यासोक/ झापाका सवारी चालक लक्ष्मण घिमिरे मालबाहक ट्रकभरी खाद्यान्न बोकेर पाँचथरको कुम्मायक गाउँपालिका हिंडे ।
झापा, इलाम हुँदै पाँचथरको सदरमुकाम फिदिम सकुशल पुगे ।
उनीसहित अन्य साथी ट्रकमा खाद्यान्न बोकेर सहजै फिदिम पुगेका थिए । त्यसपछि फिदिमबाट ३३ किलोमिटर दक्षिणको कुम्मायक गाउँपालिकातर्फ अघि बढे ।
त्यसपछि भने उनीहरुको यात्रा निकै कष्टकर भयो । हिलाम्मे सडकका कारण ३३ किलोमिटरको सडक पार गर्न उनलाई १५ दिन लाग्यो । गाडी र जङ्गलमै दिनरात चाउचाउ र पानीका भरमा यासोक बजार पुगे ।
हिलाम्मे सडकमा फसेको गाडी निकाल्न ठूलै मिहिनेत गर्नु प¥यो ।
उनको जस्तै पीडा हेटौंडा स्थायी ठेगाना बताउने अर्का चालक अर्जुन चम्लागाईंको पनि छ ।
१३ दिनपछि बजारको छेउमा पुग्न पाएकामा उनी खुसी देखिन्थे । तर आफूसँगै आएका अन्य ४ ट्रक लामो समयदेखि जंगलमा अलपत्र हुँदा दुःख लागेको उनको गुनासो थियो ।
‘हप्ता दिन भयो, जंगलमा साथीहरु बास बसेको गाडी एक पाइलो सर्दैन’ चम्लागाईंले भने, ‘जेसिबी प्रयोग गर्दा समेत गाडी निस्किएको छैन । हामीलाई कसैले सहयोग गरेनन् ।’
घिमिरे र चम्लागाईं प्रतिनिधि पात्र मात्रै हुन् । फिदिम—यासोक सडक पार गर्दा ठूलै युद्ध जितेको अनुभव हुने अन्य सवारी चालकहरु बताउँछन् ।
कोरोना भाइरसको समयमा बिरामी बोकेका एम्बुलेन्स, अत्यावश्यक कामले हिंडेका यात्रुहरु सहजै गन्तव्यमा पुग्न सकेका छैनन् । स्थानीय बजारमा खाद्यान्न संकट देखा पर्न थालेको छ ।
वर्षेनी यस्तै समस्या दोहोरिंदा सरकारको अनुभूति गर्न नसकेको स्थानीयवासी राजु खतिवडा बताउँछन् ।
ठेकेदार र सम्बन्धित निकायको बद्मासीले जनताले सास्ती भोग्नु परेको उनको गुनासो छ ।
समयमै सडकको काम पूरा गर्न पटक–पटक जनप्रतिनिधि, पूर्वाधार विकास, ठेकेदार र प्रदेश सरकारलाई हार–गुहार गर्दा समेत चासो नदिएको खतिवडाको गुनासो छ ।
यासोक—सरखण्डे ११ दशमलव ३ किलोमिटर सडक कालोपत्रे गर्न प्रदेश १ सरकारको सहयोगमा पूर्वाधार विकास कार्यालय पाँचथरले लामा च्यामिला जेभी काठमाडौंलाई २०७६ सालमा ठेक्का दिएको थियो ।
२०७८ असारमा काम पूरा गर्ने गरी ठेकेदार कम्पनीले ५३ करोड ३३ लाख ६ हजार ४ सय ८१ रुपैयाँमा ठेक्का पाएको थियो । सो अवधिमा समेत योजनाको काम पूरा नहुँदा नागरिकले सास्ती भोगिरहेका छन् ।
हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे सडकका कारण जिल्लाको कुम्मायक, फाल्गुनन्द र तुम्बेवा गाउँपालिकाका नागरिक मारमा परेका हुन् । अहिले ठेकेदार र सम्बन्धित निकायले चासो नदिंदा योजना अलपत्र परेको स्थानीयले बताएका छन् ।
योजनाको काम गर्दै आएको ठेकेदार कम्पनी कोरोना भाइरस र बर्खाको कारण देखाउँदै पन्छिने गरेका छन् ।
यता पूर्वाधार विकास कार्यालय पाँचथरले सुरुमा काम राम्रो गरेको तर हाल आएर ठेकेदार कम्पनी सम्पर्कविहीन भएको जनाएको छ ।
‘कार्यालयको तर्फबाट निर्माण क्षेत्रमा खटिन निर्देशन दिएका थियौं, निर्देशन दिएको सुरुवाती समयमा राम्रो काम गरेको थियो, तर अहिले ठेकेदार कम्पनी सम्पर्कविहीन छ,’ कार्यालयका प्रमुख ललितकुमार चौधरीले भने, ‘पटकपटक सम्पर्क गर्दा समेत सम्पर्कमा आएका छैनन् ।’
ठेकेदार कम्पनीले योजनाको ४५ प्रतिशत भौतिक र ३५ प्रतिशत आर्थिक प्रगति गरेको छ ।
योजनाको काम पूरा गर्न पुनः ६ महिना म्याद थप गरिएको छ । सो समयमा पनि योजना पूरा नभए एक वर्षसम्म म्याद थप गर्न सकिने कार्यालयले जनाएको छ ।
यसै बीच कुम्मायक गाउँपालिकाले तत्काल योजनाको अघि बढाउन ठेकेदारलाई पत्रचार गर्ने बताएको छ ।
पूर्व सहमतिअनुसार काम गर्न अटेर गरे कानुनी उपचारको खोजी गर्ने १ नम्बर वडा अध्यक्ष देवेन्द्रकुमार लावतीले बताए ।
गाउँपालिकाको पहलमा १२ महिना सवारी आवागमनमा सहज बनाउने विषयमा ठेकेदार, पूर्वाधार विकास कार्यालय र जनप्रतिनिधि बीच सहमति भएको थियो ।
तर उक्त सहमतिलाई ठेकेदार कम्पनीले लत्याएपछि नागरिकले सास्ती पाइरहेका छन् ।