विराटनगर । अपराध अनुसन्धान, रोकथाम र नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले मोरङको कटहरी गाउँपालिकाले स्थानीय प्रहरीलाई दुई थान ‘बडी वान क्यामरा’ प्रदान गरेको छ । यस प्रविधिमैत्री सहयोगले पालिकाभित्र शान्ति सुरक्षा कायम गराउनुका साथै अपराध अनुसन्धानलाई वैज्ञानिक र तथ्यपरक बनाउन ठूलो मद्दत पुग्ने विश्वास गरिएको छ । 

कटहरी गाउँपालिकाले मोरङमा प्रहरीलाई अनुसन्धानमा सहयोग पुर्याउन बडी वान क्यामरा हस्तान्तरण गर्ने पहिलो स्थानीय तह बनेर उदाहरणीय कार्य गरेको छ ।

आइतबार कटहरी गाउँपालिकामा आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष देवराज चौधरीले कटहरी प्रहरी चौकी र थलाहा प्रहरी चौकीका लागि उपलब्ध गराइएका उक्त क्यामरा मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियालाई हस्तान्तरण गरे । अध्यक्ष चौधरीले दुई थान बडीवान क्यामराको कुल मूल्य १ लाख ८४ हजार रुपैयाँ रहेको जानकारी दिँदै प्रविधिको प्रयोगले अपराध अनुसन्धानमा महŒवपूर्ण सहयोग पुग्ने बताए । उनले गाउँपालिकाले कटहरी प्रहरी चौकीको लागि पाँच कठ्ठा जग्गा पनि चाँडै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । हाल कटहरी प्रहरी चौकी गाउँपालिकाभित्रकै भवनमा बस्दै आएको छ ।

बडीवान क्यामरा ग्रहण गर्दै मोरङ प्रहरी प्रमुख एसपी चिमरियाले यस प्रकारको प्रविधिले अपराध अनुसन्धानलाई वैज्ञानिक र तथ्यपरक बनाउँदै समग्र शान्ति सुरक्षा व्यवस्थापनमा ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गरे । “पछिल्लो समय समाजमा विभिन्नखालका अपराधहरू बढ्दै गएका छन् । यस्तो क्यामराले अपराध रोकथाम र नियन्त्रण गर्नुका साथै अनुसन्धानमा ठूलो भूमिका निर्वाह गर्नेछ”–उनले भने ।  एसपी चिमरियाले अन्य पालिकाहरूलाई पनि यस्तै सहयोगका लागि आग्रह गरेको बताए ।

“बडीवान क्यामराले तथ्यसहितको अनुसन्धानमा सहयोग पु¥याउनेछ । यसले प्रहरीको आचरण र व्यवहारलाई पनि अनुगमन गर्न सक्नेछ, जसले गर्दा अपराध अनुसन्धानमा महŒवपूर्ण भूमिका खेल्नेछ”–उनले भने ।  यसबाट प्रहरीको काममा पारदर्शिता आउने र नागरिकको विश्वास थप बढ्ने अपेक्षा गरिएको छ । आधुनिक प्रविधिको प्रयोगले अनुसन्धान प्रक्रियामा निष्पक्षता र प्रामाणिकता बढाउँछ, जसले गर्दा न्यायिक प्रक्रियामा पनि सहजता आउने उनको भनाइ छ । 

प्रहरी सेवामा बडीवान क्यामराको प्रयोग बढ्दो क्रममा रहेको छ । यी क्यामराले घटनाको वास्तविक भिडियो र अडियो प्रमाण कैद गर्ने भएकाले अनुसन्धानकर्ताहरूलाई सत्यतथ्य पत्ता लगाउन र दोषीलाई न्यायको कठघरामा ल्याउन मद्दत पुग्छ । यसका साथै यसले प्रहरी अधिकारीहरूको व्यक्तिगत सुरक्षामा पनि सहयोग पु¥याउँछ र उनीहरूको कार्यसम्पादनको मूल्याङ्कन गर्नसमेत आधार प्रदान गर्छ । प्रहरी र नागरिकबीचको अन्तरक्रियाका क्रममा हुने गतिविधिहरूको रेकर्ड राख्दा दुवै पक्षमा जवाफदेहिता बढ्छ र अनावश्यक विवादहरू कम गर्न मद्दत पुग्छ ।

कटहरी गाउँपालिकाले चालेको यो कदमले अन्य स्थानीय तहहरूलाई पनि प्रहरी सेवामा प्रविधिको प्रयोगका लागि प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । अपराधको बढ्दो स्वरूप र प्रविधिको विकाससँगै प्रहरीको अनुसन्धान प्रक्रियालाई पनि सोहीअनुसार आधुनिकीकरण गर्नु अपरिहार्य भएको छ । यस प्रकारका सहयोगले स्थानीय सरकार र सुरक्षा निकायबीचको सहकार्यलाई थप बलियो बनाउँदै एक सुरक्षित र अपराधमुक्त समाज निर्माणको दिशामा महŒवपूर्ण योगदान पु¥याउने एसपी चिमरियाले बताए ।