धरान । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात पितृपक्ष आज (सोमबार) देखि विधिवत् आरम्भ गरिँदैछ ।
प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेतपक्ष आदि नामले पनि बुझिन्छ ।
चाडपर्व यज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।
यसरी सोह्र श्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको पण्डित पुण्यप्रसाद पराजुलीले बताए । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्न नहुने धर्मशास्त्रमा उल्लेख छ ।
कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्धकर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको पण्डित पराजुलीले बताए । यो वर्ष आश्विन कृष्ण पक्ष भदौमै परेको छ ।