विराटनगर । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीका क्रममा केही प्रश्नहरूमाथि आक्रामकरूपमा प्रस्तुत भएका छन् । 

विशेषगरी काङ्ग्रेसको भावी उत्तराधिकारी र मन्त्री परिवर्तनको विषयमा सोधिएका प्रश्नहरूमा देउवा जङ्गिएका हुन् ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले संविधान संशोधनका लागि आवश्यक दुईतिहाइ बहुमतबारे सहमति नभएको स्पष्ट पारे । उनले भने, “संविधान संशोधन गर्न दुईतिहाइ बहुमत आवश्यक पर्छ । त्यसका लागि सहमति भइसकेको छैन ।” यद्यपि, संविधान संशोधनका लागि कार्यदल भने चाँडै बन्ने उनले बताए ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पुनरागमनको सम्भावनाबारे सोधिएको प्रश्नमा देउवाले आफूलाई कुनै जानकारी नभएको बताए । “संविधानले केही पनि भनेको छैन । यसबारेमा मलाई त्यति जानकारी छैन” –उनले भने । सामाजिक सञ्जाल बन्द गर्ने नभई दर्ता गर्नुपर्ने विषयमा पनि उनले स्पष्टीकरण दिए । “ओलीजीले सामाजिक सञ्जाल दर्ता गर्नुपर्छ भन्नुभएको छ । बन्द गर्ने भन्नुभएको छैन”–उनले अदालतले पनि दर्ता गर्न भनेको उल्लेख गर्दै भने ।

तर, सरकारमा रहेका मन्त्रीहरू परिवर्तन गर्ने विषयमा पत्रकारले जिज्ञासा राख्दा देउवा एकाएक रिसाए । “तपाईंलाई मन्त्री परिवर्तन गर्ने भनेर कसले भन्यो? कसले भन्यो ? मलाई थाहा छैन । मिडियामा आएको कुरा तपाईंहरूलाई थाहा होला । मन्त्रीहरूलाई फिर्ता बोलाउने कुरा भएको छैन”–देउवाको जवाफ थियो ।

नेपाली काङ्ग्रेसको महाधिवेशनको मिति केन्द्रीय समितिले तोक्ने बताउँदै गर्दा, जब पत्रकारले “काङ्ग्रेसको उत्तराधिकारी अब को हुन्छ ?” भनेर प्रश्न गरेपछि देउवा पुनः आक्रामकरूपमा प्रस्तुत भए । रिसाउँदै उनले प्रतिप्रश्न गरे, “तपाईं हुनुहुन्छ ।”