विराटनगर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर चढेको सरकारी गाडीले शनिबार बिहान ललितपुरको हरिसिद्धिमा एक बालिकालाई ठक्कर दिएको छ । 

शनिबार बिहान सवा ७ बजे ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धि माध्यमिक विद्यालयअगाडिको सडकमा दुर्घटना भएको हो । को. १ झ ६९९ नम्बरको सरकारी गाडीले ११ वर्षीया उषा मगर सुनुवारलाई ठक्कर दिएको हो ।

बालिका जेब्रा क्रसिङबाट बाटो काट्दै गर्दा गाडीले ठक्कर दिएको थियो । ठक्करबाट बालिका गाडीको छेवैमा पछारिए पनि मन्त्रीको गाडी नरोकी अगाडि बढेको थियो । घटनास्थलमा उपस्थित मोटरसाइकलमा सवार व्यक्तिहरूले बालिकालाई सडकबाट उठाएर अस्पताल पठाएका थिए । घाइते ११ वर्षीया उषा मगर सुनुवार बी एन्ड बी अस्पतालमा उपचारपछि डिस्चार्ज भएकी छन् ।

मन्त्री मगर एमालेको विधान महाधिवेशनमा सहभागी हुन गोदावरी जाँदै थिए । दुर्घटनाका कारण स्थानीयले केहीबेर सडक अवरुद्ध गरेका थिए । 

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यस घटनालाई सामान्य भनेर राजनीतिकरण नगर्न आग्रह गरेका छन् । एमाले विधान महाधिवेशनमा बोल्दै उनले भनेका छन्, “सामान्यरूपमा एक बच्चीलाई गाडीले छोयो । अस्पताल लगिसकियो । त्यस्तो क्षति पनि भएको छैन ।” ओलीले महाधिवेशन भाँड्ने षड्यन्त्रको आरोप लगाएका छन् ।

ललितपुरका एसपी चक्रराज जोशीका अनुसार मन्त्री सवार गाडीलाई प्रहरीले गोदावरीबाट नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान जारी रहेको छ । सरकारले उपचार खर्च बेहोर्ने सहमतिपछि अवरुद्ध सडक खुलाइएको छ ।