति १२ बजेपछि पनि चल्ने गरेको र उपकरणबाट निस्कने कवाड प्रयोगबाट निस्किने धुवाँका कारण प्राकृतिक प्रदूषण भयावह अवस्थामा पुगेको बताए । उनले यसले बालबालिकालाई अक्सिजन ग्रहण गर्न नसक्ने, दमको समस्या तथा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखापरेको उल्लेख गरे । दहालका अनुसार, बालबालिकाहरूलाई श्वास–प्रश्वासमा समेत समस्या देखिएको बताए । बोटबिरुवालगायतका समेत उक्त धुवाँको कारणले विषादीयुक्त पदार्थ ग्रहण गर्न बाध्य भएका छन्, जसले प्राकृतिक जैविक विविधतामा समेत गम्भीर असर पारेको छ ।
मानव स्वास्थ्यमा यसको दीर्घकालीन प्रभाव भयावह देखिएको छ । खाना प्रशोधनमा समस्या, आँखाको समस्या, बालबालिका तथा वृद्धवृद्धामा श्वास फेर्न गाह्रो हुने र विभिन्न किसिमका रोगहरू सिर्जना हुने समस्या अत्यन्तै भयावह अवस्थामा पुगेको स्थानीयको भनाइ छ । दहालले प्रदूषणमुक्त स्वच्छ वातावरणको माग गर्दै, नागरिकको स्वास्थ्य सुरक्षित राखी कृषि उत्पादनलाई अवरोध नगरी जैविक सुरक्षा कायम राख्न र वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण व्यवस्थापन गर्न बनेको ऐन, २०७६ मा समेत उल्लेख भएबमोजिम व्यवस्था गरी दिन आग्रह गरेका छन् ।
स्थलगत निरीक्षणको तयारी
कटहरी गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक सीतादेवी राजवंशीले पीडितहरूले दिएको निवेदन र प्रतिवादीको जवाफ दुवै सुनेको जानकारी दिएकी छन् । उनले उद्योगको स्थलगत निरीक्षण गर्ने निर्णय भएको बताएकी छन् । राजवंशीले भनिन्, “न्यायिक समितिको तर्फबाट स्थलगत निरीक्षण गर्ने निर्णय भएको छ । त्यो अनुसार कटहरी–१ र ४ नम्बर वडाका प्रतिनिधि र निवेदकहरूको तर्फबाट पाँच जनालाई निरीक्षणमा लैजाने सहमति भएको छ ।” निरीक्षणपछि थप विषयमा आदेश हुने जानकारी पनि दिइन् । स्थानीय निकायले यस विषयलाई गम्भीरतापूर्वक लिएर स्थलगत निरीक्षण गरेर पीडितहरूमा केही आशा पलाउने स्थानीय राधे कामतले बताए । समस्याको दीर्घकालीन समाधानका लागि थप कठोर कदम स्थानीय तहले चाल्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
दाउराको धुवाँ हो, असर गर्दैनः सञ्चालक
उद्योगका अध्यक्ष बिनित सिङ्घानियाले भने उद्योगबाट निस्कने भनेको दाउराको धुवाँ मात्रै भएको दाबी गरेका छन् । उनले टायर उत्पादन गर्दा उद्योगमा चिम्नी रहेको र त्यहाँ दाउरा प्रयोग गर्ने गरेकोले दाउराको धुवाँले त्यस्तो असर नगर्ने तर्क प्रस्तुत गरेका छन् । सिङ्घानियाले स्थानीयले विरोध गरेपछि यसलाई व्यवस्थित गर्ने काम भइरहेको बताए । उनले थपे, “नयाँ प्रविधि आएको छ । त्यो टेक्नोलोजी आएपछि धुवाँलाई केही हदसम्म नियन्त्रणमा गर्दछ ।” विगत सात वर्षदेखि सञ्चालनमा रहेको यो उद्योगबाट दैनिक ६ हजार लिटर तेल उत्पादन गर्दै आएको छ ।
उद्योग सञ्चालकको दाबी र स्थानीयको भोगाइमा ठूलो भिन्नता देखिन्छ । स्थानीयवासीले धुवाँ मात्र नभई रसायन र अन्य दूषित पदार्थका कारण व्यापक प्रदूषण भएको बताएका छन् । उद्योगले नयाँ प्रविधि भिœयाएर प्रदूषण नियन्त्रण गर्ने आश्वासन दिए पनि यसको कार्यान्वयन कहिले हुन्छ र कति प्रभावकारी हुन्छ भन्नेमा स्थानीयहरूमा सन्देह कायम छ । उद्योगको यस किसिमको बेवास्ताले स्थानीय समुदायको स्वास्थ्य र वातावरणमाथि खेलवाड भइरहेको अवस्थामा सरकार र सम्बन्धित निकायको तत्काल ध्यान जानुपर्ने स्थानीय रोहितबहादुर थापाले बताए ।