भद्रपुर । भद्रपुर नगरपालिकाले दुई जना पत्रकारसहित विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई सम्मान गरेको छ । नगरपालिकाले बुधबार १७ औं नगर परिषद्को अवसरमा पत्रकार र खेलाडीहरूको योगदानको कदरस्वरूप सम्मान गरेको हो ।
नगरपालिकाले यस वर्षको नगर विकास पत्रकारिता पुरस्कारबाट पत्रकार हुतराज नेपाल (उत्तम) र प्रोत्साहन पत्रकारिता पुरस्कारबाट डिल्लीरमण नेपाललाई सम्मान गरेको छ । ब्लाष्ट दैनिकमा आबद्ध पत्रकार उत्तमलाई नगद ३१ हजार तथा वर्तमान साहित्यिक पत्रिकामा आबद्ध पत्रकार डिल्लीलाई नगद १५ हजारसहित दोसल्ला ओढाएर सम्मान–पत्रले पुरस्कृत गरिएको थियो । उनीहरूलाई नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्रलगायतले सम्मान पत्र प्रदान गरेका थिए ।
त्यस्तै भलिबल खेलाडी तथा कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ मा स्वर्ण पदक ल्याउने खेलाडीहरू प्रमोद पाण्डे, भरत यादव, अभिषेक कामती, रेशल साह, आलोक सिंह, निखिल कामती, आदित्य कामती, आयुष सिटौला, आकाश ठटाल, नितिन मण्डल र रिदम दर्जीलाई कदर–पत्रसहित जनही ५ हजार एक सयले पुरस्कृत गरिएको थियो ।
त्यसैगरी भद्रपुरमा आठौँ नगर स्तरीय तथा १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गराउन सहयोगी भूमिका निर्वाह गर्नेहरूलाई पनि कदर–पत्र प्रदान गरिएको थियो । सभामा विषयगत समितिहरूको अर्धवार्षिक समीक्षा, विनियोजन विधेयक २०८२ संशोधन स्वीकृति र अनुमोदन, जेन जी आन्दोलनको क्रममा क्षति भएको जानकारी गराइएको थियो । साथै सहभागी जनप्रतिनिधिहरूले सडक, सरसफाइ, विद्युत्, खानेपानी, पुललगायतका विषयमा राखेको जिज्ञासाबारे नगर प्रमुख पोखरेलले जवाफ दिएका थिए ।































