विराटनगर/  विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ । 

प्रदेश नं.१ मै पहिलो पटक नोबेलले मिर्गौला प्रत्यारोपण सेवा थाल्ने तयारी गरेको हो । 

नोबेल शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ ।

मिर्गौला प्रत्यारोपण सम्बन्धि सेवाका लागि नोबेलले अनुमति माग गर्दै २०७६ भदौ महिनामा दरखास्त दिएको थियो ।

स्वास्थ्य सेवा बिभागको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले नोवेललाई मिर्गौला प्रत्यारोपणका लागि अनुमतिसमेत दिइसकेको छ ।

नोबेलले अहिले मिर्गौला प्रत्यारोपण बाहेक मिर्गौला रोग सम्बन्धि सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ । अब, सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक प्रा.डा.प्रेम ज्ञवालीसहितको टिमसँगको समन्वयमा मिर्गौला प्रत्यारोपण सुरु गरिनेछ । 

मुख्यगरी दुबै मिर्गौला ‘फेल’ भएका व्यक्तिलाई अर्को व्यक्तिको मिर्गौला प्रत्यारोपण गरेर ज्यान बचाउने गरिन्छ । यो सेवा अहिले काठमाडौंमा मात्र उपलब्ध छ । 

नोबेलले मिर्गौला प्रत्यारोपण सेवा थालेपछि पूर्वी नेपालसहित अन्य क्षेत्रका विरामीलाई पनि धेरै सहज हुने नोबेलका प्रवन्ध निर्देशक इन्दिरा शर्माको भनाई छ ।

सो विषयमा जाँचबुझपछि साउन १ गतेको निर्णय बमोजिम मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि नोवेललाई अनुमति प्रदान गरिएको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले जनाएको छ ।

मिर्गौला प्रत्यारोपणका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको नोबेल अस्पतालका मिर्गौला रोग विशेषज्ञ तथा मिर्गौला प्रत्यारोपण फिजिसियन डा.शैलेन्द्र श्रेष्ठले बताए । 

‘मेनपावर, इन्फ्रास्ट्रक्चर लगायतको व्यवस्थापन भइसकेको छ । अङ्ग प्रत्यारोपण समन्वय समितिले पनि अनुमति दिइसकेकाले अब थप केही उपकरणहरुको व्यवस्थापन पछि सेवा सुरु हुन्छ,’ डा.श्रेष्ठले भने ।

मिर्गौला प्रत्यारोपणका लागि डा.श्रेष्ठसँगै, यूरोलोजिष्ट तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा.रामसागर शाह लगायत दक्ष जनशक्तिको टिम नोबेलमा छ ।

मिर्गौला प्रत्यारोपण गर्न अप्रेशन कक्ष र विरामी राख्ने बेडको व्यवस्थापन पनि मिलाइसकिएको छ । अब, आवश्यक उपकरणहरु जर्मन र अमेरिकाबाट ल्याएर साउन अन्तिम साताबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने नोबेल अस्पतालका सञ्चालक डा।सुनिल शर्मा बताउँछन् । 

उनी भन्छन्, ‘सबै सामानहरु अर्डर भइसकेको छ, सामान आएपछि यही महिनाबाट पूर्वी नेपालमै पहिलो पटक नोबेलमा मिर्गौला प्रत्यारोपण गर्न थाल्छौ ।’