धरान । जेन जी आन्दोलनको क्रममा सरकारी सम्पत्ति, सम्पदा, प्रहरी कार्यालय तोडफोड, आगजनी तथा लुटपाट गर्नेलाई धमाधम पक्राउ गरिरहेका बेला धरानका घरघर तथा पार्टी कार्यालयहरूमा तोडफोड तथा आगजनी गर्नेहरू हालसम्म पक्राउ परेका छैनन् । सम्बन्धित निकायले कारबाही गर्ने आश्वासन दिँदै आएको छ ।

पीडितहरू घरि प्रहरी कार्यालय, घरि प्रशासन कार्यालय गई कारबाहीको माग गरिरहेका छन् । जेन जीको नाममा आगजनी, तोडफोड तथा लुटपाट गरेको भन्दै गत सोमबार धरानका पीडितहरू जिल्ला प्रशासन कार्यालय सुनसरी पुगेका थिए । पीडितहरूले ‘राज्य भएको अनुभूति दिलाउनु पर्छ’ भनी माग राखेका थिए । न्यायको माग गर्दै जिल्ला प्रशासन पुगेकी धरान उपमहानगरकी पूर्व उपप्रमुख मञ्जु भण्डारी सुवेदीले भनिन्, “आरोपीहरू छाती खोलेर छ्यापछ्याप्ती हिँडिरहेका छन् । हामीलाई राज्य भएको अनुभूति दिलाउनुपर्छ भनेर माग राख्यौँ ।”

पूर्व उपप्रमुख भण्डारीको घरमा गत भदौ २४ गते जेन जी आन्दोलन समाप्त भएपश्चात् आगजनी तथा तोडफोड भएको थियो । उनको घरमा ५६ लाख ५० हजार रुपैयाँ बराबरको क्षतिको आँकलन गरिएको छ । उनको घरमा भाडामा बस्दै आएकी सुनिता पोखरेलको पनि तोडफोड तथा आगजनी गरिएको थियो । उनीहरूले व्यक्तिगत रूपमा असोज २ गते इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएका थिए । तत्कालीन समयमा उनीसहित धरान–१५ की वडा सदस्य सिर्जना नेपाल, पूर्व सांसद् जयकुमार राई, नेपाली काङ्ग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापा, सुनसरी क्षेत्र नम्बर १ सभापति सुजेन्द्र तामाङ र सुनिता पोखरेलले किटानी जाहेरी दिएका थिए । तत्कालीन समयमा पूर्व सांसद् जयकुमार राईले ५ लाख ३९ हजार रुपैयाँको क्षति भएको भनी उजुरीमा उल्लेख गरेका थिए । यस्तै सुजेन्द्र तामाङले २३ लाख ९७ हजार क्षति भएको उल्लेख गरेका थिए ।

यस्तै भदौ ३१ गते धरानका पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङ्बोले पनि करिब १२ जनाको नाममा किटानी जाहेरी दिएका थिए । उनको घरमा ५३ लाख २३ हजार रुपैयाँ बराबरको क्षति भएको उजुरीमा उल्लेख छ । तत्कालीन समयमा सबै पीडितहरूले धरान–१७ का मिलन बान्तवा राई, धरान–७ शान्तिपथका दीपचन्द्र राई ‘कान्छी’, हेम सुब्बालगायत विरुद्ध जाहेरी दिएका थिए । तर यतिका समय बित्दा पनि कारबाही नभएपछि थप पीडित भएको महसुस गरेका छन् । “धरानको घटना अलिक फरक छ । यहाँको घटना एकदमै आपराधिक छ । आपराधीकरण गरेको छ, तिनीहरूलाई छाड्नु हुँदैन भन्ने हाम्रो माग हो”–पूर्व उपप्रमुख भण्डारीले भनिन् ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पनि कारबाही प्रक्रिया अगाडि बढाउने आश्वासन दिएको बताए । तत्कालीन पीडित जयकुमार राईले भने, “सिडिओ सा’पले यो घटनालाई गम्भीरतापूर्वक लिएका छौँ । अनुसन्धान गरिरहेका छौँ । चाँडै प्रक्रिया अगाडि बढाउँछौँ । तपाईंहरू ढुक्क हुनुस् भनेर भन्नुभयो ।” जेन जी आन्दोलनको क्रममा भदौ २४ गतेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म चार सय २९ जनालाई नियन्त्रणमा लिइसकेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबारको राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने, “जेन जी आन्दोलनको क्रममा आपराधिक कार्यमा संलग्न भएको आरोपमा ४ सय २९ जनालाई पक्राउ गरिसकेका छौँ । ती पक्राउ परेकामाथि विभिन्न शीर्षकमा १ सय ६८ वटा मुद्दा दर्ता भइसकेको छ ।”

जेन जी आन्दोलनको क्रममा अराजक गतिविधिमा संलग्नहरूलाई पक्राउ गरिरहेकाले पनि पीडितहरू हाल कारबाही हुनेमा आशावादी छन् । झापाबाट मात्रै केही दिनमा १५ जना पक्राउ परिसकेका छन् । पक्राउ गर्ने क्रम तीव्र छ । सुनसरी जिल्ला प्रहरी कार्यालयका एसपी केशवकुमार थेबेले भने, “हामीले आन्दोलन र आन्दोलनमा पनि फरक फौजदारी अपराधसँग जोडिएकाहरूको प्रमाण सङ्कलन गरिरहेका छौँ । हामी प्रतिबद्धता गराउन चाहन्छौँ । तत्काल कानूनी दायरामा ल्याउँछौँ । कानूनी कारबाही हुन्छ ।”

धरानका निवर्तमान नगर प्रमुख तिलक राईले अन्यत्र स्थानका आपराधिक क्रियाकलाप भएका घटनामा समातेर कारबाही भइरहेकाले आशा पलाएको बताए । “धरानको घटना अलि फरक छ भनेर पनि भन्यौँ” जिल्ला प्रशासन कार्यालय पुगेका निवर्तमान नगर प्रमुख राईले भने, “सिडिओ सा’पले आपराधिक गतिविधि र तोडफोडमा संलग्न तथा गलत मनसाय भएका व्यक्तिलाई कारबाही गर्छौं भनेर भन्नुभएको छ । हामी आशावादी छौँ । सिडिओ सा’पले पनि जिम्मेवारीपूर्वक कुरा गर्नुभयो ।” सुनसरीका प्रमुख जिल्ला अधिकारी घिमिरेले अनुसन्धान सुरु भएकाले कानून बमोजिम कारबाही हुने बताए । उनले फोनसम्पर्कमा भने, “तोडफोड, आगजनीमा संलग्नहरूको इभिडियन्स सङ्कलन भइरहेको छ । संलग्नहरूलाई कारबाही हुन्छ ।” धरानमा नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) ले पनि कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।