धनकुटा । सोमबार राति आएको हावाहुरीका कारण धनकुटामा दुई दर्जनभन्दा बढी घरमा क्षति पुगेकोे छ । 

धनपा–६ र ४ को सिमानामा पर्ने राष्ट्रिय वनि सल्लेरीलगायत बजारका विभिन्न स्थानमा दर्जनौं सल्ला, रुद्राक्ष, फलेदो र उत्तिसका रुख ढलेका छन् । रुख ढलेर सरकारी, निजी तथा विद्यालय भवनहरूमा २५ लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार आयुर्वेद स्वास्थ्य उपचार केन्द्र, उच्च सरकारी वकिलको कार्यालयमा हावाहुरीको कारण १५ लाख ५० हजार, निजामती आवासीय विद्यालय धनकुटा–७ चुलीवनमा ४ लाख र अन्य निजी घरहरूमा ५ लाख ५५ हजार गरी जम्मा २५ लाख ५ हजार बराबरको क्षति भएको छ ।

रुख ढलेको कारण धेरै स्थानमा क्षति पुगेको जनाइएको छ । त्यस्तै केही घरका छाना उडाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सरतकुमार थापा क्षेत्रीले जानकारी दिए । हावाहुरीका कारण रुख ढल्दा दर्जनौं सरकारी कार्यालय, सरकारी तथा निजी विद्यालयहरूका भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

धनकुटा नगरपालिकाको मदनचोक, बिहीबारे हटिया, माथिल्लो कोप्चे, बालमन्दिर, भीमनारायण चोक, बीचबजार, निजामती आवासीय विद्यालय, बक्रकुण्ड मन्दिर धनपा–१ हिले, फोक्ल्याण्ड टापु धनपा–६ मा रहेका घरहरूमा क्षति पुगेको छ । त्यस्तै निगाले, कागते, सुकेपोखरीलगायतका स्थानमा समेत क्षति पुगेको छ ।

घरका छाना उडाएको र बिजुलीको पोल लडेका छन् । जिल्ला सदरमुकाममा बुधबार अपरान्हसम्म पनि बजार क्षेत्रमा विद्युत् सुचारु हुन सकेको छैन । सदरमुकामबाहिर पनि हावाहुरी आएकाले क्षति भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

त्यस्तै रुख ढलेर कोशी राजमार्गको धनकुटा–हिले खण्डको अवरोध मङ्गलबार बिहान हटाइएको छ । जिल्लाभरिको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए ।