सङ्खुवासभा । चिचिला गाउँपालिकाको वडा नम्बर २ मा कार्तिक ८ गते दिउँसो परेको असिनापानीले पाक्नै लागेको बाली नष्ट गरेको थियो । उक्त दिन करिब ३ बजेतिर परेको असिना पानीले चिचिला गाउँपालिकाको वडा नम्बर २ को विभिन्न बस्तीको धान तथा तरकारी बाली नष्ट गरेको हो ।
याफुडाँडा, गैरी आङ्ला, इम्चोङ, याम्दाङ गाउँ, लप्से, ओखरे लगायतका बस्तीका करिब ४ सय परिवारको बाली नष्ट गरेको हो । करिब ३० मिनेट परेको असिना पानीले मुखैमा पुगेको बाली विनाश गरे पछि उनीहरू के गर्ने कसो गर्ने चिन्तामा रहेको स्थानीय दुर्गा बहादुर गुरुङले बताए ।
वर्ष दिन नै नपुगेपनि ८/९ महिनालाई भए पनि जोहो गरेको अन्न र तरकारी बाली नष्ट हुँदा उनीहरू बिचल्लीमा परेका छन् । बर्खामा पेटमा पटुकी कसेर दुःख गरेर रोपाई गरेर केही उब्जनी होला भनेर आशा गरेको खेती नै नष्ट भए पछि उनीहरू चिन्ताले निदाउन सकेको छैन । रोएर नफर्कने भन्दै बिलौना गदै बस्नु र सरकारको मुख ताक्नु बाहेक अर्को विकल्प नरहेको उनीहरू भनाई छ ।
पीडितहरूको राहत व्यवस्थापनमा गाउँपालिका लागि परेको छ । असिनाले क्षति पुराएका पीडितहरूको लागि विभिन्न व्यक्ति तथा संस्थाहरूमा राहत सङ्कलन भइरहेको छ । गाउँपालिकाले पीडितहरूको वर्ग छुटाएर उनीहरूलाई राहत तथा पुनः स्थापनाको लागि पहल गरिरहेको गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले बताए ।
विभिन्न देश विदेशमा रहेको नागरिकहरू र पालिकाको आन्तरिक श्रोतबाट पीडितहरूलाई सुरक्षाको अनुभूति दिलाउन उनीहरूको सहयोगका निमित्त कार्यविधि समेत निर्माण भई सकेको अध्यक्ष शेर्पाले बताए ।
नगदेबालीमा पनि ठुलो क्षति
सोही दिन परेको असिनापानीले स्थानीयको नगदे बालीमा समेत ठुलो क्षति पुराएको छ । गाउँपालिकाले कृषि पकेट क्षेत्र नै घोषणा गरेर लगानी गरिरहेको यो वडाको विभिन्न भूभागका कृषि तथा पशु पन्छी क्षेत्रमा वितण्डा मच्चायो ।
आफ्नो र सरकारको लगानीमा दुःख गरेर उत्पादन गरेको नगदे बालीहरूमा धेरै क्षति पुगेसँगै आगामी दिन आर्थिक समस्या झेल्ने चिन्तामा परेको स्थानीय तारा बहादुर राईले बताए । अर्थोपार्जनको मुख्य श्रोतको रूपमा रहेको अलैँची, खुर्सानी, पशुपालन लगायतका क्षेत्रमा ठुलो क्षति पुगेको छ । जङ्गलमा घाँस नै नपाउने परिस्थिति बनेसँगै पशुपालनमा समेत समस्या उत्पन्न भएको छ । भने अन्य नगदेबालीले उत्पादन नै नदिने सम्भावना रहेको छ ।
असिनापानीले आफूले उब्जनी गरेको तरकारी, अन्नबाली तथा नगदेबालीहरुको पूर्ण रूपमा नष्ट भएपछि तत्कालबाट नै समस्या सुरु भएको उनीहरू बताउँछन् । उठाउने बेलाको अन्न र बिहान बेलुकी उपभोग गर्ने तरकारी समेत नहुँदा के गर्ने भन्ने अन्यौलता छन् ।
गाउँभरिकै अन्न, तरकारी, नगदेबालीको रूपमा रहेको अलैँचीसमेतमा पूर्ण क्षति हुँदा आर्थिक सङ्कट समेत व्यहोर्नु पर्ने उनीहरूको बाध्यता जस्तै भएको छ । नगदेबाली र अन्न उब्जनीको लागि तत्काल राहत उपलब्ध गराउँदै आगम वर्षको लागि बिउ बिजनहरूको व्यवस्थापनमा गाउँपालिका लागेको छ ।
नगदेबालीको विकास गर्दै लैजाने पालिकाको योजना थप बढी स्थानीय नागरिकहरूलाई पालिकाबाट उपलब्ध स्रोतसाधनलाई प्रयोग गरिने गाउँपालिका अध्यक्ष शेर्पाको भनाई छ ।