धरान । धरानमा शुक्रबार सम्पन्न दोस्रो अन्डर १३ फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस स्कुलले उपाधि जितेको छ ।
धरान–१७ स्थित नमस्ते फुटबल मैदानमा भएको फाइनल खेलमा फेयर फुटबल क्लबलाई १– ० गोलले हराउँदै उपाधि जितेको हो । उपाधि जितेको पुलिस स्कुलले नगद १५ हजार रुपैयाँसहित ट्रफी पाएको छ । उपविजेता बनेको फेयर क्लब १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाएको छ ।
प्रतियोगितामा पुलिस स्कुलका रिजन गुरुङको गोल नै निर्णायक बनेको थियो । खेलको पूर्वाद्र्धमा उनले फ्रिकिकमार्फत् गोल गर्दै टिमलाई अग्रता दिएका थिए । उनको गोल नै निर्णायक बनेको थियो । फाइनल खेलको म्यान अफ दी म्याचसहित बेस्ट मिडफिल्डरको विधागत पुरस्कार पनि पाएको प्रतियोगिता संयोजक भिक्टोर सुनुवारले जानकारी दिए ।
प्रतियोगितामा व्यक्तिगत विधातर्फको अधिकांश पुरस्कार पुलिस स्कुलका खेलाडीहरूले पाएका थिए । प्रतियोगितामा बेस्ट प्रशिक्षक सागर कार्की, बेस्ट गोलकिपर आदित्य सोताङ, बेस्ट स्ट्राइकर अमोस राई, बेस्ट डिफेन्डर यारिन भुजेल र सर्वोत्कृष्ट खेलाडी उज्वल घतानीले पुरस्कार पाएका छन् । विधागततर्फ फेयरका युसुफ मगर सर्वाधिक गोलकर्ता घोषित हुँदै ट्रफी पाए । उनले खेल अवधिभर कुल १० गोल गरेका थिए ।
क्लब धरान–१७ को आयोजनामा भदौ ११ गतेदेखि सुरु भएको प्रतियोगितामा धरानभरिका १६ वटा टिमहरू सहभागी रहेको अध्यक्ष सतिस राईले जानकारी दिए ।
प्रतियोगिताका लागि पहिलो पुरस्कार धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले सौजन्य गरेका थिए भने दोस्रो पुरस्कार धरान–१७ कै सेन्ट जोसेफ स्कुलले गरेको थियो । प्रतियोगितामा विजेता, उपविजेता टिमलाई धरान–१७ का वडासदस्य लक्ष्मण राई, लक्ष्मी रामपाललगायतले पुरस्कार प्रदान गरेका थिए ।