काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोके पनि निर्वाचनको सुनिश्चितता छैन तर नयाँ मतदाता र राजनीतिक दल दर्ताको लहर भने जारी रहेको छ ।
निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलनमा हालसम्म दुई लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् भने निर्वाचन घोषणापछि २१ नयाँ दलले दर्ताका लागि आयोगमा आवेदन दिएका छन् । केही दलले दर्ता प्रमाण–पत्र पनि पाइसकेका छन् । केही दल विभाजन भई नयाँ दलको मान्यता पाएका छन् । केही दल एकताको प्रक्रियामा छन् । दल थपिने क्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
एक सय २५ दल दर्ता
आयोगमा हालसम्म राजनीतिक दल दर्ताको सङ्ख्या एक सय २५ पुगेको छ । निर्वाचन घोषणापछि विभिन्न २१ नयाँ दलले निर्वाचन आयोगका दर्ताका लागि निवेदन दिएकामा अध्ययनपश्चात् स्वीकृत हुने क्रम जारी रहेको छ । पछिल्लो दिनमा कविर सोपको नेतृत्वमा ‘जाँतो’ निर्वाचन चिह्न भएको नागरिक उन्मुक्ति पार्टी नेपाल नयाँ दर्ता भएको छ भने वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्र्टी एकता राष्ट्रिय अभियान खारेज भएको छ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र दिनेशराज प्रसाईं नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी नयाँ थपिएको छ । दल विभाजन भई राष्ट्रिय जनमुक्ति पार्टी र जनस्वराज पार्टी नयाँ दल भएको आयोगले जनाएको छ ।
नेपालको संविधान, २०७२ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम राजनीतिक दल दर्ताको निवेदनका लागि दलको विधान, नियमावली र घोषणा–पत्र दुई–दुई प्रति, झण्डा, लोगो, छाप, रोजिएको चुनाव चिह्न, दलको नाम र सो दलको प्रधान कार्यालयको ठेगाना, केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको केन्द्रीयस्तरको समितिका सदस्य तथा अन्य पदाधिकारीको नाम र ठेगाना, दलको आय स्रोतको कोष र सो जुटाउने स्रोतको विवरण आदि खुलाउनु पर्छ ।
निर्वाचन प्रयोजनका लागि अलग्गै दर्ता हुनुपर्ने
निर्वाचन प्रयोजनका लागि आयोगले सूचना प्रकाशन गरेपछि पुराना र यी नयाँ दलले निर्वाचनमा भाग लिने भएमा पुनः दल दर्ताको निवेदन दिनुपर्ने हुन्छ । त्यसअघि नयाँ दलले दर्ताको निवेदन स्वीकृत गराई दर्ता प्रमाण–पत्र लिइसकेको हुनुपर्छ । आयोगले गत असोज २० गते स्वीकृत गरेको निर्वाचन कार्यतालकाअनुसार यही कात्तिक २८ गते निर्वाचन प्रयोजनाका लागि दल दर्ताको सूचना प्रकाशन गर्नेछ । सोका लागि आयोगले आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म १० दिनको समय दिनेछ । यसरी दर्ता गर्ने दलले मात्र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनका दल दर्ताका लागि निवेदन दिन पाउने आयोगले जनाएको छ ।
एक करोड ८१ लाख पुगे मतदाता
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरी आयोगद्वारा सञ्चालित मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा उत्साहजनक सहभागिता भइरहेको र बुधबारसम्म दुई लाख ५० हजार पाँच सय ३२ नयाँ मतदाता थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
यही बुधबारसम्म थपिता कुल मतदाता एक करोड ८१ लाख ६८ हजार २ सय ३० पुगेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । त्यसमा महिलाको सङ्ख्या ८९ लाख १६ हजार ५ सय २ रहेको छ ।
आयोगका सातवटै प्रदेश र ७० वटै जिल्ला निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म मतदाता नामावली सङ्कलन तथा अद्यावधिक भइरहेको छ । आयोगले गत असोज १० गतेदेखि सञ्चालन गरेको नामावली सङ्कलनको कार्य यही कात्तिक ३० गतेसम्म जारी राख्ने जनाएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा भाग लिई विवेकको मत प्रयोग गर्ने अवसरका लागि नाम दर्ता गराउन युवा युस्तालाई आह्वान गर्दै आएकी छन् । पछिल्लो समय मतदाता नामावलीमा नाम दर्ता गर्नेको उत्साहपूर्ण सहभागिता रहेको निर्वाचन कार्यालयहरूले जनाएका छन् । (रासस)
































