विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका–४ स्थित मुसहर बस्तीमा बुधबार दिउँसो आगलागी हुँदा ११ वटा घर जलेर पूर्णरूपमा नष्ट भएका छन् । दिउँसो करिब २ बजेतिर सुरु भएको आगलागीले अति विपन्न मुसहर समुदायका ११ परिवारको उठिबास लगाएको छ ।
प्रहरीका अनुसार गोकुवा चोकबाट पूर्वतर्फ रहेको सो बस्तीमा अचानक सल्किएको आगो तीव्र हावाका कारण छिट्टै फैलिएको थियो । बस्तीका अधिकांश घरहरू फुसको छाना र टाटीबेराले बनेका हुनाले आगोले उग्ररूप लिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डिएसपी लीलाराज लामिछानेका अनुसार विराटनगर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको झण्डै ४५ मिनेटको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।
आगलागीका क्रममा घरभित्र रहेका खाना पकाउने ग्यासका सिलिन्डरहरू एकपछि अर्को गरी विष्फोट हुँदा आगो झन् तीव्ररूपमा सल्किएको थियो । आगो थप फैलिन नदिन प्रहरी र स्थानीयले बीचमा रहेको एउटा घर भत्काएका थिए ।
आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न, नगद, सुनचाँदी तथा दैनिक प्रयोगका सबै सामग्रीहरू जलेर खरानी भएका छन् । डिएसपी लामिछानेले क्षतिको यकिन विवरण सङ्कलन गर्ने काम भइरहेको जानकारी दिए ।
घर र जायजेथा सबै खरानी भएपछि दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने भूमिहीन मुसहर परिवारहरू बिचल्लीमा परेका छन् । बालबालिका, वृद्धवृद्धा र महिलाहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।
आगलागीको स्पष्ट कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर वा खाना पकाउने क्रममा असावधानीवश आगो सल्किएको हुन सक्ने अनुमान गरिएको छ । “आगलागी कसरी सुरु भयो भन्नेबारे हामी अनुसन्धान गरिरहेका छौँ” –डिएसपी लामिछानेले भने ।






























