विराटनगर । जब चिकित्सा शिक्षा आयोगले एमबीबीएस तहको प्रवेश परीक्षाको नतिजा निकाल्यो, तब सुनसरी वराहक्षेत्र नगरपालिका–११ को एउटा सामान्य किसान परिवारमा खुसी छायो । त्यो खुसीको कारण थिइन्–२१ वर्षीया विभाकुमारी नायक । जो हजारौँ प्रतिस्पर्धीलाई उछिन्दै छात्रातर्फ नेपाल प्रथम बनेकी थिइन् ।
समग्रमा छैटौं स्थानमा आएकी विभाको यो यात्रा चमत्कारिक नभई निरन्तर मिहिनेत, परिश्रम र दृढ सङ्कल्पका कारणले हो । बुबा श्यामप्रसाद र आमा सानोदेवीको कोखबाट २०६१ साल असोज ३० मा जन्मिएकी विभा चार छोरी र एक भाइमध्येकी माहिली सन्तान हुन् । उनको परिवार कृषिमा निर्भर छ । खेतबारी र पशुपालनबाटै गुजारा चलाउने यो परिवारका लागि छोराछोरीलाई उच्च शिक्षा दिनु आफैमा चुनौतीपूर्ण छ । तर विभाका अभिभावकले आफ्ना सन्तानका लागि पढाइमा कहिल्यै सम्झौता गरेनन् ।
सानैदेखि पढाइमा अब्बल र शान्त स्वभावकी उनलाई कहिल्यै शिक्षकले गाली गरेको सम्झना छैन । “सानैदेखि सबैले असल बानी भएको भन्थे, मेरो पहिलो प्राथमिकता सधैँ पढाइ नै रह्यो”–उनी विगत स्मरण गर्छिन् । उनको लगनशीलता देखेर बुबा श्यामप्रसाद पनि दङ्ग पर्थे । “गृहकार्य नसकी कहिल्यै अरू काम गर्दिनथी”–गर्वका साथ उनी सुनाउँछन् । स्थानीय मोहन माध्यमिक विद्यालयबाट ३.७ जीपीए ल्याएर एसईई उत्तीर्ण गरेकी थिइन् । त्यसपछि कक्षा ११ र १२ अध्ययन गर्न विराटनगर आइन् । विराटनगरको शिक्षादीप कलेजमा भर्ना भइन्, जुन उनका लागि जीवनको एउटा महत्वपूर्ण मोड बन्यो ।
विभाको सफलता एकदमै मौलिक छ । उनको पुस्तक अध्ययन गर्दा मौलिकता, स्वाध्याय र विषयवस्तुको गहिराइसम्म पुग्ने बानी छ । “मैले अरूको कहिल्यै नक्कल गरिनँ” उनी भन्छिन्, “म चौबिसै घण्टा पढ्दिनँ तर जति पढ्छु, बुझेर मात्र पढ्छु ।” कक्षाकोठामा उनी शिक्षकले पढाएको हरेक कुरालाई ध्यान दिएर सुन्थिन् । उक्त पाठलाई नबुझी अर्को पाठमा प्रवेश गर्न रुचाउँदिनथिन् । “मेरो लेखनशैली राम्रो छ, सबै विषयलाई विश्लेषण गरेर लेख्न सक्छु, त्यसैले पनि मलाई परीक्षामा सजिलो भयो होला”–उनी दाबीका साथ भन्छिन् ।
परीक्षा हलमा बस्दा आफूले राम्रो गरेको महसुस भए पनि छात्रातर्फ नेपालकै उत्कृष्ट हुन्छु होला भन्ने नसोचेको उनी बताउँछिन् । “नतिजा आउँदा असाध्यै खुसी लाग्यो, सोचेभन्दा धेरै राम्रो उपलब्धि हात पारँेछु”–उनले भनिन् ।
न्यूरो सर्जन बन्ने लक्ष्य
सानैदेखि डाक्टर बन्ने सपना साँचेकी विभा अब त्यस नजिक पुग्न लागेकी छन् । उनी काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा एमबीबीएस पढ्ने योजनामा छिन् । तर उनको लक्ष्य एमबीबीएसमा मात्र सीमित छैन । भविष्यमा कुशल न्यूरो सर्जन बनेर बिरामीको सेवा गर्न चाहन्छिन् । “सानैदेखिको डाक्टर बन्ने सपना थियो, अब त्यो पूरा हुने भयो” खुसी हुँदै उनी भन्छिन्, “एमबीबीएस सकेर न्यूरो सर्जन बन्ने मेरो लक्ष्य छ ।”
विभाको सफलताले परिवारलाई मात्र होइन । उनी अध्ययनरत शिक्षादीप कलेजलाई पनि गौरवान्वित बनाएको छ । कलेजले कार्यक्रम गरेर उनलाई नगद ५१ हजार रुपैयाँसहितले सम्मान गरेको छ । सम्मान कार्यक्रममा बोल्दै उनले आफ्नो सफलताको श्रेय निरन्तरको लगनशीलता, कलेजको अनुशासित शैक्षिक वातावरण र गुरुहरूको कुशल मार्गदर्शन रहेको बताइन् । उनले भनिन्, “मिहिनेत र सही दिशानिर्देश भयो भने सफलता अवश्य मिल्छ । म आफ्नो कलेज, शिक्षकहरू र परिवारप्रति सधैँ आभारी रहनेछु ।”
कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले विभाको सफलताले कलेज र विराटनगरकै शिर उचो बनाएको बताए । “हाम्रा एक दर्जनभन्दा बढी विद्यार्थीले यसपटक एमबीबीएस प्रवेश परीक्षामा नाम निकालेका छन्, यो हाम्रा लागि गर्वको कुरा हो” उनले भने, “हाम्रो लक्ष्य शिक्षादीपलाई देशकै नम्बर एक कलेज बनाउनु हो र यो नतिजाले हामीलाई थप ऊर्जा दिएको छ ।” शिक्षादीप कलेजबाट वि.सं. २०७९ मा पनि छात्रा अदितीकुमारी जैनले चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा छात्रातर्फ उत्कृष्ट बनेकी थिइन् । उनले दुई सय पूर्णाङ्कमा १७१.५ अङ्कसहित सर्वोत्कृष्ट नतिजा निकालेकी थिइन् ।
































