धरान । सुनसरीको धरानस्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा करिब ५१ लाख रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ ।
देशव्यापी आर्थिक सङ्कट छाइरहेका बेला उद्यमशीलले एक आर्थिक वर्षमा ५० लाख ७१ हजार नौ रुपैयाँ खुद मुनाफा गर्न सफल भएको अध्यक्ष अनिता श्रेष्ठले बताइन् । २०६८ साल मङ्सिर ४ गते स्थापित संस्थाले शनिबार धरानमा १३ औँ वार्षिक साधारणसभा मनाइरहँदा सुनसरीको इटहरी र वराहक्षेत्रमा पनि सेवाकेन्द्र खोली कारोबार गर्दै आएको छ । स्थापनाकालमा ५३ जना शेयर सदस्य रहेका थिए । हाल संस्थामा ६ हजार ७ सय १८ जना शेयर सदस्य छन् ।
अध्यक्ष श्रेष्ठले पेश गरेको वार्षिक बजेटसहितको प्रतिवेदनअनुसार शेयर पुँजी पाँच करोड ८७ लाख ८५ हजार नौ सय रुपैयाँ रहेको छ । यो गत वर्षभन्दा १२ दशमलव ६५ प्रतिशतले वृद्धि भएको उनले प्रतिवेदन पेश गरिन् । संस्थाको कुल निक्षेप ४१ करोड ६८ लाख तीन हजार नौ सय ८८ रुपैयाँ रहेको छ । संस्थाले आ.व. २०८१/०८२ मा तीन खर्ब ३९ करोड ८० लाख १३ हजार चार सय ६८ रुपैयाँ कुल कारोबार गर्न सफल भएको छ । गतवर्ष दुई खर्ब ७२ करोड ३४ लाख ३३ हजार पाँच सय ५७ रुपैयाँ बराबर कारोबार गर्न सफल भएको थियो ।
सहकारीले एक आ.व.मा नेपाल सरकारलाई विभिन्न करमा २५ लाख ३५ हजार सात सय ४८ रुपैयाँ ९१ पैसाको योगदान दिन सफल भएको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । संस्थामा प्रत्येक वर्ष सदस्यता वृद्धि १ सय २० प्रतिशतले भइरहेको जनाइएको छ । आ.व. २०८१÷०८२ मा एक हजार दुई सय १७ जना सदस्यता वृद्धि गर्न सफल भएको छ । लेखा संयोजक देवचन्द्र सिवाकोटीले आ.व. २०८१÷०८२ को लेखा तथा सुपरीवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
यस्तै प्रमुख कार्यकारी अधिकृत जितबहादुर राउतले एक वर्षको व्यवस्थापकीय प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले एक आर्थिक वर्षमा गरिएका कार्यहरूबारे विवरण सुनाए । उद्यमशीलले वेबसाइट सञ्चालन, स्मार्ट बैङ्किङ एप्स, चौबिसै घण्टा अनलाइन सेवा, डिजिटल भुक्तानीका लागि विभिन्न संस्थासँग सहकार्य, मोबाइल एसएमएस सेवालगायत विस्तार गरिएको जनाइएको छ ।
पत्रकारसहित कर्मचारी सम्मानित
संस्थाले हरेक वर्ष झैं यस वर्ष पनि सहकारी क्षेत्रमा कलम चलाएको एक जना पत्रकारलाई सम्मानित गरेको छ । यस पटक अग्रज पत्रकार हर्ष सुब्बालाई नगदसहित सम्मान–पत्रले सम्मानित गरिएको छ । यस्तै केन्द्रीय कार्यालय, देउराली सेवा केन्द्र, इटहरी सेवा केन्द्रका गरी कुल १९ जनालाई सम्मान–पत्रसहितले सम्मानित गरिएको छ । जसमा असल तथा नियमित बचतकर्ता र असल नियमित बचत तथा ऋणी सदस्यलाई सम्मानित गरिएको हो ।
यस्तै उत्कृष्ट कर्मचारीतर्फ केन्द्रीय कार्यालयका दिलु गुरुङ, देउराली सेवा केन्द्रकी भावना राई र इटहरी सेवाकेन्द्रकी अमृता चौधरीलाई सम्मान–पत्रसहित नगदले सम्मानित गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी सङ्घ लिमिटेड सुनसरीका अध्यक्ष गङ्गाप्रसाद दाहाल, अध्यक्ष अनिता श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत जितबहादुर राउतलगायतले सम्मानित व्यक्तित्वहरूलाई सम्मान–पत्र र दोसल्ला ओढाएका थिए ।
































